काठमाडौँ, २५ मङ्सिर । नेपालमा हालसम्म १२ जिल्लामा मात्र पाइने भनिएको लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक हालै गरिएको एक अध्ययनपछि ४३ जिल्लामा भेटिएको छ ।
वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्व एवम् ‘युएसएआइडी, हरियो वन’ कार्यक्रमको सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रले गरेको ‘राष्ट्रिय सालक सर्वेक्षण’ पछि सो तथ्याङ्क सार्वजनिक भएको हो ।
सालक नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन सक्छ । यसले आफूलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुडुल्किएर भकुन्डो जस्तै डल्लो पर्छ ।
नेपालमै पहिलो पटक राष्ट्रियस्तरमा गरिएको ‘राष्ट्रिय सालक सर्वेक्षण’ सँगै सालकको संरक्षणका लागि कार्ययोजना पनि बनाइने विश्व वन्यजन्तु कोष नेपाल, हरियो वन कार्यक्रमका जैविक विविधता संरक्षण संयोजक डा शान्तराज ज्ञवालील बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “नेपालका संरक्षित वन क्षेत्रका भन्दा बाहिर पाइने सालकको अवस्था बढी सङ्कटमा रहेकाले त्यहाँ संरक्षणको बढी आवश्यकता छ । अब छिट्टै सालकको सङ्ख्याका बारेमा थप अध्ययन अनुसन्धान गर्ने योजना छ ।” नेपालमा हालसम्म सालकको सङ्ख्याका बारेमा कुनै अध्ययन भएको छैन ।
सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि राति मात्र क्रियाशील हुन्छ । सालक विश्वमै बढी चोरी सिकार हुने प्राणीमध्येको एक हो । नेपालबाट सालक तस्करीका लागि चीन र भियतनाम सबैभन्दा बढी गन्तव्य हुन् । विश्वभर आठ जातिका सालक पाइन्छन् । दुई हजार पाँच सय मि उचाइसम्मको जङ्गलमा भेटिने सालकको दाँत हुँदैन तर ६० देखि ७० सेमीसम्म फैलने यसले जिब्राले प्रायः धमिरा र कमिला खान्छ ।
सालक अनुसन्धानमा क्रियाशील साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष तुलसीलक्ष्मी सुवालका अनुसार नेपालमा कालो सालक र तामे सालक पाइन्छन् । अनुसन्धानका क्रममा सालक संरक्षणमा विभिन्न जिल्लामा देखिएका चुनौती समेत सार्वजनिक गरिएको छ ।
अध्यक्ष सुवाल भन्नुहुन्छ “नेपालमा सालक संरक्षणका लागि चोरी सिकार, जनचेतनाको कमी, वन डढेलो, वन क्षेत्रमा हुने भौतिक पूर्वाधार निर्माण, विषादी खाएर मरेका किरा खानाले हुने मृत्यु प्रमुख चुनौती देखिएको छ ।”
चोरी सिकारका साथै नेपालका विभिन्न स्थानमा रहेका अन्धविश्वासका कारण पनि सालकको सिकार हुने गरेको छ । कतिपय स्थानमा सालक देखिए अपशकुन हुन्छ भन्ने मानसिकता छ । कतिपय स्थानमा यसको मासु खाए दीर्घरोग निको हुने र कहीँ सालकको मासु खाए सुत्केरीको साल छिटो झर्छ भन्ने अन्धविश्वास छ । त्रिवि प्राणी शास्त्रका प्रा करनबहादुर शाहका अनुसार उक्त अन्धविश्वासमा कुनै सत्यता छैन ।
कालो सालकको पोथीले एक सय २० दिनदेखि एक सय ५० दिनसम्ममा बच्चा जन्माउँछ भने तामे सालकको समागम भएको करिब ७० देखि ७५ दिनमा बच्चा जन्मिन्छ । प्रायःजसो एउटै र कहिलेकाहीँ मात्र दुई बच्चा जन्मछन् । सामान्यतः एउटा सालकको तौलमा २० प्रतिशत भाग खपटा हुन्छ । एउटा सात किलोको सालकबाट १.४ किलो खपटा निस्कन्छ ।
प्रा शाह भन्नुुहुन्छ, “सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई हानिनोक्सानी गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ । एउटा वयस्क सालकले एक वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने विश्वास गरिन्छ । यसले आफ्नो आहारा खोज्ने क्रममा माटो खोस्रेर गोडमेल र उर्वर बनाउने काम समेत गर्छ ।”
विदेशमा सालकलाई घर, रेस्टुराँ वा बगैँचामा पाल्नका लागि जिउँदै तस्करी गरिन्छ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ । औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधिका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन् ।
सालककै खपटाबाट बनाइएको ज्याकेट र झोलाजस्ता सामग्री प्रयोग सम्भ्रान्त वर्गबीच प्रतिष्ठाको विषय मानिँदै आएको छ । सरकारले बाघ, गैँडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकताका साथ अघि सारेको वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य बताउनुहुन्छ । “राष्ट्रिय निकुञ्ज बाहिरका वन क्षेत्रमा सालक संरक्षणका लागि केही जिल्लामा यसै वर्षदेखि कार्यक्रम सुरु गरेका छौँ”, उहाँ भन्नुहुन्छ ।
मुलुकका विभिन्न जिल्लाबाट बर्सेनि काठमाडौँ उपत्यकालाई केन्द्र बनाई ठूलो सङ्ख्यामा सालक र सालकको खपटाको चीनतर्फ तस्करी हुने गरेको तथ्याङ्क छ । उहाँका अनुसार सालक मार्ने र चोरी सिकार गर्नेलाई रु एक लाख जरिवाना र कारागार सजायको कडा कानुनी कारबाहीको व्यवस्था छ । भीष्मराज ओझा/रासस
No comments:
Post a Comment