Sunday, December 4, 2016

एक पल्ट पाइला राख्नैपर्ने पनौतीमा कविताका स्वर

पनौती, १९ मङ्सिर । समकालीन नेपाली कविताहरुले राजनीतिक क्षेत्रमा चुलिएको विकृतिविसङ्गतिमाथि नै प्रहार गरेको पाइएको छ ।
जनसाहित्यिक मञ्च नेपाल, साहित्य सन्ध्या र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘समकालीन नेपाली कवितामा परिवर्तनको स्वर’ विषयमा आयोजित विचारगोष्ठीमा कार्यपत्र प्रस्तुतकर्ता र टिप्पणीकारहरुले सामाजिक, सांस्कृतिक, औद्योगिक तथा शैक्षिक क्षेत्र मानवीय मूल्यमान्यता नै समाप्त पारिएको बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै प्रा केशव सुवेदीले नेपाली कवितामा राष्ट्रियता र नेपाली जातीयताको सुरक्षाका लागि प्रशस्त चिन्ता व्यक्त भएको बताउनुभयो । टिप्पणीकार डा जगदीशचन्द्र भण्डारीले नेपाली प्रजातन्त्र र गणतन्त्र नै ‘सुगरकोटेड’ (चिनीको लेपन) र साहित्य, कलाका विषय नै जंक(पत्रु)भइसकेको विचार व्यक्त गर्नुभयो । टिप्पणीकार डा नारायण चालिसेले नेपाली कवितामा परिवर्तनको स्वर उचाल्ने धेरै युवाको योगदानलाई बिर्सन नमिल्ने बताउनुभयो ।
सो अवसरमा प्रज्ञा–प्रतिष्ठान, काव्य विभाग प्रमुख डा अमर गिरीले पुँजीवादअनुकूल नेपाली साहित्यलाई ढाल्ने प्रयत्न भइरहेको तथा साहित्यमा वैचारिक अस्पष्टता पनि विकास भइरहेकामा चिन्ता व्यक्त गर्दैै स्रष्टाहरुले राष्ट्रियता र जनतन्त्रका विचारलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिनुभयो ।
दर्शनशास्त्री विष्णु प्रभातले वादबिनाको विचार कहीँ नहुने बताउनुभयो भने वासुदेव अधिकारीले ‘गुगलब्वाइ’ कवितामार्फत हाम्रो राष्ट्रियता हराउँदै गई आयातीत विचार हाबी भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय कविगायक मच्छेश्वर सापकोटाले अवसरवादी प्रवृृतिलाई लोकगीतमार्फत व्यङ््ग्य प्रहार गर्नुभयो । रामकृष्ण श्रेष्ठ, सन्तोष ताम्राकार, छवि श्रेष्ठ, मीरा पौडेल, मनोज अधिकारी, समर्पणश्री, ललिता अधिकारी, निर्भीकजङ्ग शाही, तुयुकाजी ताम्राकारले सत्तामोह, अझै पनि सहिद बन्न बाध्य परिस्थिति, आमाको गुनासो, सक्कलीभन्दा नक्कलेहरुको दबदबालाई उजागर गर्नुभयो । कवि लक्ष्मण सापकोटाले आफूलाई हिमाल आरोही कवि भनी चिनाउँदै पनौतीको पौराणिक–सांस्कृतिक–भौगोलिक स्थितिको चित्रण गर्नुभयो । कवि तुयुकाजीले पलाँतीबाट पनौती अपभ्रंश भएको र पलाँतीको अर्थ जीवनमा एकपल्ट पाइला राख्नैपर्ने स्थान भएको जानकारी दिनुभयो ।
कवि जगन्नाथ आचार्यले युद्धप्रसाद मिश्र र मदन भण्डारीका कविताका साथै आफ्नो कविताबाट नयाँ संविधानलाई कार्यान्वयन गरी देशलाई समृद्ध र अखण्ड बनाउनुपर्ने भाव प्रकट गर्नुभयो ।
मञ्चका अध्यक्ष राम विनय, उपाध्यक्ष रमेश पोखरेल र महासचिव विनोद मञ्जनले काभ्रेपलाञ्चोक साहित्यको उर्वरभूमि भएको बताउँदै आफ्नो संस्था काठमाडौँबाहिर पनि उपस्थित भई जनजागरण फैलाउन सक्रिय रहेको जानकारी दिनुभयो । पनौती शची तीर्थ, त्रिवेणीघाट, गोरखनाथ र मानेश्वरीको मन्दिर, नमोबुद्ध, बाह्रबर्से मकरमेला, योमरीको प्रादुर्भाव, हरिया फाँट, सुृन्तला आदिले बढी चिनिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts