Monday, October 24, 2016

एक वर्षभित्रमा मेलम्चीको पानी ल्याउन निर्देशन

काठमाडौँ, ८ कात्तिक । व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमासमेत काम गर्ने व्यवस्था मिलाएर विसं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा सभापति रवीन्द्र अधिकारीले तालिका बनाएर सुरुङ निर्माणको कामलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिनुभयो ।

“सन् २००७ मा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी सन् २००० मा काम सुरु भएको थियो, दोस्रोपटक सन् २०१३ सम्म सारियो, तेस्रोपटक सारिएको सन् २०१६ मा पनि पानी नआउने निश्चित भएको छ, अब तोकिएको समयमा पानी आउने गरी काम अघि बढोस्”–उहाँले भन्नुभयो ।

मेलम्ची खोलाको पानी ल्याउने संरचना निर्माण अन्तिम चरणमा पुगेकाले याङ्ग्री र लार्केको पानी ल्याउन आवश्यक पूर्वाधारको काम छिटो सुरु गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सुरुङसम्म पुग्ने पहुँच मार्गको स्तरोन्नति गर्न पनि सभापति अधिकारीले सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद गणेश पहाडीले आयोजनाले उपत्यकाका सडकमा पाइपलाइन खनेर अस्तव्यस्त पारेको बताउनुभयो । सांसद रामकुमार भट्टराईले मेलम्चीको पानीसँगै वर्षामा आउने बालुवा र माटोको व्यवस्थापन गर्ने योजना बनाउन माग गर्नुभयो ।

सांसद आङटावा शेर्पाले निर्माण कम्पनीको म्याद थपिएपछि भेरिएसन र मूल्याङ्कन वृद्धि गर्न माग गर्ने भएकाले ठोस आधारबिना म्याद थप्न नहुनेमा जोड दिनुभयो । सांसद टोपबहादुर रायमाझीले पानी आउने बित्तिकै वितरण हुने गरी सञ्जाल निर्माण सक्न सुझाव दिनुभयो ।

बैठकमा सांसदहरु रामकृष्ण घिमिरे, रञ्जना सरदार, प्रकाश शर्मा, जनार्दन ढकाल, यज्ञबहादुर थापा, गणेश ठगुन्ना, सीता गिरी र ललितजङ्ग शाहीले निर्माण कम्पनीलाई छिटो काम सक्ने गरी परिचालन गर्न माग गर्नुभयो ।

मन्त्रालयका सचिव सञ्जय शर्माले आयोजनाको काम छिटो सम्पन्न गर्न मन्त्रालयका तर्फबाट महिनामा एकपटक मुहानस्थलमै गएर अनुगमन गर्ने गरेको जानकारी दिनुभयो ।

आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भूकम्प र नाकाबन्दीका कारण सुरुङ निर्माणको काममा असर परेकाले असोज १६ देखि छ महिना निर्माण कम्पनीको म्याद थपिएको जानकारी दिनुभयो ।

आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले पानी वितरणका लागि उपत्यकामा पाइपलाइन बिच्छ्याउने काम सन्तोषजनक रुपमा अघि बढिरहेको जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts