पोखरा, ५ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७३ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट पाँचसय ४२ जना खेलाडी सहभागी हुने भएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा आज यहाँ आयोजित छनोटमा परेका खेलाडीको बिदाइ एवम् पत्रकार भेटघाट कार्यक्रममा समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले यस क्षेत्रबाट विभिन्न ३० वटा खेलमा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो ।
उहाँका अनुसार पुस ८ देखि १५ गतेसम्म विराटनगरमा हुने प्रतियोगितामा खेलाडीको अतिरिक्त टोली प्रशिक्षक र व्यवस्थापक गरी कुल एकसय छजनाको सहभागिता हुनेछ । आज पोखरा रङ्गशालामा आयोजित एक समारोहबीच व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई बिदाइ गर्नुभएको थियो ।
फुटबलका अन्तर्राष्ट्रिय खेलाडी अनिल गुरुङलाई पश्चिमाञ्चल विकास क्षेत्रको झन्डा र भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अधिकारीले खेलाडी अनुशासन र लगनशील भएमा सफलता हासिल गर्न सकिनेमा जोड दिनुभयो ।
पोखराको खेल क्षेत्रमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले पोखरालाई खेलकुद पर्यटकीय सहरका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले राज्यले खेलाडीलाई भविष्यप्रति चिन्ता नभई खेलप्रति समर्पित हुने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment