Wednesday, November 30, 2016

संविधान संशोधन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, १५ मङ्सिर । सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र सो विधेयक नेपालको संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता टीकाध्वज खड्काले प्रधानमन्त्री, नेपाल सरकार, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा संविधानमा प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नसक्ने र आयोगको सुझावअनुसार विवादको समाधान गर्नुपर्ने उल्लेख छ ।

“सरकारले संविधानको प्रतिकूल हुने, सङ्घीयताको मेरुदण्डका रुपमा रहेको प्रदेशका जनता र व्यवस्थापिकालाई संविधानले दिएको अधिकार खोसेर सीमा हेरफेर गर्नेगरी संविधान संशोधन गर्न लागेकाले त्यसलाई तत्काल रोक्न माग गर्दछु”– रिट निवेदनमा उल्लेख छ ।

असंवैधानिक तरिकाले संविधान संशोधन हुनसक्ने भएकाले रिटमा मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म संशोधनको प्रक्रिया तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको छ । रासस

संविधान संशोधन प्रस्तावसँगै तातेको राजनीति

काठमाडौँ, १५ मङ्सिर । व्यवस्थापिका–संसद्मा संविधान संशोधनको विधेयक दर्तासँगै राजनीतिक क्षेत्र एकाएक तातेको छ ।

संविधान जारी भएको डेढ वर्षमा तराई–मधेस केन्द्रित दलको आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकारले अघि सारेको सो प्रस्तावले आन्दोलनरत पक्ष सन्तुष्ट होलान् या नहोलान् ? प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संशोधनलाई गर्ने विरोधले कुनरुप लेला ? यस्ता जिज्ञासा अहिले सर्वसाधारणमा पनि छाउन थालेको छ ।

प्रमुख दल मिलेर विसं २०७२ असोज ३ मा जारी भएको नेपालको संविधान पूर्ण कार्यान्वयनमा नजाँदै दोस्रो संशोधनको चरणले समृद्ध नेपालको सपनामा धक्का लाग्ने त होइन भन्ने संशय पनि एकैसाथ उत्पन्न भएको छ । संसद्को प्रमुख दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) सम्मिलित गठनबन्धन सरकारले मङ्गलबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट विद्यमान ५ नम्बर प्रदेशको सिमाना हेरफेर, राष्ट्रियसभामा जनसङ्ख्यामा आधारित प्रतिनिधित्व, वैवाहिक अङ्गीकृत नागरिकता र सरकारी कामकाजको भाषासम्बन्धी सवालमा संसद् सचिवालयमा संविधान संशोधनको विधेयक दर्ता गरेको थियो ।

सरकारको यो कदमसँगै संसद्को दोस्रो ठूलो दल एमाले चिढिएको छ भने आन्दोलनरत मधेसी दलले आंशिक समर्थन तथा पर्ख र हेरको नीति लिएका छन् । सरकारले भने विगतमा ठूला दलभित्रै सहमतिको विषय बनेका बुँदामध्येबाट विद्यमान ५ नम्बर प्रदेशको सिमाना हेरफेर प्रस्ताव गरिएको तर्क अघि सारेको छ । सत्तारुढ दलका नेताले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वका अघिल्लो सरकारले पनि तराई–मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधनलगायतका विषयमा वार्ता चलाएको स्मरण पनि गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनको विरोध गर्नेलाई राष्ट्रिय एकताका विरोधीको सङ्ज्ञा दिनुभएको छ । त्यसो त, सत्तारुढ दलभित्र पनि संशोधनबारे विभिन्न मत नदेखिएका होइनन् । विधेयकको स्पष्ट विरोधमा एमालेसँगै नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा देखिएको छ, केही दलले धारणा बनाइसकेका छैनन् । बिहीबारदेखि चल्ने संसद्को बैठक अवरुद्ध गर्ने एमाले संसदीय दलबाट निर्णय भइसकेको छ, उसका युवा र विद्यार्थी सङ्गठनले काठमाडौँमा विरोध प्रदर्शन सुरु गरेका छन् । पाँच नम्बर प्रदेशबाट अलग बनाउने प्रस्ताव गरिएका जिल्लामा सबैजसो दलका स्थानीय कार्यकर्ता संशोधनको विरोधमा उत्रने देखिएकाले राजनीतिक विवाद बढ्ने देखिएको छ । संविधान कार्यान्वयन र निर्वाचनको मिति घोषणाको माग गरिरहेको एमालेले आफूहरुसँग कुनै परामर्श नगरिएको मात्र होइन रुपान्तरित संसद्ले प्रदेशको सिमाना हेरफेरको अधिकार लिन नसक्ने र तराई र पहाडका जिल्लालाई अलग गराएर दुईखाले राष्ट्रियता वकालत गर्न खोजेकामा आपत्ति जनाएको छ । यस्तो प्रयासले नेपाललाई खण्डित बनाउने लक्ष्यमा लागेकालाई मात्र फाइदा पुग्ने उसको ठम्याइ छ । राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र सामाजिक सद्भाव विरोधी नहुने संशोधनको प्रस्तावका लागि आफ्नो दल तयार रहेको उसको कथन छ ।

तत्कालीन संविधानसभाका अध्यक्ष तथा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्नुहुन्छ, “संविधानसभाका ९० प्रतिशत जनताले पारित गरेको संविधानलाई सर्वस्वीकार्यता गराउने नाममा एमालेलाई बाहिर राखेर स्वीकार्यता बढ्छ कि घट्छ ?” हालको संसद्ले प्रदेशसभा बनेर प्रदेशको सहमतिबिना त्यसमा भूगोल चलाउन नसक्ने विषयमा सर्वाेच्च अदालतमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश भइसकेका अवस्थामा सरकारले संशोधनको विधेयक ल्याउनुले अदालतको पनि अवहेलना भएको उहाँको तर्क छ । प्रकाश सिलवाल/रासस

संशोधन विधेयकले आन्दोलरत पक्षको माग सम्बोधन गरेनः अध्यक्ष यादव

काठमाडाँै, १५ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालले सरकारले संसद्मा दर्ता भएकोे संविधान संशोधन विधेयकले आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको बताउनुभएको छ ।

आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गल्ती गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘‘संशोधन विधेयकले मधेसी मोर्चा र सङ्घीय गठबन्धनले उठाइएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन गरेको छैन’’ विज्ञप्तिमा भनिएको छ–‘‘मधेसी मोर्चा र सङ्घीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधन प्रस्तावले सम्बोधन गरिएको छैन ।

जातीय र सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशिकरण र राष्ट्रिय पहिचानको मान्यताका कहींँ चर्चासम्म पनि छैन अध्यक्ष यादबले भन्नुभयो ।’’

संशोधन प्रस्तावले वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय आदि भेद्भावलाई अन्त्य गर्न नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ– ‘‘यसले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रियता, राष्ट्रिय एकता र विकासको सट्टा थप द्वन्द्व, अन्यौल र अस्थिरतातर्फ लैजाने खोजेको छ ।” रासस

संशोधनप्रति क्रान्तिकारी माओवादीको आपत्ति

काठमाडौँ, १५ मङ्सिर । सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले आपत्ति प्रकट गरेको छ ।

पार्टी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गर्दै सीमाङ्कनलगायत विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्ति र सम्बन्धित जिल्ला तथा प्रदेशका नागरिकको राय सुझाव र सहमति अनुसार गर्नुपर्ने बताउनुभएको छ ।

सीमाङ्कनलगायत विषयको विरोधमा नागरिकले राखेका उचित माग तथा उनीहरुद्वारा आयोजित प्रदर्शन र हडतालका कार्यक्रमप्रति आफ्नो पार्टीको समर्थन रहेको अध्यक्ष वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । संविधान नागरिकको इच्छा र भावना विपरीत भएकाले त्यसको विकल्पमा सङ्घीय जनगणतान्त्रिक संविधान बनाउनुपर्ने सो पार्टीले माग गरेको छ । रासस

साउदी अरबमा रहेका नेपालीको समस्या समाधान गर्न आग्रह

काठमाडौँ । साउदी अरबमा समस्यामा रहेका नेपाली कामदारको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।

नेपाली साझा मञ्चले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा देखिएको समस्या समाधान विषयक अन्तक्र्रिया तथा पत्रकार सम्मेलन’का सहभागीले साउदीको समस्या समाधान गर्न सरकारले तत्काल उचित कदम चाल्नुपर्नेमा जोड दिए ।

अहिले सयौँको सङ्ख्यामा नेपाली साउदी अरबमा समस्यामा परेको र खान बस्नसमेत समस्या भोग्नुपरेकोले तत्काल उद्धार गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

पूर्वश्रम तथा रोजगारमन्त्री कमल चौलागाईंले साउदी अरबबाट पाठ सिक्दै देशभित्रै रोजगारीको सिर्जना गर्न सरकारले पर्याप्त ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले युवाले विदेशबाट पठाएको विप्रेषणले देश धानेको छ भन्दै हिँड्ने तर ती युवाहरु समस्यामा पर्दा सरकार मुकदर्शक भएर बस्न नहुने टिप्पणी गर्नुभयो ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले साउदी अरबमा समस्यामा रहेका नेपाली कामदारको समस्या समाधान गर्न सरकारले पर्याप्त पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत समस्यामा रहेका कामदारको उद्धार कार्यलाई तिव्रता दिइएको बताउनुभयो ।

आयोजक मञ्चका अध्यक्ष रामकृष्ण घिमिरेले नेपाल सरकारले साउदी सरकारसँग समन्वय गरेर त्यहाँ रहेको सम्पूर्ण नेपालीको अवस्थाबारे जानकारी लिनुपर्ने भनाइ राख्नुभयो । रासस

Tuesday, November 29, 2016

ट्याक्टर पल्टिँदा थिचिएर चालकको मृत्यु

लहान, १५ मङ्सिर । सिरहाको मिर्चैया नगरपालिका–९ रामपुरमा गएराति ट्र्याक्टरले किच्दा चालककोे मृत्यु भएको छ ।

खेत जोत्ने क्रममा ज १ त २४०६ नम्बरको ट्याक्टर अचानक पल्टिँदा सोही ट्र्याक्टरले किचेर यसका चालक मिर्चैया नगरपालिका–९ निवासी ३२ वर्षीय सेमा यादवको मृत्यु भएको हो ।

ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका चालक यादवलाई उपचारार्थ लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस

निर्वाचन नभएमा देश सङ्कटमा : नेता लोहनी

पाल्पा, १५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा अर्थविद् डा प्रकाशचन्द्र लोहनीले तीन तहको निर्वाचन हुन नसकेमा देश सङ्कटमा फस्ने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, पाल्पाद्वारा आज तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता लोहनीले जनताप्रति स्थानीय निकाय उत्तरदायी बन्नका लागि स्थानीय निकायको निर्वाचनको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले प्रदेश र संसद निर्वाचन नभएमा देशमा ठूलो सङ्कट उत्पन्न हुनेसमेत औँल्याउनुभयो ।

प्रदेश नम्बर ५ लाई राजनीतिक, आर्थिक र भौगोलिक आधारमा समेत पहाडी जिल्लालाई मधेसबाट अलग गर्न नहुने बताउनुभयो । मधेस र पहाडका जनताले अलग हुने माग नगरेको यो प्रदेश छुटृाउने माग कसको हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले पहाडी जिल्लालाई अलग गर्नु राष्ट्र, राष्ट्रिय र जनताको भावना र हितविपरितको काम भएको टिप्पणी गर्नुभयो । रासस

प्रथम कोच राष्ट्रिय गायनमा दिलकुमार प्रथम

सुरुङ्गा (झापा), १५ मङ्सिर । प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिताको उपाधि झापा जलथलका दिलकुमार राजवंशीले जित्नुभएको छ ।

मङ्गलबार भएको प्रतियोगिताबाट उपाधि जित्नुहुने उहाँले रु ५१ हजारसहित प्रमाणपत्र हात पार्नुभयो । उहाँ दृष्टिबिहीन हुनुहुन्छ ।

प्रतियोगितामा कुमरखोद निवासी राम राजवंशी द्वितीय हुनुभएको छ । उहाँले रु २५ हजार र प्रमाणपत्र हात पार्नुभयो । त्यस्तै, राजगढकी रिता राजवंशी तेस्रो हुनुभयो । उहाँले रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिकाकी निकिता राजवंशी र मोरङ झुर्कियाका योगेन्द्र ताजपुरियाले सान्त्वना पुरस्कार प्राप्त गर्नुुभएको छ । उहाँहरुले रु ५÷५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

कोचिला राष्ट्रिय मुक्ति मोर्चाको आयोजना तथा राजवंशी समाज विकास समिति र कोचिला ग्राभुर फ्रन्टको सह–आयोजनामा भएको कार्यक्रम रेडियो नेपालको सहकार्यमा भएको थियो ।

यही मङ्सिर ४ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ जनाले सहभागिता जनाएका थिए । मङ्सिर ६ गते पहिलो अडिसन, ११ गते दोस्रो अडिसन र १४ गते भएको फाइनल अडिसनबाट १४ जना छनौट भएका थिए ।

प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि सांसद मोहन टुडूले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस

कोलम्बियामा विमान दुर्घटनाबाट छको जिवीत उद्धार

कोलम्बिया । मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको एक विमानबाट उद्धारकर्ताहरुले छ व्यक्तिहरुलाई जिवीतै उद्धार गरेका कोलम्बियाली अधिकारीकर्ताहरुले जानकारी दिएका छन् ।

ब्राजिलीयाली फुटबल खेलाडीहरुको टोली लिएर चार्टर गरी गईरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

यस अघि प्राप्त समाचार अनुसार कुल ८१ जना यात्रु रहेका लामिया विमान सेवाको सो विमान दुर्घटनामा २५ जनाको शव भेटिएको थियो । यस दुर्घटनाको विस्तृत विवरण भने अझै प्राप्त नभएको समाचारमा जनाइएको छ । रासस÷एएफपी

पूर्वी अलेप्पोबाट सोह्र हजार सर्वासाधारण भागे

जेनेभा । प्ूर्वी अलेप्पोको युद्धग्रस्त क्षेत्रबाट १६ हजारभन्दा बढी सर्वसाधारण भागेका छन् । उत्तरी अलेप्पो र छिमेकमा परेका इलाकामा विद्रोहीहरूले आफ्नो नियन्त्रण गुमाएको मङ्गलबार संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

विद्रोहीको कब्जामा रहेको पूर्वी अलेप्पो र छिमेकमा पर्ने इलाकामा केही दिन यता सरकारी बलद्वारा जारी आक्रमणहरूमा तिब्रता सुरु भएपछि हजारौँ सर्वसाधारण सहरको अन्य भागमा बलपूर्वक विस्थापित भएका संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख स्टेफेन ओ ब्रिएनद्वारा जारी विज्ञप्तिमा बताउनुभएको छ ।

आउँदा दिनमा पनि जारी रहने यस अवस्थामा सर्वसाधारण नागरिकले त्यहाँबाट भाग्नु बाहेक अरू कुनै उपाय नभएको स्टेफेनले चेतावनीसमेत दिनुभएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूहहरू पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म ३ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी देशभित्र र छिमेकी देशहरूमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी

खेलको इतिहासमा नै एक भीषण विमान दुर्घटना

मोन्टेभिडियो । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।

यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन ।

फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् । रासस÷एएफपी

एकलाखभन्दा बढी स्मार्ट सवारीचालक अनुमतिपत्र बितरण

ललितपुर, १५ मङ्सिर । यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ ।

नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो ।

स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्मार्ट अनुमतिपत्र देशमा मात्रै नभएर विदेश जानेका लागिसमेत उपयोगी हुन्छ ।’ नयाँ अनुमतिपत्र सुरु भएपछि मिसनमा जाने सेना, प्रहरीको समेत भीड लागेको छ ।

पानीमा नभिज्ने, देख्दा राम्रो र नक्कलको सम्भावना कम भएकाले पनि स्मार्ट चालक अनुमतिपत्र धेरैको रोजाईमा परेको यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मेसिन रिडेबल हुँदा यसले अन्तर्राष्ट्रियस्तरमा समेत मान्यता पाउँछ ।’

स्मार्ट कार्ड सुरु भएपछि कार्यालयले अरू देशको स्मार्ट कार्डलाई पनि नेपालीकरण गरिरहेको छ । अरू ठाउँका यातायात अञ्चल कार्यालयमा अहिले विभिन्न कारणले सेवा बन्द छ । सेवा सञ्चालनमा हुँदासमेत कतिपय धाएरै स्मार्ट कार्ड लिन काठमाडौँ आउने गरेका थिए ।

पहिले बनाइसकेको कार्ड नवीकरण हुँदा पनि कार्यालयले स्मार्ट कार्ड नै दिइरहेको बताएको छ । रासस

चेपाङ बालबालिका पढाउन ‘साथीका लागि साथी’

रत्ननगर (चितवन), १५ मङ्सिर । चितवनको विकट गाविस लोथरमा चेपाङ बालबालिका पढाउन ‘साथीका लागि साथी’ कार्यक्रम चलाइएको छ ।

लोथर गाविसको पनि विकट गाउँ कान्दास्थित कुमार बलराम स्मृति छात्रबासमा बसेर पढ्न थालेका चेपाङ तथा विपन्न वालबालिकाको शिक्षाका लागि उक्त कार्यक्रम सुरु गरिएको हो ।

लक्ष्मी प्रतिष्ठानले स्थापना गरेको छात्राबासमा बसेका बालबालिकाको उच्च शिक्षासम्म अध्ययनका लागि एकजना हुनेले नहुने मान्छेका लागि सहयोग गर्ने अभियान ‘साथीका लागि साथी’ कार्यक्रम सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४२ जना चेपाङ तथा विपन्न बालबालिका उक्त कार्यक्रममा सरिक बनाइएको छ जसमा तीन बालबालिकालाई उच्च शिक्षासम्म पढाउने जिम्मा नेदरल्यान्डकी बिन्डीले सहयोग गर्न थालेको गौतमले बताउनुभयो ।

अन्य ३९ जना बालबालिकाको हकमा भने देश विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेर पढाइदिन सुरु भएको गौतमले जानकारी दिनुभयो ।

उनीहरुको शिक्षा दीक्षासहित खान बस्न र पालनपोषणमा लाग्ने सबै खर्च वार्षिक करिब रु ५१ हजार खर्च लाग्ने भएकाले सोही रकम सहयोग गरी ‘साथीका लागि साथी’ कार्यक्रममा सरिक भएको प्रतिष्ठानले जनाएको छ ।

यहाँ अधिकांश चेपाङ तथा केही तामाङ, गुरुङका १२५ बालबालिका आवासीयरुपमा बसेर कान्देश्वरी स्कुलमा पढ्दै आएका छन् ।

विसं. २०६७ मा अन्नको अभाव हुँदा जङ्गलबाट टिपेर ल्याएको च्याउ खानेक्रममा विषालु च्याउ परेपछि स्थानीय बाबुराम चेपाङ परिवारका आठजनाको मृत्यु भएपछि प्रतिष्ठानले २०६९ सालदेखि चेपाङ बालबालिकाको शिक्षामा काम गर्दै आएको छ ।

प्रतिष्ठानकै कारण गाउँनै परिवर्तन भएको स्थानीय स्कुलका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिनुभयो । नारायण ढुंगाना/रासस

मन्दिरमा रु आठलाख भेटी सङ्कलन

पाल्पा, १५ मङ्सिर । पाल्पाको कोलडाँडामा रहेको सत्यवती मन्दिरमा रु आठलाख भेटी सङ्कलन भएको छ ।

गत कात्तिक २८, २९ र ३० गते कात्तिक पूर्णिमाका अवसरमा लागेको सत्यवती मेलाका अवसरमा यसवर्ष रु आठलाख चारहजार भेटी सङ्कलन भएको हो ।

यसवर्ष यहाँ एक हजार जति बोका, बाख्रा, पाठापाठी, परेवा र हाँसको बलि दिइएको छ भने झन्डै ७० हजार जति दर्शनार्थीले मेला अवलोकन गरेको सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनबीर गाहाले बताउनुभयो ।

गतवर्ष यस मन्दिरमा पाँचलाख बराबरको भेटी सङ्कलन र ३० हजार जति दर्शनार्थीले मेला अवलोकन गरेका थिए । यसवर्ष तिथिका हिसाबले पूर्णिमा तिथि कात्तिक महिनामै परेकाले शुभ हुने विश्वासका कारण गतवर्षको तुलनामा धेरै दर्शनार्थीले मेला अवलोकन गरेको स्थानीय धु्रवप्रसाद पङ्गेनीले बताउनुभयो ।

मन्दिरमा सङ्कलित भेटी मन्दिर मर्मत, खानेपानी, मन्दिर सरसफाई, पुजाआजा व्यवस्थापन, मन्दिरसम्म पुग्ने बाटो मर्मतमा खर्च गरिने समितिले जनाएको छ । रासस

गीतकार चाम्लिङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने

खोटाङ, १५ मङ्सिर । बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा पुरस्कार’ खोटाङका गीतकार टीका चाम्लिङलाई दिने घोषणा गरेको छ ।

प्रतिभा छनौट समितिले हालै गरेको निर्णयअनुसार यस वर्षको रु एक लाख राशिको प्रतिभा पुरस्कार चाम्लिङलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले जानकारी दिनुभयो ।

नेपाली कला–साहित्य, सङ्गीतलगायत विविध क्षेत्रमा योगदान दिने हस्तीहरुको सम्मान तथा प्रोत्साहनस्वरुप पुरस्कृत गर्दै आएको प्रतिष्ठानले आगामी पुस दोस्रो हप्ता काठमाडौँमा विशेष कार्यक्रम गरेर पुरस्कृत गर्ने जनाएको छ ।

गीतकार चाम्लिङले यसअघि पनि अधिराज्यब्यापी प्रतियोगितामा उत्कृष्ट गीतकारलगायत दर्जनौँ पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

यस्तै, प्रतिष्ठानले प्रतिभा पुरस्कारसँगै प्रदान गर्दै आएको रु २० हजार राशिसहितको सम्मान यो वर्ष गुल्मीकी वरिष्ठ कथाकार भगिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

अघिल्लो वर्ष सङ्गीतकार बीबी अनुरागीलाई प्रतिभा पुरस्कार र लेखक प्रद्युम्न श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

बेलायतमा रहेका नेपाली आबद्घ प्रतिष्ठानले करिब १० वर्ष अघिदेखि यस्ता गतिविधि गर्दै आएको छ । प्रतिष्ठानले पुरस्कार र सम्मानका साथै विकास निर्माणमा समेत सहयोग पु¥याउँदै आएको छ । रासस

जाजरकोटको अनौठो संस्कार : महादेव र वर्मको भैलो

जाजरकोट, मङ्सिर, १५ । यहाँको सक्ला–१, लैखममा मात्र हुने अनौठो संस्कार महादेवको भैलो हिजोआज मनाइँदैछ ।

गाउँभरीका मानिस जम्मा भएर गाउँमा भैलो खेलेर यो महादेवको भैलो मनाईन्छ । खत्रीहरु मात्र बसोबास गर्ने लैखम गाउँमा कात्तिक १६ गतेदेखि सुरु भएको भैलो मङ्सिर २५ गते सम्पन्न हुने भैलो आयोजक समितिका संयोजक तथा स्वारे (नाइके तथा भैलोका पुजारी) शेरबहादुर खत्रीले बताउनुभयो ।

यो भैलीमा वृद्धदेखि बालकसम्मले महादेवको भैलो खेल्न पाउँछन् । भैलोमा तिहारमा उच्चारण गरेको जस्तो गीत प्रयोग गर्न पाइँदैन, महादेव, वर्म देवताको विशेष पुजा गरेर उहाँकै गुणगान गाएर भैलो खेलिन्छ ।

प्रत्येक ३ वर्षमा भैलो उठाउँने र मार्ने अर्थात सुरुवात गर्ने र अन्तिम गर्ने गरिन्छ । महादेव, वर्मले प्रत्येक ३ वर्षमा भैलो नखेलेमा अनिष्ट हुने मान्यताका कारण यो भैलो खेल्ने गरिएको महादेवका स्वारे शेरबहादुर खत्रीले जानकारी दिनुभयो ।

यो गाउँमा तिहारमा देउसी, भैलो खेल्न महादेव र वर्मले नदिने भएका कारण लैखम गाउँमा महादेव, वर्मको भैलो खेल्ने कार्य मात्र हुने स्थानीय प्रेमबहादुर केसीले बताउनुभयो ।

यस गाउँमा दलित जातिका मानिस बस्न नपाउँने र यदि अटेर गरेर बसेमा अनिष्ट हुने जनविश्वास भएकोले बसेको पाइँदैन ।

भैलो मनाउन प्रत्येक घरवाट १ पाथी चामल र रु ५ सय रकम उठाउने गरिन्छ । उठाएको रकम बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कार गर्ने कार्यमा खर्च गरिन्छ ।

एकजना बेहुला र एकजना बेहुली वनाएर भैलोमा प्रयोग गरिएको आगोको राँगो (ज्वाला)लाई हिर्काएर भैलोको औपचारिक बिदाई गरिन्छ । हेमन्त केसी/रासस

पार्टी एकढिक्का बनाउनु आवश्यक : कोषाध्यक्ष यादव

पाँचथर, १५ मङ्सिर । नेपाली काँग्रेसकी कोषाध्यक्ष तथा शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पार्टी गुट उपगुटमा फसेको भन्दै पार्टीलाई शीर्षस्थ नेतृत्वले एक ढिक्का बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा मङ्गलबार बिहान पार्टी कार्यकर्तासँग भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “तेह्राँै अधिवेशन एकताको महाधिवेशन भनिए पनि त्यो हुननसकेको भन्दै उहाँले पार्टीलाई एक बनाएर लैजान शीर्षस्थ नेतृत्व जिम्मेवार बन्नुपर्ने हुन्छ।”

महाधिवेशन भएको लामो समय बितिसक्दा पनि पदाधिकारी चयन गर्न ढिलाई गर्नु दुःखद भएको उहाँले बताउनुभयो । यस्तै, रकम अभावले द्वन्द्व पीडितलाई राहत दिन नसकेको बताउँदै आफूले प्रधानमन्त्री तथा अर्थ मन्त्रालयमा यथेष्ट बजेट विनियोजन गर्न माग गरेको जानकारी गराउनुभयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य हकहित सम्बद्ध संसदीय सभापति भीष्मराज आङदेम्बेले सानातिना कुरामा नअल्झिकन पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणमा लाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस

सवारी दुर्घटनामा दुईको मृत्यु / कुशाहामा आगलागी

राजविराज, १५ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा मङ्गलबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी अन्दाजी ७० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सप्तरीको बनरझुलामा बालुवा लोड गरेको स १ त ३८३६ नम्बरको ट्याक्टरमा मंगलबार मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ५६१९ नम्बरको मोटरसाइकलले आफैँ अनियन्त्रित भई ट्याक्टरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी कल्याणपुर–३ बस्ने २६ वर्षीय जगदेब सहनीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा हिजै मुत्यु भएको प्रहरीले बताएको छ ।

कुशाहामा आगलागी

यसैबीच, सप्तरीको कुशाहा गाविस–६ स्थित सिसुवाबेलीमा मङ्गलबार आगलागी हुँदा रु डेढ लाखको क्षति भएको छ ।

स्थानीय भोलादेवी चौधरीको ५—कोठे पक्की घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने रामप्रसाद चौधरीले सञ्चालन गरेको खाद्य पसलबाट विद्युत चुहावट भई अचानक आगलागी भएको थियो ।

सो पसलभित्र रहेका स २ प ३१६५ नम्बरको मोटरसाइकल, एकथान साइकल तथा युरिया मल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोलाई प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस

कालाजार तथा गर्भवती जाँच–तालिम

इटहरी, १५ मङसिर । अघिल्लो वर्ष पनि सुनसरी जिल्लामा कालाजार सङ्क्रमित देखिएपछि त्यसबाट सर्वसाधारण नागरिकलाई सुरक्षित राख्नका लागि अहिलेदेखि नै त्यसविरुद्ध जनचेतना विस्तारका लागि ग्रामीण महिला स्वयमसेविकालाई दक्षतासम्बन्धी तालिम प्रारम्भ गरिएको छ ।

वीपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले डुम्राहा प्राथमिक स्वास्थ्य कार्यालयमा कालाजारसम्बन्धी ग्रामीण महिला स्वयमसेविकाहरुको एकदिने तालिम मङ्गलबार सम्पन्न गरेको छ ।

अघिल्लो वर्ष यस जिल्लामा १२ जना कालाजार पीडितको उपचार गरिएको र यो वर्ष त्यसबाट सर्वसाधारणलाई जोगाउनका लागि अग्रिम सतर्कता अपनाउन सन्देश दिने उद्देश्यले तालिम आयोजना गरिएको प्रेमकुमार दासले जानकारी दिनुभयो ।

गाविसमा परिचालित ३६ जना ग्रामीण स्वयमसेविकालाई कालाजारबाट जोगिने तथा छालामा लाग्ने रोगका प्रकार र त्यसबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा स्वयमसेविकालाई सचेत गराई उनीहरु मार्फत गाउँघरमा सचेतना अभियान चलाउनु तालिमको मुख्य उद्देश्य रहेको बताइएको छ । यस प्रकारको तालिम जिल्लाका सवै स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य चौकीहरुमा सञ्चालन गरिने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा भोक्राहामा एकदिने गर्भवतीको स्वास्थ्य जाँच तालिम सम्पन्न गरिएको छ । करुणा फाउन्डेसनको सहयोगमा भोक्राहा गाविसमा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसमेत उपलब्ध भएपछि भोक्राहा स्वास्थ्य चौकीमा कार्यरत अनमी सुशीला शाहले गर्भवतीको स्वास्थ्य जाँच गर्दै आउनुभएको छ ।

अपाङ्गता भएका बच्चाको जन्म नहोस् भनेर गर्भवती भएप्छि चारपटक स्वास्थ्य जाँच गर्नका लागि उपकरण सजिलो भएको र महिलाहरुलाई स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती भएपछि नियमित जाँच गराउनु पर्छ भन्ने विषयमा जानकारी दिन सो तालिम सञ्चालन गरेको अनमी शाहले थप जानकारी दिनुभयो ।

उनीहरुलाई गर्भवती भएका बेला के कस्ता खानेकुरा खानुपर्छ अनि कति पटक स्वास्थ्य जाँच गराउनु पर्छ भन्ने विषयमा थप प्रशिक्षित गराउन यस प्रकारको तालिम प्रदान गरिँदै आएको हो ।

तालिम सञ्चालनका लागि प्लान नेपालले सहयोग गर्दै आएको त्यहाँको स्वास्थ्य चौकी प्रमुख इसराईल मन्सुरीले जानकारी दिनुभयो । यस प्रकारको तालिम जिल्लाका अन्य गाविस र नगरपालिकाहरुमा पनि सञ्चालन गरिने कार्यक्रम रहेको प्लान नेपालकी सहजकर्ता खुश्वु रेग्मीले जानकारी दिनुभयो । रासस

पहिलो संविधानसभाको हत्या हुनु घातक : प्रवक्ता विक

कालीकोट, १५ मङ्सिर । नेकपा माओवादीका प्रवक्ता तथा पूर्वमन्त्री खडकबहादुर विकले पहिलो संविधानसभा नेपाली जनताको पक्षमा भएकाले यसको हत्या भएको बताउनुभएको छ ।

नेकपा माओवादी, कालीकोटले मंगलबार यहाँ आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले जनताको पक्षमा पहिलो संविधान सभामा वर्गीय तथा जातीय, क्षेत्रीय, लैङ्गिक हिसाबले पक्षपोषण गर्नेहरुको संविधानसभामा प्रतिनिधित्व रहेका कारण विदेशी डिजाईनमा विघटन नभई हत्या भएको दाबी गर्नुभएको छ ।

पछिल्लो समयमा देशमा मौलाएको भ्रष्ट्राचार, राष्ट्रघातले सीमा नाघेकाले सबैको हितमा सबै वर्गलाई समेटेर नेपाली जनताका पक्षमा एकीकृत जनक्रान्तिनै अन्तिम विकल्प भएको दाबी गर्दै नेता विश्वकर्माले व्यापक जनसहभागितामा नेपाली जनताले आफँै नउठ्दासम्म कुनै पनि प्रकारका अन्तरविरोधहरु हल नहुने बताउनुभएको छ ।

आफूहरु विगतको जनयुद्धजस्तै जङ्गल नजाने बरु जनताका उचित मागहरुलाई लिएर निरन्तर अघि बढ्ने बताउनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का नेता केन्द्रीय सदस्य भरत बमले जनताका नाममा आएको विकास लगायतको रकममा भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

जनसभामा सहिद परिवार तथा कर्णाली अञ्चलको पहिलो भूमिगत महिला काशिपुरा शाहीले जनयुद्धताका बोलेका कुरा अहिले पुरा नभएकाले धोका हुने काम नगर्न अनुरोध गर्दै शहिदका अधुरा सपना पूरा गर्नका लागि पार्टी नेताहरुलाई खुट्टा नकमाउन अनुरोध गर्नुभएको छ ।

जनसभामा हजारौँको सहभागितामा सामना परिवारका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको लोकजङग शाहीले बताउनुभएको छ । रासस

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १४ मङ्सिर । सङ्घीय गठबन्धनले उठाएका मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले संविधान संशोधनका लागि विभिन्न चार विषयमा निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भाषा, नागरिकता, प्रादेशिक सिमाङ्कन र राष्ट्रिसभामा समानुपातिक प्रतिनिधित्वको विषयमा संविधानमा संशोधनका लागि प्रस्ताव गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकले भाषासम्बन्धी विषयमा सरकारले ‘भाषा आयोगको सिफारिसमा सबै मातृभाषालाई संविधानको अनुसूचीमा समावेश गर्नेछ’ भनेर संविधानको धारा ६ मा संशोधन गरेको छ । उक्त धारामा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था रहेको छ । नेपालमा बोलिने जतिपनि राष्ट्र भाषा छन्, ती भाषालाई भाषासम्बन्धी आयोगले तिनको छनोट र पहिचान गरेर सिफारिस गर्ने र नेपाल सरकारले ती भाषालाई संविधानको अनुसूचीमा उल्लेख गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी बैठकले नागरिकतासँग सम्बन्धित संशोधनमा वैवाहिक अङ्गीकृत नागरिकताको विषयलाई मात्रै संशोधन गर्ने प्रस्ताव गरेको छ । संविधानको धारा ११ मा ‘नेपाली पुरुष नागरिकसँग बैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गर्ने व्यवस्था’ पहिलेकै संविधानमा भएको उल्लेख गर्दै संशोधनमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा ‘आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि सङ्घीय कानुनबमोजिम नेपालको वैवाहिक अङ्गीकृत नागरिकता लिन सक्नेछ’ भनिएको छ ।

मन्त्री लेखकका अनुसार यो व्यवस्था नेपालको पुरुष नागरिकसँग कुनै विदेशी महिलाले वैवाहिक सम्बन्ध कायम गरेको भए त्यस्तो महिलालाई वैवाहिक अङ्गीकृत नागरिता दिने र यसको व्यवस्था सङ्घीय कानुनमा गरिनेछ ।

नेपालको नागरिता ऐन, २०२० र नागरिकता ऐन, २०६३ मा भएको व्यवस्था र नेपालका पहिलेका संविधानले पनि अङ्गीकार गरेको व्यवस्थालाई नै समायोजन गरिएको मन्त्री लेखकले स्पष्ट गर्नुभयो ।

त्यसैगरी राष्ट्रियसभाको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा सबै प्रदेशबाट आठ–आठ जना गरेर बराबर सङ्ख्यामा राष्ट्रिय सभामा प्रतिनिधित्व हुने व्यवस्था रहेकामा अब प्रत्येक प्रदेशबाट तीन जना (एक महिला, एक दलित र एक जना अपाङ्गता भएको व्यक्ति) को प्रतिनिधित्व गर्ने र त्यसरी प्रतिनिधित्व गर्दा सातवटा प्रदेशबाट २१ जना प्रतिनिधित्व हुनेछ ।

राष्ट्रियसभाको प्रतिनिधित्व गर्ने ५६ जनामध्ये ३५ जनामा प्रत्येक प्रदेशको जनसङ्ख्याका अनुपातमा निर्वाचित गर्ने व्यवस्था रहेको छ । ३५ जनामध्येमा १४ जना महिला आउने गरेर सङ्घीय कानुनले व्यवस्था गर्ने निर्णय गरेको मन्त्री लेखकले जानकारी दिनुभयो ।

बैठकले सङ्घीय सीमाङ्कनका लागि संविधानको अनुसूची ४ मा संशोधन गर्दै प्रदेश नं ४ र प्रदेश नं ५ को सीमाङ्कनमा हेरफेर गरिएको छ । संशोधनमा प्रदेश नं ४ मा भएका जिल्लाहरु गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रोल्पा, प्यूठान र रुकुमको पूर्वी भागलाई राखिएको छ ।

त्यसैगरी नवलपरासी (बर्दघाट सुस्तादेखि पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई प्रदेश नं ५ मा राखिएको छ ।

त्यसैगरी आजको बैठकले सङ्घीय सीमाङ्कन आयोग गठन गरेको र त्यसको कार्यादेशलाई पनि टुङ्गो लगाएको मन्त्री लेखकले जानकारी दिनुभयो ।

त्यस आयोगको काम कर्तव्य र अधिकारलाई पनि अन्तिम रुप दिएको उल्लेख गर्दै उहाँले सीमाङ्कनसम्बन्धी सबै विषय अध्ययन गरेर सुझाव प्रतिवेदन पेस गर्ने, आयोगले अध्ययन गर्दा सरोकारवालासँग विगतको सम्झौतासमेतका आधारमा छलफल गर्ने र राज्य पुनसंरचनाबारे यसपूर्वका प्रतिवेदनको अध्ययन गर्ने कार्यादेश दिइएको छ ।

उहाँले सरकारले अगाडि बढाएको मस्यौदाका विषयमा कसैले पनि असहमति जनाउनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै यो संशोधनले सबैको मागलाई सम्बोधन गर्ने बताउनुभयो ।

सबै राजनीतिक दलले भूगोल र जनसङ्ख्याका आधारमा मानेर सङ्घीतामा जाने भनेको र सबैले सहमति गरेअनुसार नै संशोधन प्रस्ताव दर्ता भएको उहाँले दाबी गर्नुभयो ।

प्रदेश सीमाका बारेमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले विगतमा भएको सहमतिअनुसार नै निर्णय भएकाले त्यसमा बिमती राख्नुपर्ने कुनै कारण छैन उहाँले भन्नभयो ।

उहाँका अनुसर यो संशोधनले संविधानलाई क्रियाशील बनाउने र संविधानको कार्यान्यन गर्दै मुलुक निर्वाचनतर्फ जाने ढोका खोल्ने र संविधानको स्वीकार्यतालाई विस्तार गर्ने बताउनुभयो ।

मन्त्री लेखकले संविधान संशोधनको प्रस्ताव तय गर्दा असन्तुष्ट दलसँग पनि छलफल भएको र छलफललाई निरन्तर जारी राख्ने बताउनुभयो । रासस

Monday, November 28, 2016

ढल्केबर सवस्टेसनको काम सम्पन्न हुँदै, थप ८० मेगावाट विद्युत् आउँदै

काठमाडौँ, १३ मङ्सिर । बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।

हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ ।

भारतको मुजफ्फरपुरबाट जोडिएको चार सय केभिएको अन्तर्देशीय प्रसारण प्रणाली र त्यसैगरी ढल्केवरबाट खिम्तीसम्म जोडिने अर्को २२० केभिएको प्रसारण प्रणाली पनि सोही सवस्टेसनमा जोडिने भएकाले सो आयोजना महत्वपूर्ण मानिएको हो ।

ढल्केबर हेटौँडा प्रसारण लाइन र ढल्केबर दुहवी प्रसारण लाइनको पनि मुख्य बिन्दु पनि सोही सवस्टेसन हो । ती दुवै प्रसारण लाइन चार सय केभिए क्षमताका छन् । धनुषा, महोत्तरी, सर्लाहीसम्म विद्युत् उपलब्ध गराइरहेको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत सोही सवस्टेसनमा जोडिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सवस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । काममा दृढ इच्छाशक्ति भयो भने दुई वर्ष लाग्ने काम चार महिनामा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण नै सो परियोजना हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा मन्त्री जनार्दन शर्माको विशेष चासोका कारण सो आयोजना एक महिना ढिला गरेरै भए पनि सम्पन्न हुन लागेको हो ।

विसं २०७२ मा सम्पन्न गर्नुपर्ने सो सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापर्बाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन । गत भदौमा ऊर्जा मन्त्री शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक कम्पनी (सिसिपिजी)ले तत्कालै काम सुरु गरेको थियो ।

माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनामा काम गरिरहेका चिनियाँ र नेपाली गरी २०० भन्दा बढी मजदुरलाई नियमित रुपमा परिचालन गरेपछि आयोजनासम्पन्न हुने चरणमा पुगेको प्रवक्ता अधिकारीको भनाइ छ ।

परियोजनाको हाल सवस्टेसन रहने भवन, ठूला क्षमताको ट्रान्सफर्मर रहने ‘बेस’ तथा अन्य भौतिक संरचनासमेत पूरा भइसकेको छ । ट्रान्सफर्मर समेत निर्माणस्थलमा आइसकेको छ भने अन्य प्राविधिक उपकरणसमेत उपलब्ध भइसकेको छ ।

प्रवक्ता अधिकारीले भौतिक संरचना पूरा भइसकेको अवस्थामा उपकरण जडानको कार्य अब छिट्टै सुरु हुने र हिउँदमा मागअनुसार विद्युत् उपलब्ध गराउन सकिने बताउनुभयो । यस्तै आयोजनाको महत्वपूर्ण मानिएको अग्नि नियन्त्रण कक्ष, तथा कर्मचारी आवास भवन पनि बनिरहेको छ ।

आयोजनाका प्रमुख रहनुभएका राधेशरण महतोले हरेक दिनको कार्यप्रगति ऊर्जा मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई उपलब्ध गराउने र कुनै समस्या परे तत्कालै समाधान गर्ने गरिएको छ ।

आयोजनामा समय र लागत बढाउने प्रवृत्तिका कारण अधिकांश आयोजना समस्याको चक्रब्युहमा फसिरहेको अवस्थामा ढल्केबर सवस्टेसनको कामले भने गति लिएको छ ।

यस्तै सोही सवस्टेसनमा आउने विद्युत् काठमाडौँ ल्याउनका लागि महत्वपूर्ण मानिएको ढल्केबर–खिम्ती प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ । एकाध स्थानमा प्रसारण लाइनको तार कस्ने काम मात्रै बाँकी रहेको छ । रमेश लम्साल/रासस

न्यूनचापीय प्रभावले मौसममा खराबी : पूर्वी भेगमा वर्षात् हुने

काठमाडौँ, १३ मङ्सिर । न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ ।
सतहदेखि १.५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो ।
मौसममा बदली भएकाले आज उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ ।
मौसमविद् कँडेलका अनुसार आकासमा बादल लागेपछि न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घटेकाले केही चिसो बढेको छ । पूर्वी पहाडका केही स्थानमा साँझपख छिटफुट वर्षात् हुने सम्भावना छ ।
‘पोष्ट’ मौसम सिजनको अन्त्य र चाँडो मौसम ‘विन्टर’ सिजनको सुरुवाती चरण भएकाले पनि चिसो बढेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा सामान्यतः जाडो मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म मानिन्छ । मध्यमाञ्चलसँग जोडिएका छिमेकी जिल्लामा समेत बदली भएको छ । यो प्रणाली अझै एक÷दुई दिन जारी रहने बताइएको छ ।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ र अधिकतम तापक्रम २२.४ रहेको छ । रासस

संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा सङ्कट – एमाले सचिव विष्ट

पोखरा, १३ मङ्सिर । नेकपा (एमाले)का केन्द्रीय कमिटीका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारको संविधान संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा सङ्कट उत्पन्न गराउने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले कुनै व्यक्तिविशेष र राजनीतिक दलको चाहना र स्वार्थ पूरा गर्ने गरी ल्याइने संशोधनलाई नेपाली जनताले कदापि स्वीकार गर्न नसक्ने धारणा राख्नुभयो ।

मिलेर बसेका प्रदेश नं ५ का तराई र पहाडी जिल्लालाई संविधान संशोधनबाट छुट्याउने प्रयास गलत छ भन्दै एमाले सचिव विष्टले यस्तो प्रस्ताव त्यस क्षेत्रका जनताले स्वीकार्न नसक्ने चेतावनी दिनुभयो ।

स्वाधीनता र अखण्डतामाथि आइपर्ने सङ्कटका अगाडि सत्तापक्ष सांसदहरु पनि उभिनुपर्ने बेला आएकामा जोड दिँदै उहाँले यस्तो गलत प्रयासका लागि एमाले संसदभित्र र बाहिर कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले कार्यक्रमका बारेमा बोल्नु भएको थियो । रासस

‘विपद् जोखिम न्यूनीकरणमा लैङ्गिकमैत्री नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ, १३ मङ्सिर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले विपद् जोखिम न्यूनीकरणका लागि लैङ्गिकमैत्री नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।

नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयन्त्र (युएन ओमन)ले आज यहाँ आयोजना गरेको ‘विपद् पूर्व तयारीमा लैङ्गिक समानता र महिला सशक्तीकरणको प्रभावकारी सम्बोधन’ विषयक दक्षिण एसिया क्षेत्रीय कार्यशालाको उद्घाटन गर्दै मन्त्री निधिले संविधानतः प्राप्त महिला अधिकारको संवद्र्धनका लागि पनि सरकार प्रयत्नशील रहेको पनि बताउनुभयो ।

विपद्को अवस्थामा विश्वमै बढी आर्थिक नोक्सानी हुने मुलुकमध्ये नेपाल, भारत र चीन भएको उल्लेख गर्दै निधिले २०७२ को विनाशकारी भूकम्पबाट मुत्यु हुनेमध्ये ५५ प्रतिशत महिला र बालिका भएकाले पनि विपद्पछिको पुनःनिर्माणमा ती समुदायलाई बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

‘‘विपद् जोखिम तयारी, सुरक्षा र समग्र क्षति न्यूनीकरणका लागि महिलाको महत्वपूर्ण भूमिका हुन्छ । महिलाले भूकम्प प्रतिरोधी भवन बनाउने क्रममा पनि उत्तिकै भूमिका निर्वाह गर्न सक्ने कुरा स्वीकारिएको छ । त्यसैले सरकार एसियाली मुलुकहरुको विपद् जोखिम व्यवस्थापनसम्बन्धी सेन्डाई कार्यढाँचा, २०१५ बमोजिम स्थानीय तहमा त्यसलाई कार्यान्वयनको चरणमा छ ।’’

गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले विपद्पछिको पुनःनिर्माणका क्रममा लैङ्गिकमैत्री नीति र व्यवहारलाई क्रमशः कार्यान्वयन गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपालस्थित राष्ट्रसङ्घका आवासीय प्रतिनिधि भलेरी जुलियान्डले दिगो विकास लक्ष्यको ५ नं लक्ष्य बमोजिम समुदायस्तरमा विपद् जोखिम न्यूनीकरणमा महिला सशक्तीकरण गराउन सरकार लाग्नुपर्ने बताउनुभयो ।

तीनदिन चल्ने गोष्ठीमा नेपालसहित आठ मुलुकका प्रतिनिधिको सहभागिता छ । रासस

राजनीतिक सहमतिका आधारमा द्वन्द्वकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने : मन्त्री यादव

पाँचथर, १३ मङ्सिर । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले राजनीतिक सहमतिका आधारमा द्वन्द्वकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा सोमबार स्थानीय शान्ति समिति पाँचथरले गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले भत्किएका संरचना पुनःनिर्माणका लागि कनिका छराइको बजेटले नपुग्ने उल्लेख गर्नुभयो ।

दशवर्षे सशस्त्र द्वन्द्वकालमा भत्किएका पुनःसंरचना निर्माणका लागि ३० अर्ब रकम लाग्ने बताउनुभयो । यसका लागि राजनीतिक दलहरुबीचमै सहमति गरी बजेट विनियोजन गर्नुपर्नेमा उहाँको जोड थियो ।

अहिलेसम्म ३३ प्रतिशतमात्रै पुनःसंरचनाको काम भएको र बाँकी हुने तयारीमा भए पनि बजेट अभावका कारण अन्य पुनःसंरचनाको काम अघि बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएर आयोगमा ५७ हजार पीडितका उजुरी परे पनि काम अघि बढ्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

यस्तै उहाँले द्वन्द्वपीडितलाई रु एक÷दुई लाख राहत दिनुको कुनै अर्थ नरहने बताउँदैै सीपमूलक तालिम दिएर स्वावलम्बी बनाउन सके उनीहरु आत्मनिर्भर हुने बताउनुभयो ।

साथै जिल्लाका द्वन्द्वपीडितले पाउने राहत सुविधा उपलब्ध गराउने साथै नीतिगतरुपमा सम्बोधन नभएका द्वन्द्वपीडितको पीडा सम्बोधन गर्न पाँचबुँदे माग राख्दै जिल्लाका द्वन्द्वपीडितले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका थिए ।

यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा हकहित सम्बद्ध समितिका सभापति भीष्मराज आङ्देम्बेले द्वन्द्वपीडितलाई राहत दिने विषयमा कुनै कन्जुस्यार्इं गर्न नहुने बताउनुभयो । रासस

कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

काठमाडौँ, १३ मङ्सिर । नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ ।

कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो ।

नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो ।

आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो ।

एक हजार ४६८ बिन्दुमा रहेको परिसूचक घटेर एक हजार ४१६ बिन्दुमा पुगेको छ । रासस

पोखरा वृद्धाश्रमलाई भारतीय नागरिकद्वारा सहयोग

पोखरा, १३ मङ्सिर । पश्चिमाञ्चलको नमुना वृद्धाश्रमका रुपमा स्थापित पोखरा वृद्धाश्रमलाई भारतीय नागरिक दिवान कक्षकुमार दत्तले रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

भारतको नयाँदिल्ली घर भई पोखरामा बस्दै आउनुभएका उहाँले आप्mनी छोरी मलदत्त तलवारको स्मृतिमा वृद्धाश्रमलाई सहयोग गर्नुभएको हो ।

पोखरा वृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच दत्तले आश्रमका अध्यक्ष वसन्त केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

नेपाल सरकार, विभिन्न सङ्घसंस्था एवम् व्यक्तिहरुको सहयोगले वृद्धाश्रममा लगभग रु एक करोडको लागतमा पक्की नयाँ भवन निर्माण भइरहेको छ भने वृद्धाश्रमको सुरक्षाका लागि आवश्यक कम्पाउन्ड वाल लगाउन रु एक करोड खर्च लाग्ने आश्रमका अध्यक्ष पराजुली बताउनुहुन्छ ।

उहाँका अनुसार दाताहरुकै सहयोगले सञ्चालित वृद्धाश्रममा हाल समाजका गरिब, विपन्न एवम् असहाय वृद्धवृद्धा र उनीहरुका सेवकसेविका गरी कुल ६५ आश्रित रहेका छन् । रासस

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग

काठमाडौँ, १३ मङ्सिर । सङ्घीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपालले मुलुकका विद्यमान समस्या समाधान गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा गर्न माग गरेका छन् ।

दुई पार्टीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावलाई अन्त्य गरिनुपर्ने संयुक्त धारणा सार्वजनिक गरेका छन् ।

आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनको विषयमा संयुक्त धारणा सार्वजनिक गर्नुभएको हो ।

संयुक्त वक्तव्यमा भनिएको छ – “मधेसी, थारु, आदिवासी जनजाति, खस, मुस्लिम, शिल्पी (दलित), उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय तथा पिछडिएका क्षेत्रलगायतका समस्यालाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धनलाई विश्वासमा लिनु आवश्यक छ ।’’

वक्तव्यमा अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचत कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सङ्घीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकारसहित सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउन माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ–‘‘उल्लिखित मुद्दाहरुको सम्बोधन नै नहुने गरी गरिने संशोधनले समस्या समाधान हुन नसक्ने मात्रै नभई संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन सक्दैन ।” रासस

जटिलता समाधानका लागि सबै दलको सहयोग आवश्यक छ : सभामुख घर्ती

पर्सा, १३ मङ्सिर । सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताउनुभएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने बताउनुभयो ।

पतञ्जलिले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको सभामुख घर्ती मगरको भनाइ थियो ।

उहाँले पतञ्जलि योगपीठका संस्थापक योगगुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिकसँगै आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाएको बताउनुभयो ।

स्वामी रामदेवले विश्वस्तरमै योगको अभ्यासलाई मुखरित गरी पूर्वी संस्कृतिको जगेर्नासँगै व्यक्तिलाई निरोगिता प्रदान गरेको भन्दै सभामुख घर्तीमगरले स्वामी रामदेवको कार्यको प्रशंसा गर्नुभयो । स्वस्थ्य शरीरमा नै स्वस्थ्य सोचले बास गर्ने र स्वस्थ्य सोचले नै मानवता र समाजलाई भलो गर्न सकिने सभामुख घर्तीमगरले बताउनुभयो ।

विगत पाँच दिनदेखि वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको समापन समारोलाई सम्बोधन गर्दै स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपाल ऋषिहरुको तपस्यास्थल र अध्यात्मभूमि भएकाले यस देशका नागरिकको चिन्तन स्वच्छ र मन कञ्चन रहेको बताउनुभयो ।

शिविरमा सहभागीलाई स्वामी रामदेवले योग प्रशिक्षण दिनुभएको थियो । सो क्रममा सभामुख घर्तीमगरले समेत योगाभ्यासमा सहभागिता जनाउनुभएको थियो । रासस

Saturday, November 26, 2016

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, ११ मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ(एनआरएनए) अष्टे«लिया र अष्टे«लियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव(फेस्टिवल)को आज उद्घाटन गर्नुभयो ।

सिड्नीको पर्यटकीयस्थल डार्बिड. हार्बिनमा आयोजित सो महोत्सवमा अष्टे«लियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ ।

त्यस अवसरमा मन्त्री डा महतले नेपालमा विकासका ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न यहाँ रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाइँहरुलाई अष्ट्रेलियासम्म आउने र यो पहिचान बनाउने अवसर आफ्नै मातृभूमिले दिएको हो । यस तथ्यलाई मनन गरी आफ्नो मातृभूमिप्रतिको कर्तव्य पूरा गर्ने काममा कहिल्यैपछि नपर्नुहोला । नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक समृद्धि र स्थिरतातर्फ अघि बढिरहेकाले समृद्ध नेपालको निर्माणमा सघाउन संसारभर रहेका नेपालीलाई आग्रह गर्दछु ।”

मन्त्री डा महतले आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै यहाँ रहेका नेपालीको भावना बुझ्ने रहेको भन्दै दुई देशबीचको सम्बन्धको विकासमा यहाँ रहेका नेपालीले पु¥याएको योगदानको सराहना गर्नुभयो ।

उक्त महोत्सवमा एनआरएनका अध्यक्ष शेष घले, तथा अष्ट्रेलियामा रहेका प्रवुद्ध नेपालीले पनि सम्बोधन गर्नु भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी गराउनु भयो । रासस

हेवा खोला जलविद्युत् परियोजना ‘ए’को काममा अवरोध

पाँचथर, ११ मङ्सिर । हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि स्थानीयवासी र पाँचथर पावर कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएको जनाई स्थानीयवासीले अवरोध गरेपछि परियोजनाको काम ठप्प भएको छ ।

स्थानीयवासीले केही दिनदेखि कार्यालयको मूलढोकामै तालाबन्दी गरेका छन् । परियोजनाको कार्य क्षेत्रभित्र कालो झन्डा समेत गाडिएको छ । वार्ताका लागि प्रहरी प्रशासनले बोलाए पनि स्थानीयवासी वार्तामा बस्न नमानेको कम्पनीले जनाएको छ ।

परियोजना सञ्चालनका क्रममा लिखित र मौखिक रुपमा भएका सम्झौतामध्ये केही मात्रै पूरा भएका र बाँकी धेरै माग सम्बोधन नगरिएका कारण यथाशक्य सम्झौता बमोजिमको माग पूरा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

स्थानीयवासी विनय रम्तेलले भन्नुभयो, “स्थानीयस्तरमा हाइड्रो सञ्चालन गर्नका लागि बनेको कम्पनीको विधान तथा ऐन सार्वजनिक गर्नुपर्ने, स्थानीयका लागि तत्काल सेयर निष्काशन गर्नुपर्ने, प्रभावित क्षेत्र याङ्नामको विद्युत् व्यवस्थापन गर्नुपर्ने, खानेपानी, सिँचाइ कुलोको व्यवस्था गरिदिनुपर्ने, सुरुङले गर्दा पहिरो बगेको क्षेत्रमा अनुगमन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत १५ बुँदे माग अघि सारेर आन्दोलनमा उत्रेका छौँ ।”

हाम्रा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन चलिरहने उहाँले बताउनुभयो । उनीहरुले जिल्ला प्रशासन कार्यालय तथा राजनीतिकदल, सङ्घ संस्था तथा पाँचथर पावर कम्पनीलाई आफ्ना माग पूरा गर्न ज्ञापनपत्र समेत बुझाइसकेका छन् । रासस

नेसनल प्याब्सन खेलकुद महोत्सव तेस्रो हप्तामा

पोखरा, ११ मङ्सिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले यही मङ्सिर १४ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा एघारौँ नेसनल प्याब्सन खेलकुद महोत्सव गर्ने भएको छ ।

महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहने संस्थाद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिनुभयो ।

महोत्सव अन्तर्गत भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल र टेबलटेनिस खेल समावेश गरिएको छ । महोत्सव सम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरिएको छ । रासस

हिंसाविरुद्धको सोह्रदिने अभियानः ग्रामीण भेगका महिला अधिकारका बारेमा बेखबर

सिमा (जाजरकोट), ११ मङ्सिर । सिमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल लाग्नुभयो । जयकुमारीका श्रीमान् अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए ।

भोक लाग्यो, जेई (आमा) भन्दै बच्चाबच्ची कराएको पस्टै सुनिन्थ्यो । मदिरा खाएर सुतेका बाबुको उठ्ने कुनै छाँटकाँट थिएन । बिहान काममा गएकी जयकुमारी स्याउला लिएर १० बजे फर्कनुभयो । अनि छोराछोरीलाई मकैको रोटी पकाएर खुवाउन थाल्नुभयो ।

उत्ता जयकुमारीका श्रीमान्को निन्दा खुलेलगत्तै पुनः मदिरा सेवन गरेर खाना बनाउन ढिला गरेको भन्दै श्रीमतीसँग झगडा गर्न थाले । मदिरामा लठिएका रामबहादुरलाई श्रीमती बिहान नुनसँगको रोटी कम्मर बेरेर स्याउला ल्याएर आएको कहाँ थाहा थियो र ? उल्टै खाना ढिलो बनाएको भन्दै झगडा गर्दा जयकुमारी भाग्यलाई सराप्दै रुदै बस्नुभयो ।

त्यस्तै खगेनकोट–२ का कालीबहादुर परियारले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरे । श्रीमती रतीकलाबाट दुई वटा छोरा छन् । रतीकला बहुविवाहको उजुरी दिएर न्याय पाउने कामभन्दा मेरो भाग्यमा यस्तै रहेछ, कसले सहयोग गर्छ हामीलाई, भन्दै श्रीमान्को धम्कीकाबीच घरमै बसिरहनुभएको छ । उहाँका श्रीमान्ले रतीकलाको नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्तासम्म गरिदिएका छैनन् ।

यी त प्रतिनिधि घटना मात्र हुन् । जिल्लाका अधिकांश ठाउँमा यस्ता समस्याले जरो गाडेको प्रशस्त देख्न, सुन्न पाइन्छ । जिल्लाका ग्रामीण भेगका अधिकांश महिला अधिकारका विषयमा जानकारी नै नहुँदा दैनिक हिंसा बढिरहको भए पनि अत्याचार सहेर बस्नु पर्ने बाध्यता रहेको छ । हिंसापीडित अधिकांश महिलाका नागरिकता, विवाह दर्तासमेत श्रीमान्ले नगरिदिँदा कानुनी उपचार खोज्न लड्न निकै समस्या हुने गरेको अधिवक्ता प्रकाशकुमार शाहीले बताउनुभयो ।

छोराछोरी भइसके किन गर्नुप¥यो विवाह दर्ता, घाँस, दाउराको काम गर्ने महिलालाई किन चाहियो नागरिकता भन्ने जस्ता चिन्तनका कारण थप समस्या आएको पञ्चभयार मावि खगेनकोट–७ का शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकोसमेत यहाँका महिला बेखबर छन् । सूचना, प्राविधिको पहुँच नभएका जाजरकोटका गाउँमा सदरमुकाम बाहेक अन्य ठाउँका महिलालाई १६ दिने अभियानका विषयमा जानकारी छैन । गाविस, जिल्ला सदरमुकाम, बजारमा समेत महिलाभन्दा पुरुष नै बढी खटिने र महिलालाई घरायसी काममा मात्र लगाउने भएका कारण महिलाले अधिकारको विषयमा जानकार नभएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो ।

सङ्घ÷संस्थाले ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने महिलाका कार्यक्रममा महिलालाई नपठाएर श्रीमान् नै जाने अनि श्रीमतीको नाम लेखेर आफैँ सही गरेर आउने चलनले गर्दा आफ्ना अधिकारका विषयमा महिला जानकारी पाउनबाट वञ्चित बनाइएको नायकवाडा–७ की महिला स्वयम्सेवी कृष्णकुमारी शाहीले बताउनुभयो । वर्षौंभरी काम मात्र गर्ने, नियमित सरसफाइ अनि पोसिलो खाना पनि नपाउने यहाँका ग्रामीण क्षेत्रका महिलाको जीवन पद्धति दयनीय रहेको छ । हेमन्त केसी/रासस

सरकारले ल्याउने संशोधन प्रस्ताव एमालेलाई अमान्य : नेता खनाल

पर्सा, ११ मङ्सिर । नेकपा(एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्यनै समाप्त भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको बताउनुभयो ।
नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

मानव विकासका लागि सकारात्मक सोच आवश्यक छ ः नेता खनाल

वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको आज तेस्रो दिन पूर्व प्रधानमन्त्री झलनाथ खनाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

पतञ्जलि योगपिठ नेपालद्वारा आयोजना गरिएको योग शिविरको उद्घाटन गर्दै नेता खनालले योग साधनाको माध्यमले व्यक्तिलाई निरोगी र राष्ट्र प्रेमको भावना जगाउँदै हिँडेका स्वामी रामदेवलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मानवताको विकासका लागि सकारात्मक सोच आवश्यक रहेको बताउनु भयो ।

शिविरका सहभागिलाई योग प्रशिक्षण दिँदै योग गुरु स्वामी रामदेवले नेपाल प्रकृतिक स्रोतको धनी भए पनि अव्यवस्थाका कारण नेपालीले विकास गर्न नसकेको धारणा राख्नुभयो ।
बिहान ५ बजे सुरु भएको योग शिविरमा आज आठ हजार भन्दा बढी सर्वसाधारणको सहभागिता रहेको आयोजक शिविर मूलआयोजक समितिका सह–संयोजक विजय सरावगीले जानकारी दिनुभयो । रासस

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा

काठमाडौँ, ११ मङ्सिर । सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो ।

सरकारले डा केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उहाँको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताउनुभयो । केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिनुभएको थियो ।

डा केसी अनशनमा रहनुभएको यो दसौँ शृङ्खला हो । रासस

Thursday, November 24, 2016

उपत्यकामा ३४ किमी सडक विस्तार, ५४ किमी विस्तार हुँदै

काठमाडौँ, ९ मङ्सिर । उपत्यकाको बढदो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार गरिएको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४÷६५ देखि सडक विस्तारको काम सुरु गरेकामा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

विस्तार भएका सडकमा माइतीघर–तिनकुने २.६०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मूलद्वार २.२०० किमी, गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर–शङ्खमूल ३.४३० किमी, डिल्लीबजार–नक्साल–भाटभटेनी–बालुवाटार (थिरबम मार्ग) ३.२३० किमी, काठमाडौँ प्लाजा–पिपा गोश्वारा–डिल्लीबजार (कालिकामार्ग) ०.७५० किमी छन् ।

त्यसैगरी कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, लैनचौर–महाराजगन्ज–बुढानीलकण्ठ ८.३५० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, रानीबारी–शिवमार्ग सरकारी धारा ०.८५० किमी, धुम्बाराही–मण्डिखाटार–गल्फुटार २.४०० किमी, जयनेपाल–काठमाडौँ प्लाजा ०.४०० किमी, कालिकामोड–डिल्लीबजार–पुतलीसडक ०.४८० किमी, मैतीदेवी–ज्ञानेश्वर ०.५०० किमी, एनके सिंह सडक ०.४६० किमी, जडीबुटी–पेप्सी–मनोहरा २.२२० किमी, मैतीदेवी–डिल्लीबजार–कालिकामोड ०.९३० किमी, पुतलीसडक–बागबजार ०.६२० किमी, बुद्धनगर ड्रेनेज कार्य ०.४०० किमी, राजा जनक मार्ग तिनकुने ०.१६५ किमी, बालाजु–शोभाभगवती–डल्लुपुल (विष्णुमती कोरिडोर) ०.५०० किमी र गौशाला–एयरपोर्ट–तिनकुने २.००० किमी सडक विस्तार भएको छ ।

चालु आवमा विस्तार भइरहेका सडकमा सिनामङ्गल–पुरानो बानेश्वर–मैतीदेवी–सेतोपुल २.०५० किमी, त्रिभुवन विश्वविद्यालय मूलद्वार–नयाँबाटो मोड ०.६६० किमी, बूढानीलकण्ठ मन्दिर–टोखा विष्णुमती ०.८५० किमी, त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२.४८० किमी छ । विसं २०३३ को मापदण्डअनुसार यो सडक विस्तार गरेपछि पटक पटक अदालतले तत्कालका लागि कार्य अघि नबढाउन आदेश जारी गरेकाले काममा समस्या भएको आयोजनाले जनाएको छ ।

यसैगरी चावहिल–जोरपाटी–साँखु ११.४६० किमी, सातदोबाटो–लगनखेल ०.८०० किमी, इमाडोल–सिद्धिपुर–गोदावरी ३.१२६ किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ ७.२०० किमी, कर्मनासा–हरिसिद्धि ४.१५० किमी, जोरपाटी–सुन्दरीजल ७.००० किमी, नक्खु–भैँसेपाटी–बुङ्मती ३.५२० किमी र चक्रपथ ज्ञानज्योति गणेश विद्वत् मार्ग ०.७४२ किमी सडक विस्तारका क्रममा छ ।

उपत्यकामा विस्तार भइसकेका र विस्तार हुने क्रममा रहेका गरी ८८.५९३ किमी सडक विस्तारका क्रममा रहे पनि गौशाला–चावहिल सडक विस्तार नहुँदा कार्यालय समयमा यो मार्ग भएर चल्ने सवारी घन्टौँ जाममा पर्ने गरेका छन् ।

सडक विस्तारका लागि काम सुरु भएको दुई वर्षमा सक्नुपर्ने गरी अवधि तोकिए पनि स्थानीयवासीले घर भत्काउन नमान्ने, नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल नहटाइदिने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको लाइन नहटाउनाले समस्या भएको आयोजनाले जनाएको छ । रासस

सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी !

पाल्पा, ९ मङ्सिर । पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ ।

छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् ।

यस प्राविमा कक्षा १ मा प्रमिसा विक नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा १ देखि ५ सम्म ३१ जना विद्यार्थी नियमित उपस्थित हुन्छन् । “प्रमिसा विद्यालय नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शून्य हुन्छ,” शिक्षक पारसमणि पोखरेलले भन्नुभयो– “बिरामी हँुदा र आमासँग माउल जाँदा कक्षा शून्य हुन्छ ।”

कक्षा १ मा यस शैक्षिकसत्रमा तीनजना विद्यार्थी भर्ना भएकामा अहिले दुईजना विद्यार्थी अन्यत्र पढ्न गएपछि प्रमिसा विक एक्लै पढ्दै आएकी हुन् । उनले कक्षाकोठामा साथीसँग बसेर पढ्दा रमाइलो लाग्ने अनुभव सुनाउँछिन् । तर कक्षा १ मा एकजना मात्र विद्यार्थी छन्, उनका साथी शिक्षक र शिक्षिका मात्र हुन् ।

छहरा–५ मा मात्र दुईओटा प्राथमिक विद्यालय सञ्चालनमा रहेका छन् । मङ्गालमा नवज्योति प्राथमिक विद्यालय, अम्लाबासमा सल्लेरी प्राथमिक विद्यालय, नजिकै बोर्डिङ स्कुल र भैरव नवदीप उच्च माविमा विद्यार्थी बाँडिन थालेपछि सामुदायिक विद्यालयका प्रावि तहमा विद्यार्थी सङ्ख्यामा कमी हुँदै गएको हो ।

विसं २०५५ सालमा कक्षा १ सञ्चालन हुँदा एकसय चारजना विद्यार्थी भर्ना भएकामा अहिले एकजना विद्यार्थी मात्र रहेको शिक्षक पारसमणि पोखरेलले जानकारी दिनुभयो । हामीले मिहेनत गरेर विद्यार्थीलाई पढाउने, विद्यार्थी जेहेन्दार हुन थालेसँगै अभिभावकले अन्यत्र लैजाने गर्दा विद्यार्थी सङ्ख्या घट्न थालेको शिक्षकको दाबी छ ।

बाल शिक्षामा ६ जना, कक्षा १ मा एक, २ मा चार, ३ मा आठ, ४ मा आठ, ५ मा १० जना विद्यार्थीले सल्लेरी प्राविमा पढ्दै आएका छन् । अधिकांश विपन्न समुदायका छोराछोरीले मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने, आर्थिक रुपमा सबल र नेपाल सरकारका जागिरेका छोराछोरीले निजी स्कुलमा पढाउन थालेसँगै सामुदायिक विद्यालय धराशायी हँुदै गएको छ । छहरा स्रोत केन्द्रअन्तर्गत प्राविमा उत्कृष्टमध्येमा पर्ने यो प्राविको साक्षरता दर राम्रो भएको विद्यालयको दाबी छ ।

विद्यार्थी सङ्ख्या कमी भएपनि समुदायको सहयोगले विद्यालय अन्यत्र गाभिन परेको छैन । विद्यालयमा दुई राहत शिक्षक, एक करार शिक्षक, बालशिक्षिका र एकजना स्वयम्सेवक रहेका छन् ।

गाउँमा विद्यालय खोल्न नेतृत्व गर्नेले पनि अहिले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नातिनातिनीलाई पढाउँदैनन् । निजी स्कुलमा महँगो शुल्क तिरेर पढाउने होडबाजीले सामुदायिक विद्यालय अहिले आकर्षणको केन्द्र बन्न सकेको छैन । कृष्ण दर्नाल/रासस

दुई महिनापछि चालक अनुमतिपत्र खुल्दा यातायात कार्यालयमा भीड फाराम भर्न अघिल्लो रातबाटै लाममा

ललितपुर, ९ मङ्सिर । सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किनुभएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य हुनुभयो ।
बुधबार बिहान ७ बजे नै एकान्तकुना पुग्नुभएका उहाँ भीड देखेर फर्किनुभएको थियो तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उहाँ फर्कन बाध्य हुनुभएको हो ।

बुधबार बाग्मती यातायात व्यवस्था कार्यालयमा नै भेटिनुभएका मकवानपुरका विकास चम्रेल भने फाराम भर्न पाएकामा दङ्ग देखिनुहुन्थ्यो । उहाँ राति ३ बजे नै एकान्तकुना पुग्नुभएको थियो । आफू पुग्दा राति ९÷१० बजेदेखि बसेकाहरु भेटिएको चम्रेलले बताउनुभयो ।

कार्यालयले दुई महिनापछि बुधबारबाट चालक अनुमतिपत्रका लागि आवेदन फाराम लिन थालेको हो । लामो समयदेखि बन्द रहेको र अन्य अञ्चल कार्यालयले सेवा नदिएका कारण कार्यालयमा फाराम भर्नेको भीड लागेको छ । बुधबार मात्रै झन्डै चार हजार सेवाग्राही आइपुगेको कार्यालयमा कार्यरत कर्मचारीले बताएका छन् । एक दिनमा चारपाङ्ग्रे हलुका सवारी साधनको २०० र मोटरसाइकल ५०० गरेर कार्यालयले जम्मा ७००को फारम लिने गरेको छ ।

रामशाहपथस्थित नेसनल ट्रेडिङ सेन्टरमा सवारी जाँच हुने गरेकामा चाडपर्वका समय नेसनल ट्रेडिङले स्थान उपलब्ध नगराएका कारण दुई महिनासम्म सेवा दिन नसकिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । फाराम भर्ने समयमा सधैँ भीड हुने भए पनि दुई महिनासम्म सेवा ठप्प हुँदा भीड धेरै गुणा बढेको छ । उहाँ भन्नुहुन्छ – “सामान्य हुन अझै केही समय लाग्न सक्छ ।”

लामो समयपछि चालक अनुमतिपत्र खुलेकाले प्रमुख यादव मङ्गलबार राति झन्डै ८ः३० बजेसम्म कार्यालयमा भोलिपल्टको तयारीका लागि बस्नुभएको थियो । बिहान आफू ६ः३० बजे पुग्दा नै धेरै सेवाग्राही आइसकेका थिए भन्दै उहाँले सेवाग्राही धेरै भए पनि कार्यालयले क्षमताअनुसार मात्रै सेवा दिन सक्छ भन्नुभयो ।
रातिबाट नै लाम लाग्न आएकालाई प्रहरीले हटाएको थियो । फाराम भर्न नपाएकाहरुले प्रवेशद्वार, पर्खाललगायतका स्थान तोडफोडसमेत गरेका छन् ।

कार्यालयले मोटरसाइकलको फाराम सङ्कलन सोमबारदेखि शुक्रबारसम्म गर्दै आएको छ । प्रत्येक दिन ५०० सेवाग्राहीले फाराम भर्न सक्छन् । हलुका सवारी साधनका लागि भने २०० जनाले फाराम भर्न पाउने व्यवस्था छ । आइतबार भारी सवारी साधन र स्कुटरका लागि चालक अनुमति पत्रको फाराम लिने गरिएको छ ।
भारी सवारी साधनका दलागि भने एक सयजनाले मात्र फाराम भर्न सक्ने व्यवस्था छ । जुनसुकै सवारी साधनको चालकले फाराम भरेको एक दिनपछि लिखित र दुई दिनपछि ट्रायल दिन सक्छन् ।

यातायात व्यवस्था कार्यालय, ललितपुरमा अहिले नमुनाका रुपमा स्मार्ट चालक अनुमतिपत्र वितरण भइरहेको छ । सञ्चिता घिमिरेरासस

अन्तर्जातीय विवाहित महिला बेपत्ता

पाल्पा, ९ मङ्सिर । अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन् । गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप छ ।

माइती पक्षले खोजी गरी पाऊँ भनी प्रहरीसमक्ष निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय विवाह भएको थियो ।

बिन्दुका बुबा नरेन्द्र पुलामीले छोरी बेपता भएपछि खोज्न आग्रह गरे पनि घरपरिवारबाट बेवास्ता गर्नुका साथै धम्की समेत आएको बताउनुभयो ।

अन्तिमपटक सोमबार गाउँमा भएको छलफलपछि ज्वाइँ दीपेन्द्र नै सम्पर्कविहीन भएकाले प्रहरीमा निवेदन दिएको उहाँले बताउनुभयो । दीपेन्द्र पाल्पाका जिल्ला शिक्षा कार्यालयका ओभरसियर हुन् ।

माइती पक्षले बिन्दुको हत्या भएको हुन सक्ने आशङ्का गरेर खोजीका लागि प्रहरीसमक्ष निवेदन दिएकाले प्रहरी उपरीक्षक हरिराज वाग्लेले निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।रासस

प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्छ : अध्यक्ष गच्छदार

विराटनगर, ९ मङ्सिर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताउनुभयो ।

अध्यक्ष गच्छदारले “मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेको अवस्थामा संविधान संशोधनको प्रस्तावमा विरोधाभाष देखिएको हो” भन्नुभयो ।

प्रमुख तीन दलका ठूला नेताबीच सहमति गरेर संशोधनको प्रस्ताव ल्याउनुपर्ने, त्यसो नगरिएको अवस्थामा समस्या समाधान नहुने चर्चा गर्दै उहाँले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा आउने बताउनुभयो ।

अध्यक्ष गच्छदारले ठूला दलका नेताहरु आफ्नै निर्णयमा टिक्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै “आफैँ जिल्ला टुक्र्याउने, अब जिल्ला टुक्र्याउन नदिने, कहिले आठ प्रदेशमा सहमति गर्ने अनि सात प्रदेश बनाउने, ‘कहिले पुरानै संरचना ठीक, कहिले बेठीक’, ‘कहिले आयोगलाई मान्ने, कहिले नमान्ने’ जस्ता विरोधाभाष अभिव्यक्तिका कारण समस्या सिर्जना भएको हो भन्नुभयो ।”

मुलुकको अवस्था तरल बन्दै गएको र मुलुक मुठभेडको अवस्थामा पनि जान सक्ने भएकाले ठूला दलका नेतालाई पार्टी र सत्ताको स्वार्थबाट माथि उठेर राष्ट्रिय हितमा अग्रसर हुनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो ।

अध्यक्ष गच्छदारले विवादित जिल्लाको समस्या आयोगको माध्यमबाट समाधान गर्नु उचित नहुने बताउँदै “झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनता कुन प्रदेशमा बस्न चाहेको विषयमा जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।

कैलाली कञ्चनपुर जिल्लाका साथै पाल्पा, प्युठान, रोल्पा र गुल्मीका जनताको पनि अभिमत लिनुपर्ने आयश्यकता उहाँले औँल्याउनुभयो ।

अध्यक्ष गच्छदारले मधेसको ‘एक इन्च जमिन’ पनि पहाडी प्रदेशमा मिसाउन नदिने भनेर मधेसी मोर्चाले आन्दोलन गर्ने र सो आन्दोलनमा शहादत भएका ६० जनालाई बिर्सेर बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सहमति गर्नेजस्ता कार्य मोर्चाले गरेको आरोप लगाउनुभयो । रासस

भिसा सेन्टर नेपालमै राख्न परराष्ट्रमन्त्री महतद्वारा अस्ट्रेलियाली समकक्षीसँग आग्रह

क्यानबेरा (अस्ट्रेलिया), ९ मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ ।

बुधबार अस्ट्रेलिया आइपुग्नुभएका मन्त्री डा महत र बिसपबीच आज विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।

दुई देशका विदेशमन्त्रीस्तरमा निकै लामो समयपछि भएको यस भेटका क्रममा आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा परराष्ट्रमन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा अस्ट्रेलिया सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिनुभयो ।

साथै, गत वर्ष नेपालमा आएको भूकम्पपछिको उद्धार र सहायताका लागि पु¥याएको सहयोगका लागि पनि मन्त्री डा महतले अस्ट्रेलियाली सरकार र यहाँका नागरिकप्रति धन्यवाद दिनुभयो ।

त्यस क्रममा मन्त्री बिसपले नेपालमा विभिन्न क्षेत्रमा अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको बारेमा चर्चा गर्दै आगामी दिन थप के कस्ता क्षेत्रमा सहयोगको आदानप्रदान गर्न सकिन्छ भनेर आपूmले परामर्श गर्ने आश्वासन दिनुभयो ।

पछिल्ला वर्षहरुमा अस्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको सङ्ख्या बढ्नु र सानो सङ्ख्यामा भए पनि अध्ययन एवम् अनुसन्धान गर्न अस्ट्रेलियाली विद्यार्थी नेपाल जानु पनि जनस्तरको सम्बन्धमा सकारात्मक पाटो भएको मन्त्री बिसपले बताउनुभयो ।

सोही क्रममा मन्त्री डा महतले नेपालमा अस्ट्रेलियाली दूतावास भए पनि प्रवेशाज्ञाका लागि नयाँदिल्ली जानुपर्ने भएकाले विद्यार्थीसहित थुप्रै नेपालीलाई समस्या भइरहेको तर्फ ध्यानाकर्षण गर्दै नेपालमै ‘भिसा सेक्सन’ राख्ने व्यवस्थाका लागि आग्रह गर्नुभएको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।

अस्ट्रेलियाली सरकारले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरताका लागि पनि मन्त्री डा महतले आग्रह गर्नुभएको थियो ।

नेपालमा जलविद्युत्, लघु उद्यम, नागरिकको जीवनस्तरमा विकाससम्बन्धी आयआर्जनका कार्यक्रम, सामुदायिक वन, शिक्षा तथा प्रविधिलगायतका विभिन्न क्षेत्रमा अस्ट्रेलिया सरकारले सहयोग गर्दै आएको छ ।

भेटका क्रममा विदेशमन्त्री बिसपले नेपाल सरकारले भूकम्पपीडितलाई सहयोग र पुनःनिर्माणको काम के कसरी गरिरहेको छ भन्ने बारेमा चासो व्यक्त गर्नुभएको थियो ।

उहाँहरुबीच अन्य समसामयिक राजनीतिक विषयका साथै सार्कको वर्तमान स्थिति बारेमा पनि कुराकानी भएको थियो ।

मन्त्री डा महतले नेपालको भ्रमणका लागि विदेशमन्त्री बिसपलाई आमन्त्रण गर्नुभएको थियो । त्यसको जवाफमा विदेश मन्त्री बिसपले समय मिलाएर उपयुक्त समयमा आफूले नेपालको भ्रमण गर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय विकासमन्त्रीसँग भेटवार्ता

यसैबीच आजै परराष्ट्रमन्त्री डा महत र अस्ट्रेलियाली अन्तर्राष्ट्रिय तथा प्रशान्त क्षेत्रका विकासमन्त्री कनकाटा फारवेन्टी वेल्सबीच भेटवार्ता भयो ।

भेटमा मन्त्री डा महतले नेपालमा लगानी र सहयोग अभिवृद्धिका लागि आग्रह गर्नुभयो ।

उहाँले नेपालमा रहेका भुटानी शरणार्थी, जलवायु परिवर्तनको असर, नेपालले भूकम्पपछि गरेको पुनःनिर्माणको कार्यलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

मन्त्री डा महतले अस्ट्रेलियासँग नेपालको अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा रहँदै आएको र आगामी दिन घनिष्टताका साथ थप सहकार्य गर्न चाहेको बताउनुभएको थियो ।

उहाँसँग पनि मन्त्री डा महतले नेपालमा रहेको अस्ट्रेलियाली दूतावासबाटै प्रवेशाज्ञा दिने प्रबन्धका लागि आग्रह गर्नुभएको थियो ।

मन्त्री डा महतले आजै संसद्मा विपक्षी दल लेबर पार्टीका तर्फबाट नेता एवम् विपक्षी दलका तर्फबाट छाया विदेशमन्त्री पेनी वङ, विपक्षी पार्टीका तर्फबाट जलवायु परिवर्तन र ऊर्जासम्बन्धी छाया मन्त्री मार्क बुटलर, विपक्षी दलका तर्फबाट सूचना तथा सीमा सुरक्षासम्बन्त्री छाया मन्त्री स्याने न्युम्यानसँग पनि भेटवार्ता गर्नुभयो ।

भेटका अवसरमा अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदूत राजेन्द्र पाण्डे उपस्थित हुनुहुन्थ्यो । रासस

Wednesday, November 23, 2016

तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

काठमाडौँ, ८ मङ्सिर । सरकारले आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने भएको छ ।

मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसँगको सहमतिपछि सरकारले संशोधन दर्ता गराउने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दल र गठबन्धनको बैठकले संशोधन दर्ता गर्ने सहमति गरेको थियो ।

दुवै पक्षबीच प्रदेश सीमाङ्कन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व विषय र नागरिकतालगायत प्राविधिक विषयसमेत समेटेर संशोधन प्रस्ताव दर्ता गराउने समझदारी भएको छ ।

सरकारले सत्तारुढ पार्टीसँग भएको छलफल र समझदारीका आधारमा संशोधन प्रस्ताव दर्ता गराउने सहमति भएको सत्ता नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सचिव वर्षमान पुनले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“सरकारले सत्तारुढ पार्टीसँग भएको छलफलको आधारमा संशोधन प्रस्ताव संसद्मा लैजाने समझदारी भएको छ, अब, मस्यौदा प्रक्रिया सरकारले अघि बढाउँछ,”–उहाँले भन्नुभयो ।

संविधान संशोधनबारे मोर्चासँगको छलफल अत्यन्तै सकारात्मक भएको र छिट्टै संशोधन प्रस्ताव दर्ता गराउने समझदारी भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले बताउनुभयो ।

उहाँले भन्नुभयो– “तीन पक्षको सौहार्दपूर्ण र सकारात्मक छलफलले संविधानको स्वीकार्यतालाई सुनिश्चित गरेर निर्वाचन गर्ने दिशातर्फ मुलुक जान्छ भन्ने विश्वास पैदा गरेको छ, त्यसैअनुसार संविधान संशोधन गर्ने सहमति भई दुई÷तीन दिनभित्र नै संशोधनको प्रस्ताव दर्ता हुन्छ ।”

उक्त प्रस्तावमा गठबन्धनले पनि सकारात्मक प्रतिक्रिया दिएको छ । यद्यपि, उसका केही असमझदारीलाई ‘नोट अफ डिसेन्ट’ का रुपमा राखेर संविधान कार्यान्वयनको दिशामा दल अघि बढ्ने दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

गठबन्धनको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधन प्रस्ताव दर्ता गरिने प्रस्ताव सकारात्मक भएकाले आफूहरुले स्वीकार गरेको बताउनुभयो ।

“सरकारले कम्तीमा संशोधनको प्रस्ताव दर्ता गराउनु सकारात्मक कुरा हो, विभिन्न भाका र बहाना गर्नुभन्दा त यो सकारात्मक छ, प्रधानमन्त्रीजीले समय खड्किसकेकाले संविधान संशोधनको प्रस्ताव दर्ता गराउने पुनः प्रतिबद्धता जनाउनुभयो । चार वटा विषयमा प्रस्ताव दर्ता हुन्छ, हामीलाई विश्वास छ, कमसेकम हाम्रो चासो सम्बोधन हुनेछ,”–उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेको असहमतिका बीच सरकारले संशोधन प्रस्ताव दर्ता गराउने प्रक्रिया अघि बढाएको हो । तथापि, उक्त प्रस्तावबारे प्रतिपक्षीसँग छलफल गरेर अघि बढ्ने सत्तापक्षको भनाइ छ ।

माओवादी केन्द्रका सचिव वर्षमान पुनले संशोधन प्रस्ताव दर्ता भइसकेपछि विपक्षी दलसँग छलफल अघि बढाइने बताउनुभयो ।

उहाँका अनुसार संविधान निर्माणका क्रममा नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रस्तुत गरेको सात प्रदेशको खाकालाई आधार मानेर सङ्घीय संरचना बनाइनेछ । मुख्य आधारको रुपमा नवलपरासी नवलपुर र परासीको रुपमा पहिले नै संविधानमा व्यवस्था भइसकेकाले त्यसलाई नचलाउने, त्यतिखेर रोल्पा र रुकुमलाई छैटौँ प्रदेशमा प्रस्ताव गरिएकोमा अहिले पाँचौँ प्रदेशमा गाभिने छ । गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा र प्युठान एउटै प्रदेश (प्रदेश नं चार वा छ) मा रहन्छन् ।

सीमाङ्कनबारे अन्य जनताको चाहना, आवश्यकता र सुझावबमोजिम सङ्घीय आयोगमार्फत सम्बोधन हुनेगरी संविधान कार्यान्वयन र निर्वाचन प्रक्रियालाई क्रमिकरुपमा अघि बढाउने दलीय समझदारी बनेको नेता पुनले उल्लेख गर्नुभयो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता तथा गठबन्धनका तर्फबाट शीर्ष नेताको सहभागिता थियो । रासस

Tuesday, November 22, 2016

मर्मतका लागि बन्द यान्त्रिक पुलको सेवा सुचारु

फलेवास (पर्वत), ८ मङ्सिर । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल झन्डै दुई साता पछि पुनः सञ्चालन भएको छ ।

प्राविधिक समस्या देखिएका कारण गत कात्तिक २७ गतेदेखि बन्द भएको यान्त्रिक पुल मर्मतपछि आज बिहानबाट सञ्चालनमा आएको हो ।

पुलको लठ्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा मर्मत पछि सुचारु गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
“भारतबाट प्राविधिक झिकाएर मर्मत गरेपछि सेवा सुचारु भएको हो ।” उहाँले भन्नुभयो “मङ्गलबार साँझ परीक्षण गरिएकाले आज बिहानदेखि नियमित रुपमा सेवा सञ्चालन भएको हो ।

पुल लामो समयसम्म सञ्चालन भइरहँदा लठ्ठामा समस्या देखिएका कारण यात्रुलाई सम्भावित खतरा हुन नदिन सेवा बन्द गरिएको थियो । यान्त्रिक पुल बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका थिए ।

उक्त पुलबाट अहिले दैनिक सयौँको सङ्ख्यामा यात्रु आवतजावत गर्दै आइरहेका छन् । विगत पाँच वर्ष अघि मुलुकमै पहिलोपटक केबलकार मोडेलमा निर्माण गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल सञ्चालनमा आएपछि दुई घन्टाको पैदलयात्रा चार मिनेटमै छोटिएको छ ।

उक्त पुलमा बागलुङ र पर्वतका गरी ४३६ जनाको सेयर रहेको छ । दुईवटा यान्त्रिक कार जडान भएको उक्त पुलमा एउटा कारमा आठ जना अट्न सक्ने क्षमता छ । दुवैतर्फ गरेर एकपटकमा १६ जना आवतजावत गर्न सकिन्छ । करिब रु पाँच करोडको लागतमा निर्मित उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु १०० तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ ।

आर्थिक वर्षमा रु एक करोड मुनाफा आर्जन भएको सो यान्त्रिक पुल लिमिटेडले सेयर सदस्यलाई २० प्रतिशत लाभांस समेत वितरण गरेकोे लिमिटेडका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो । रासस 

मार्सल आर्टका अन्तर्राष्ट्रिय अध्यक्षले प्रधानमन्त्रीलाई भेटे

काठमाडौँ, ८ मङ्सिर । अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टका कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालप्रति टोलीले देखाएको सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष ह्युनले नेपालमा मार्सल आर्टको विकासका लागि काम गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो । त्यस्तै उहाँले खेल्नका लागि आवश्यक खेल स्थललगायत पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

जापान, दक्षिण कोरियालगायत देशमा लोकप्रिय खेल मार्सल आर्ट पछिल्लो समयमा नेपालमा पनि लोकप्रिय भइरहेको छ । नेपालले दक्षिण एसिया क्षेत्रमा मार्सल आर्टमा अन्य खेलको तुलनामा धेरै सफलता प्राप्त गरेको छ । मार्सल आर्टअन्तर्गत कराँते, तेक्वान्दो, जुडो आदि खेल पर्छन् । रासस

सोलुका भूकम्पपीडित भन्छन्, “कि देउ, कि दिन्न भन”

सोलुखुम्बु, ८ मङ्सिर । दूधकुण्ड नगरपालिका–१ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो, केही दिनको त्रिपालबासपछि उहाँले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाउनुभयो, त्यसयता शेर्पाको सातजनाको परिवार त्यही छाप्रोमा बस्दै आएको छ ।

नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ कि बिहान उठ्दा सबैको आँखा सुन्निएको हुन्छ, अनि बिहान करिब २ बजेदेखि जस्ताबाट झरेको शीतले ओढ्ने ओछ्याउने सबै भिजाइदिन्छ, तैपनि उहाँको विकल्प छैन । चिसो सुरु हुनासाथ बालबालिका बिरामी पर्न थालेको भए पनि बाध्यताले यही छाप्रोमा बस्नु परेको शेर्पाले गुनासो गर्नुभयो ।

उहाँले घर बनाउनका लागि अघिल्लो हिउँदमै भत्किएको घरको अवशेष पन्छाएर घडेरी तयार गर्नुभयो, ढुङ्गा र काठ पनि तयार छ, तर पर्खाइ छ — सरकारले दिने भनेको अनुदानको ।

“सरकारले अनुदान दिन्छ भन्छन्, बनाऊँ भने नदेला, कि दिन्न भने चौँरीगोठ बेचेर भए पनि बनाउँथे, किन यसरी झुक्याएको हो सरकारले पनि ?”, निरास हुँदै शेर्पाले भन्नुभयो ।

जाङमु शेर्पा त अत्यन्तै चिसो बढेको सोलुखुम्बुमा रहेका भुकम्पपीडितको उदाहरण पात्र मात्र हुनुहुन्छ । भूकम्पले घर पूर्णक्षति भएका सोलुखुम्बुका नौ हजार ६ सयमध्ये केहीले मात्र नयाँ घर बनाएका छन्, केही घरपरिवार जोखिम मोलेर त्यही भत्कन लागेको घरमा बस्छन् भने अधिकांश पीडित त्रिपाल तथा जस्ताको छानो भएको छाप्रोमै गुजारा गरिरहेका छन् ।

चौलाखर्क–३ सोलुखुम्बुका रोहित बस्नेत भन्नुहुन्छ, “कि दिनु, कि दिन्न भन्नु, गरिबलाई आशा देखाएर राख्न पाइन्छ ? ऋण गरेर घर बनाऊँ भने सरकारले दिन्छु भनेको छ, आश लाग्छ, नबनाउँ भने ७० वर्ष पुगिसकेका बुढाबुढी चिसोले रातभर काँप्नुपर्ने अबस्था छ ।”

घर बनाउनका लागि काठपातलगायत सामग्री अघिल्लो वर्षदेखि तयार गरेर बस्नुभएका बस्नेत ‘बनाउ, पछि पैसा दिन्छु’ भनेमा पनि आफू बस्ने घर बलियोसँगै बनाउने बताउनुहुन्छ ।

कात्तिक पहिलो हप्तादेखि नै सोलुखुम्बुमा चिसो अत्यन्तै बढेको छ । दिउँसो काम गर्दा त चिसोको वास्ता नभए पनि छाप्रोमा काँप्दै रात बिताउन आफूहरुलाई निकै समस्या पर्ने गरेको पीडित बताउँछन् ।

सोलुखुम्बु भूकम्पबाट अति प्रभावित १४ जिल्लाको सूचीमा नपरेकाले केही ढिला भएको र कहिलेदेखि सोलुखुम्बुमा अनुदान वितरणको काम सुरु हुने भन्ने प्राधिकरणबाट कुनै जानकारी नआएकाले यसै भन्न नसकिने दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईले बताउनुभयो । भोजेन्द्र बस्नेत/रासस

लालचन्द्रलाई ४५ वर्षदेखि एउटै कुर्सी प्यारो !

बागलुङ, ८ मङ्सिर । कुनै कृत्रिम रङ्गले होइन, बस्दा–बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कलाजस्तो ! ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलियो पनि होला, साह्रै हलुङ्गो भएको छ ।

उसबेला ठोकेका काँटी खुकुलो हुँदा कुर्ची लरखराउँछ पनि । तर उक्त कुर्ची अझै एक पसल मालिकको ‘प्रियवस्तु’मा पर्छ । यतातिरको ज्यादै बलियो मानिने सिर्मुको कुर्ची । ५२ वर्षदेखि पुस्तक÷पत्रपत्रिका बेच्दै आउनुभएका लालचन्द्र राजभण्डारी बस्ने कुर्ची ।

बागलुङ नगरपालिका–३ लालीगुँरासस्थित लालचन्द्र–राजेशचन्द्र पुस्तक तथा पत्रपत्रिका पसलमा अहिले पनि त्यही कुर्ची छ, जहाँ ७४ वर्षीय राजभण्डारीका छोरानातिसमेत बस्छन् । आलोपालो गरी पसलमा बस्ने त्यही कुर्चीमा बसेर व्यवसाय सम्हाल्दै आएका छन् । एउटा काठको जीर्ण हुँदै गएको कुर्ची किन यति प्यारो ?

लालचन्द्र भन्नुहुन्छ– “बीचमा अर्को कुर्ची पनि ल्याएँ, नरुचेपछि हटाइदिएँ, २०२८ सालदेखि यही कुर्ची प्रयोगमा छ ।” म्याग्दीको रुममा काठको काम गर्ने बागलुङ गैरागाउँका मजदुरले उहाँलाई उक्त कुर्ची ल्याइदिएका थिए, जसको मूल्य त्यसताका साढे दुईसय रुपैयाँ थियो । कार्यकक्षमा कुर्ची फेरी–फेरी बस्ने सार्वजनिक पदधारी व्यक्तिदेखि व्यापार÷व्यवसायका मालिकलाई यो विषय अनौठो पनि लाग्न सक्छ । तर, लालचन्द्र राजभण्डारी भने यसलाई स्वाभाविक मान्नुहुन्छ ।

उहाँलाई बसिरहँदा त्यही कुर्ची प्रिय लाग्नेरहेछ । उहाँले महङ्गो र आरामदायी कुर्ची किन्न नसकेर कहाँ हो र ? न त उहाँ आर्थिकरुपमा मितव्ययी बन्न खोज्नुभएको हो । आर्थिकरुपमा समृद्ध परिवार भएपनि लालचन्द्रलाई त्यही पुरानो काठको कुर्चीको माया छ । उहाँलाई सबभन्दा आरामको अनुभूति त्यही कुर्चीमा बस्दा हुँदोरहेछ ।

“किन हो किन, यसमै बस्न ठीक लाग्छ”, उहाँले भन्नुभयो, “काठको कुर्चीमा न्यानो पनि हुने, सजिलो पनि ।” सामाजिक, राजनीतिक गतिविधिमा पनि सक्रिय राजभण्डारी साधारण तवरले जीवन व्यतित गर्न रुचाउनुहुन्छ । “म अलिक भिन्न विचार राख्ने खालको पनि छु, खरो स्वभावको”, राजभण्डारीले भन्नुभयो, “मेरो जीवनशैली सामान्य खालको छ, मलाई यस्तै रुच्छ ।”

तडकभडक गर्ने स्वभाव उहाँमा छैन । वाम विचारधारा राख्ने राजभण्डारी ‘सादा जीवन, उच्च विचार’को मान्यतामा सहमत हुनुहुन्छ । विसं २०२१ सालमा राजभण्डारीले बागलुङबजारमा पुस्तक पसल स्थापना गर्नुभएको थियो । उहाँ पञ्चायत विरोधी आन्दोलनमा पनि सक्रिय हुनुभएको थियो ।

‘पञ्चायती व्यवस्थाको विरोधमा सार्वजनिक ठाउँमा मन्तव्य दिएका कारण त्यसबेलाका अञ्चलाधीशले जिल्लाका अड्डा प्रमुखलाई लालचन्द्रको पसलबाट किताब, मसलन्द नकिन्नु भनेर आदेश दिए’, ७२ वर्षीय लालचन्द्रले आफ्नो विगत सम्झनुभयो । २०२४ सालतिर माक्र्स, माओ र लेनिनका पुस्तक लुकाई छिपाई पसलमा लिएर बेच्ने गरेको उहाँ बताउनुहुन्छ ।

व्यापारसँगै राजनीति र समाजसेवामा सक्रिय राजभण्डारीसँग २०३६ मा उद्योग वाणिज्य सङ्घको अध्यक्ष, २०२४ मा विद्यामन्दिर पुस्तकालयको अध्यक्ष, २०४९ को स्थानीय चुनावबाट निर्वाचित तत्कालीन कालिका गाविसको उपाध्यक्ष, २०४८ सालमा संयुक्त जनमोर्चाको उपाध्यक्ष भएर नेतृत्व प्रदान गरेको अनुभव पनि छ । रामबहादुर थापा/रासस

सबिनको उपचार र पढाई खर्च जुट्यो

जाजरकोट, ८ मङ्सिर । गत कात्तिक ८ गते भँैसीले कुल्चिएपछि खुट्टा भाँचिएका चार वर्षीय बालक सबिन केसीलाई उपचारका साथै पढाइ खर्च जुटेको छ ।

आमा दोस्रो बिहे गरेर गएकी र बाबुको मृत्यु भएका सक्ला–१ लैखम घर भई खगेनकोट–९ मङ्सिरीमा मावलीघरमा बस्दै आएका सबिनको विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचार आएपछि उपचारका लागि रकम जुटेको हो ।

सबिनको कहालिलाग्दो अवस्थाको समाचार पढेपछि हाल वैदेशिक रोजगारीमा रहेका डाँडागाउँ–७ चाउलेचौरका लक्ष्मण रसाइलीले विभिन्न माध्यमबाट सङ्कलन गरी कतारबाट रु ३१ हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

त्यस्तै, गोर्खाकी सरिता गुरुङले विभिन्न ठाउँबाट सङ्कलन गरी रु एक लाख ४७ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । सबिनको उपचार कार्य सम्पन्न गरी सिटिजन्स बैंकमा खाता खोली बाँकी रकम भावी दिनमा पढ्नका लागि राखिएको छ । आफैँ गरिब भई वैदेशिक रोजगारीमा रहेका रसाइलीले बाँकी रकम नेपाल आएर घरमै गई सबिनलाई हस्तान्तरण गर्ने बताएका छन् ।

यसरी जनसाधारणले रकम ठाउँठाउँबाट जुटाएर उपचार खर्च उपलब्ध गराउँदासम्म पनि राज्य भने कानमा तेल हालेर बसेको छ । रसाइलीले योभन्दा अगाडि रोल्पालगायत देशका विभिन्न ठाउँका २० जनाभन्दा बढी अलपत्र परेका युवालाई नेपाल फर्काउन रकम जुटाएर सहयोग गर्दै आएका छन् । रासस

सवारी चालक इजाजतपत्रका लागि निवेदन खुला

काठमाडौँ, ८ मङ्सिर । यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ ।

बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो । नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो ।

गत असोज ११ गतेको राजपत्रमा केही नियमावली संशोधन भएकाले विभागले नयाँ निवेदन रोकेकोमा आजदेखि नयाँ नियमअनुसार निवेदन खुला गरिएको विभागका निर्देशक निरन्जन रिजालले जानकारी दिनुभयो ।

सवारी चालक इजाजतपत्र लिन चाहने सेवाग्राहीले एकपटक लिखित परीक्षा फेल भएमा तीन महिनासम्म परीक्षण (ट्रायल) परीक्षा दिन नपाउने व्यवस्था गरिएकोमा त्यसलाई नियमावली संशोधन गरी एकपटक लिखित परीक्षा उत्तीर्ण भएकाले तीनपटकसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

पुराना निवेदकले दिएको निवेदनको काम कारबाही भने सुचारु भइरहेको थियो । रासस

कर्मचारी सङ्गठनको दशौँ अधिवेशन नेपालगन्जमा

काठमाडौँ, ८ मङ्सिर । नेपाल निजामती कर्मचारी सङ्गठनको दशाँै राष्ट्रिय अधिवेशन मङ्सिर २७ देखि नेपालगन्जमा हुने भएको छ ।

तीन दिनसम्म नेपालगन्जमा हुने अधिवेशनको सबै तयारी पूरा भएको सङ्गठनका सदस्य गगनबहादुर विकले जानकारी गराउनुभयो । उहाँका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष मानबहादुर विष्टको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न १५ उपसमिति गठन गरिएको छ ।

‘सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ हुन भइरहेको अधिवेशनले तीनवर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने सदस्य विकले बताउनुभयो ।

नयाँ कार्यसमितिमा समावेशीसहित १० उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव र एक÷एक कोषाध्यक्ष र सहकोषाध्यक्ष चयन गरिनेछ ।

अधिवेशनको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । सङ्गठनमा अहिले ४० हजार कर्मचारी सहभागी रहेका बताइएको छ । रासस

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

गुल्मी, ७ मङ्सिर ७ । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् ।

पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए ।

कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन् । मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

‘प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनकोे मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भन्नुभयो, ‘अहिले १३ वर्षकी सङ्गिता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन् ।

गाउँलेकै सल्लाहअनुसार श्रीमान्लाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो । आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उहाँले बताउनुभयो ।
उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्नको लागि आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस– ९ का विश्व भुसालले बताउनुभयो ।

दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् । आर्थिक अभावकाकारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल प¥याइए पनि बढि खर्च लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन् ।
अहिले ती छोरीहरुको अध्ययनमा सहयोग पु¥याउन रकम सङ्कलन गरिरहेकाले सहयोग गर्न आग्रह गर्दै शिक्षक कुँबरले भन्नुभयो– ‘‘मेरै नेतृत्वमा सहयोग सङ्कलनको काम गरिरहेका छाँ र केही रकम सङ्कलन पनि भएको छ ।’’ रासस

भाषा आयोगबाट सुझाव लिन थालनी

काठमाडौँ, ७ मङ्सिर । भाषा आयोगले आफ्नो कार्यक्षेत्र र भावी योजनाका सम्बन्धमा सरोकार भएकाहरुको सुझाव लिन थालेको छ ।

नेपालको संविधानको धारा २८७ बमोजिम गत भदौ २३ मा गठित सो आयोगले आज पहिलो औपचारिक कार्यक्रम गरी विभिन्न भाषाभाषीका विज्ञ तथा ‘गोरखापत्र’ दैनिकको मातृभाषाका पृष्ठ संयोजकसँग छलफल गरेको हो ।

आयोगका अध्यक्ष डा लवदेव अवस्थीले संविधानको व्यवस्था बमोजिम एक वर्षभित्र वैज्ञानिक विश्लेषण गरी कामकाजी भाषाको यकिन गरिने बताउँदै त्यसपूर्व कामकाजी भाषाको मान्यता पाउने आधार तयार गरिने जानकारी दिनुभयो ।

नेपालमा बोलिने सबै भाषाको स्थान सुरक्षित गर्ने काममा आफूहरु योजनाबद्ध रुपमा लाग्ने उहाँले बताउनुभयो । छवर्षीय कार्यकाल रहेको सो आयोगमा सदस्य भने नियुक्त भएका छैनन् । संविधानमा प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी सात सदस्यीय आयोग गठनको व्यवस्था छ ।

भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले राष्ट्रिय जनगणनाको तथ्याङ्कमा पूर्ण सत्यता नरहेको बताउँदै कम्तीमा ६०÷७० प्रतिशतले बोल्ने भाषालाई मात्र कामकाजी भाषाको मान्यता दिन सुझाव दिनुभयो ।

हाल सात कर्मचारीलाई काजमा लिएर सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पर्क कार्यालय राखेको आयोगले आफ्नै कार्यालय भवनका लागि सार्वजनिक सूचना प्रकाशन गरेको आयोगका उपसचिव गणेशप्रसाद भट्टराई जानकारी दिनुभयो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts