बुटवल, ७ कात्तिक । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको बताउनुभएको छ ।
प्रेस चौतारी रुपन्देहीले आज मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको छ भन्दै उहाँले त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “हिमाल, पहाड र तराई मिलाउने गरी संविधान संशोधनको प्रस्ताव आए त्यसलाई सघाउन एमाले तयार छ ।”
नेता गौतमले वर्तमान सरकार निर्वाचन गराउने दिशामा अघि नबढेको आरोप लगाउँदै संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुनैपर्नेमा जोड दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरेकाले महाभियोग प्रस्तावको बाटो लिनुपरेको बताउँदै नेता गौतमले भन्नुभयो – “राजनीतिक पार्टीप्रति पूर्वाग्रही ढङ्गबाट संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले कार्कीप्रति दलहरुको विश्वास डगमगाएको हो ।” रासस
No comments:
Post a Comment