Monday, December 26, 2016

अत्याधुनिक आठ थान हतियारसहित दुई व्यक्ति पक्राउ

जुम्ला, १२ पुस । गत मङ्सिर ११ गते चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थान अत्याधुनिक हातहतियार बरामद गरेको हो । बरामद गरिएका हतियार सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने, प्रमुख अनुसन्धान अधिकृत जीवन खड्का, वकिल दिलबहादुर महत र जुम्लाका पत्रकार सञ्चारकर्मीको रोहवरमा सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा गज्र्याङ्कोट–८ का वेदनराज थापा र उनका सहोदर दाइ कमलराज थापा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो ।

एकसाता अघि वेदनराज थापालाई सुराकी आधारमा काठमाडौँबाट पक्राउ गरी जुम्ला ल्याइएको र आइतबार मात्र उम्कने क्रममा उनका सहोदर दाइ कमलराज थापालाई नेपालगन्जमै पक्राउ गरी त्यहीबाट अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।

पक्राउ परेका दुवैबाट लिएको जानकारी अनुसार सामान्य मान्छेलाई थाहा नहुने गरी गज्र्याङ्कोट गाविस–८ स्थित खर्क, ओडार, खेतको कान्ला, कोप्चा र माटोमा लुकाइएको अवस्थामा हतियार बरामद भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार थप दुई थान म्याग्जिनसहित बिएन ६४६५÷२९६७ नं भएका अर्ध–स्वचालित एसएलआर दुई थान, प्लास्टिकको डब्बामा राखिएको एसएलआर हतियारमा प्रयोग हुने गोली २५ थान, ३०३ राइफलमा प्रयोग हुने गोली दुई थान, तीन राउन्ड गोलीसहित इन्डियन आर्मी कोर्ड नं १००० सि प्लस एलएसटी १.६५ एमएन अटोमेटिक पेस्तोल एक थान, नम्बर स्पष्ट नदेखिने हेर्दा त्यही कम्पनी जस्तो लाग्ने स्वचालित पेस्तोल एक थान, नम्बर नभएको पाँच वटा गोली प्रयोग हुने रिभल्वर (सिक्सर) एक थान, त्यसैको गोली राउन्ड पाँच थान, नम्बर नभएको छ वटा गोली प्रयोग हुने रिभल्वर थान एक, कटुवा पेस्तोल थान दुई, केप र फ्यूजसहितको डेटोनेटर सात थान, र पेस्तोल सफा गर्ने गज (रड) एक थान बरामद गरिएको छ ।
बरामद गरिएका हातहतियार द्वन्द्वकालमा लुटिएका हुनसक्ने भन्दै यसमा संलग्न व्यक्ति विशुद्ध अपराधी मनोवृत्तिका रहेको जिप्रका जुम्लाले जनाएको छ । पक्राउ परेका थापा दाजुभाइ अनुसन्धानको क्रममा दोषी ठहरिए हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts