Thursday, September 8, 2016

चितवनको विकासका लागि पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

चितवन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी एवम् नागरिक समाजका प्रतिनिधिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासको प्रमुख आधार तयार पार्ने जिल्लाको रुपमा चितवन रहेकाले त्यसलाई समृद्ध पार्नु आफ्नो कर्तव्य र दायित्व रहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले यस पटक चितवनको विकास निर्माण र जनताका काममा बढी ध्यान दिने सोचेको भन्दै चितवनका लागि पार्टी र सरकारबाट गर्न सकिने काम गरिने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

चितवन स्थायी घर भएका तथा चितवनमै हुर्के बढेका व्यक्ति देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्री भएकोमा गर्व लागेको भन्दै चितवनका राजनीतिक दल तथा नागरिक समाजले प्रधानमन्त्रीको कार्यकालको शुभकामना समेत दिएको नेकपा(माओवादी केन्द्र)का नेता अमिक शेरचनले जानकारी दिनुभयो ।

उहाँले चितवनको आर्थिक विकासका लागि सरकारबाट पूर्ण सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आर्थिक गतिविधिको केन्द्रको रुपमा स्थापित हुँदै गएको चितवन जिल्लामा पर्यटकीय गतिविधि समेत फस्टाउँदै गएको छ ।

प्रधानमन्त्री र सभामुखबीच भेट

यसैबीच प्रधानमन्त्री दाहाल र सभामुख ओनसरी घर्तीबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा व्यवस्थापिका–संसद्को काम कारबाही एवम् सरकारले संसद्लाई दिनुपर्ने काम कारबाहीका बारेमा छलफल भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts