Monday, November 21, 2016

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध शताब्दीऔँ पुरानोः उपराष्ट्रपति पुन

काठमाडौँ, ६ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध शताब्दीऔँ पुरानो भएको बताउनुभएको छ ।

उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटका लागि उपराष्ट्रपति कार्यालय बहादुर भवन पुग्नुभएका नेपालका लागि चिनियाँ राजदूत यु होङसँग उहाँले दौत्य सम्बन्ध स्थापना भएको ६१ वर्ष मात्रै पुगेको भए पनि दुई देशबीचको मैत्री सम्बन्ध शताब्दीऔँ पुरानो भएको बताउनुभएको हो ।

नेपाल र चीन घनिष्ठ छिमेकी राष्ट्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो –‘मञ्जुश्री, भृकुटी, अरनिको, ह्वेन साङ तथा फा स्यानलगायत अन्य ऐतिहासिक विभूतिले सुरु गरेका दुई देशबीचको सम्बन्ध अहिले नङ र मासुको रुपमा विकसित भएको छ ।’

उपराष्ट्रपति पुनले नेपाल सधँै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको, नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने नेपाल सरकारको नीति रहेको बताउँदै नेपालका सबै राजनीतिक पार्टीका शीर्ष नेता एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको भन्नुभयो ।

चीन विरोधी गतिविधि रोक्न नेपालले जस्तो सुकै कदम चाल्ने पनि उहाँले बताउनुभयो ।

उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले पठाउनुएको औपचारिक निमन्त्रणा पत्र चीनका उपप्रधानमन्त्री वाङ याङमार्फत हस्तान्तरण गरेको स्मरण गराउँदै नेपाली जनता चीनका राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको छ भन्नुभयो ।

चीनले लिएको ‘वान वेल्ट वान रोड’को नीतिप्रति नेपालको समर्थन रहेको बताउँदै उहाँले भन्नुभयो – ‘वान बेल्ट वान रोडको कार्यक्रमबाट नेपालले पनि फाइदा लिनेतर्फ ध्यान दिनुपर्दछ ।’
उपराष्ट्रपति पुनले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दै नेपालमा लगानी गर्नका लागि राजदूतमार्फत चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो ।

भूकम्पपछि अवरुद्ध तातोपानी नाका सञ्चालन गर्न चीनको ध्यानाकर्षण गराउँदै उहाँले राजदूत होङको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने अपेक्षासहित कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

सो अबसरमा नेपालका लागि चिनियाँ राजदूत होङले नेपाल र चीन घनिष्ठ छिमेकी देश रहेको भन्दै चीन सरकार र चिनियाँ जनताले नेपाललाई सधैँ उच्च महत्व दिने गरेको बताउनुभयो ।

राजदूत होङले चीन र नेपाल रणनीतिक साझेदारीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुकले दक्षिण एसियाली मुलुकसँगको सहकार्यलाई बढाइरहेको छ भन्नुभयो ।

एक चीन नीतिप्रतिकोे प्रतिबद्धता कार्यान्वयन गरिरहेकामा नेपाललाई धन्यवाद व्यक्त गर्दै उहाँले ब्रिक्स सम्मेलनको क्रममा चीनका राष्ट्रपति सि जिन पिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीचको भेटमा राष्ट्रपति सीले अनुकूल समय मिलाएर नेपालको भ्रमण गर्ने बताउनुभएकाले आफूले जतिसक्दो चाडो उहाँको भ्रमण गराउन प्रयास गर्ने बताउनुभयो ।

राजदूत होङले नेपालमा विदेशी लगानीका लागि वातावरण बन्दै गएको बताउँदै चीन सरकारले निजी क्षेत्रलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको छ भन्नुभयो । तातोपानी नाका खोल्नका लागि अध्ययन भइरहेकोसमेत उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts