Tuesday, January 31, 2017

पुथा र उत्तरगङ्गा गाउँपालिका जोडिएकोमा विरोध

रुकुम, १८ माघ । स्थानीय तह पुनःसंरचना सहयोग समिति र जिल्लामा रहेका राजनीतिक दलको सहमतिअनुसार बनाएका गाउँपालिका काटिएको भन्दै पूर्वी रुकुमका तीन गाविसका स्थानीय आन्दोलित भएका छन् ।

प्राविधिक सहयोग समिति र राजनीतिक दलको सहमतिमा बनाएको पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिकालाई आयोगले एउटै गाउँपालिका बनाएपछि स्थानीय सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् ।

पूर्वी रुकुमका रन्ममैकोट, हुकाम र जाङका ८ र ९ नम्बर वडालाई मिलाएर पुथा गाउँपालिका बनाइएको थियो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिका एउटै बनाएर पुथा उत्तरगङ्गा गाउँपालिका बनाएको भन्दै सङ्घर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक समितिले बनाएको भन्दा आयोगले फरक बनाएर आफूहरुलाई अन्याय गरेको सङ्घर्ष समितिका संयोजक केशरमान रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको लागि पर्याप्त आधार हुँदाहुँदै पनि आयोगको कार्यविधि र मापदण्डविपरीत दुईवटा गाउँपालिकालाई जोडेर एउटै बनाएर ठूलो अन्याय गरेको सङ्घर्ष समितिका संयोजक रोकाको भनाइ छ ।

स्थानीय तह पुनःसंरचना आयोगले सरकारले प्रतिवेदन बुझाएसँगै यसरी दिनप्रतिदिन आन्दोलन चर्कन थालेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts