Wednesday, January 18, 2017

‘त्रिपक्षीय सहयोगका निम्ति पारस्परिक विश्वास अपरिहार्य’

काठमाडौँ, ५ माघ । नेपाल, चीन र भारतबीचको त्रिपक्षीय सहयोग एवम् सहकार्यका लागि पारस्परिक विश्वास अपरिहार्य भएको नेपाल र चीनका विद्वत् वर्गले बताएका छन् ।

चिनियाँ समाचार समिति (सिन्ह्वा) र चीनको हुवेइ विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रले यहाँ आयोजना गरेको दुईदिने ‘चीन–नेपाल विद्वत् समूह सम्मेलन’ को दोस्रो दिनको छलफलमा उनीहरुले आपसी विश्वास र साझेदारी प्रवद्र्धनमा जोड दिएका हुन् ।

नेपाल–चीन सम्बन्ध र ‘एक क्षेत्र, एक मार्ग’ अवधारणाप्रति कार्यपत्र प्रस्तुत गर्दै सिचुवान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रका प्रा ली ताओले राष्ट्रपति सी चिनफिङले प्रतिपादन गरेको सो अवधारणाबाट नेपाललाई पाँच क्षेत्रमा फाइदा हुने बताउनुभयो । चीन र दक्षिण एसियालाई सडक यातायात सञ्जालबाट जोड्न सकिने नेपालको भौगोलिक अवस्थिति, धार्मिक एवम् सांस्कृतिक आदानप्रदान तथा जनता–जनताबीचको सम्पर्क विस्तारका निम्ति नेपाल केन्द्रविन्दु बन्न सक्ने वास्तविकता औँल्याउँदै उहाँले नेपालको अपार प्राकृतिक सम्पदा र स्रोतको उपयोग आर्थिक विकासका लागि गर्न सकिने बताउनुभयो । समानता, मेलमिलाप, सबै पक्षलाई मान्य हुने र कसैले पनि असन्तुष्ट हुनु नपर्ने सो अवधारणालाई शक्ति सन्तुलनमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउँदै उहाँले चीन र भारतबीच राजनीतिकस्तरको अविश्वास घटाउन समदूरीको कूटनीतिक प्रयास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

पूर्वमहान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले नेपाललाई कसैको क्रिडास्थलका रुपमा विकसित हुन नदिन चीनको सहयोग आवश्यक भएको बताउँदै नेपालको आर्थिक, सामाजिक, विकासका साथै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोगको मात्रामा थप वृद्धि हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वसचिव तुलसीप्रसाद सिटौलाले राजनीतिक दल, नागरिक समाज र देशका सबै वर्ग आआफ्ना स्थानबाट राष्ट्र निर्माणमा समर्पित हुनैपर्ने बताउनुभयो । “दश वर्षमा १८ हजार किलोमिटर दु्रतमार्ग निर्माण गर्न सफल चीनबाट हामीले सिक्नैपर्छ”– दिगो विकासका लक्ष्य हासिल गर्न पूर्वाधारको महत्व र उत्तरी छिमेकीले गरेको प्रगतिको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो ।

भौतिक विकासका जानकार सूर्यराज आचार्यले ‘एक क्षेत्र एक मार्ग’का सम्बन्धमा चीनले भारतका कूटनीतिक वर्गसँग नभई इन्जिनियरसँगको छलफल गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा अधिकांश वक्ता र कार्यपत्र प्रस्तोताले चीन, नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहे पनि कुनै विषयमा भारतसँग मतभिन्नता रहेकाले एक क्षेत्र एक मार्गको अवधारणाले नेपाल र भारतमा अपेक्षित गति लिन नसकेको बताए ।
चिनियाँ पक्षले ‘भारतसँग सीमा विवाद र निर्वासित धर्मगुरु दलाइ लामाका कारण सधैँ सुमधुर सम्बन्ध कायम हुन नसके पनि’ द्विपक्षीय सम्बन्धमा क्रमशः सुधार आएको बतायो । “भविष्यमा हाम्रो भारतसँगको सम्बन्ध अझ सुदृढ एवम् सुमधुर हुनेमा हामी विश्वस्त छौँ” भन्दै चिनियाँ पक्षले दक्षिण एसियाका सबै आठ राष्ट्रसँग सहकार्य र साझेदारीका साथ यस क्षेत्रका जनताको बृहत्तर हितमा काम गर्न चाहेको स्पष्ट ग¥यो ।
भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमण र राष्ट्रपति सीको भारत भ्रमण तथा अन्तर्राष्ट्रिय एवम् बहुपक्षीय मञ्चमा भएका भारत र चीनका नेताका भेटवार्ता एवं छलफलले दुई मुलुक आपसी मनोमालिन्य त्यागेर मैत्रीतर्फ उन्मुख भएको पनि चिनियाँ विद्वत् वर्गले बताएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts