Monday, January 23, 2017

विद्युत् चोरीमा संलग्न समातिन्छन् : मन्त्री शर्मा

काठमाडौँ, १० माघ । ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चोरीमा सङ्लग्नलाई नियन्त्रणमा लिने क्रम सुरु भइसकेको बताउनुभएको छ ।

पानी, प्रकृति एवम् कृषिको क्षेत्रमा काम गर्दै आएको ‘अष्ट ज’ अभियानले आज यहाँ आयोजना गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “मुलुकलाई अन्धकारमा राख्ने तर केही सिमित व्यक्ति मोटाउने भन्ने कुरा हुन सक्दैन् ।”

मन्त्री शर्माले “हाल विद्युत् प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोर एक÷एक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिदैन” भन्दै “प्राधिकरणभित्रका चोरहरुको साइनो अन्तै जोडिएको छ, त्यो क्रमशः पत्ता लाग्दै गएको बताउनुभयो ।”

“बिजुलीको मिटर बटारेर कमिसन असुल्ने प्राधिकरण भित्रका भ्रष्टलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पारिने उल्लेख गर्दै उहाँले भन्नुभयो– जलविद्युत आयोजनाको अध्ययन गर्ने समय अवधिलाई घटाउने गरी काम भइरहेको छ ।”

मन्त्री शर्माले सम्भाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डिपिआर तयार गर्न पाँच वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना ?” बताउँदै “यस्ता खालका विज्ञ र इन्जिनियरबाट देशको विकास सम्भव छैन, यसलाई सच्याउनै पर्छ भन्नुभयो ।”

नेपाल र नेपाली जनतासँग पैसा छैन भन्ने भ्रम हटाउन ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम ल्याइएको बताउँदै उहाँले अनलाइन आवदेनबाट मात्रै दश दिनभित्र रु दुई अर्ब ५४ करोडको लगानी प्रतिबद्धता आइसकेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले रु ३० अर्बको प्रतिबद्धता आउनासाथ कुनै नाफामूलक आयोजना सुरु गर्ने सोचाई रहेको बताउँदै नेपालमा उत्पादित बिजुली कहाँ बेच्ने भनेर कतिपय विज्ञले आफूलाई हैरान पारिसकेको र यस्ता खाले ‘केटौले चिन्तन’ले देशको उन्नति हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

दश हजार मेगावाट बिजुली अहिले नै स्वदेशमा खपत हुनसक्ने आधार रहेको बताउँदै उहाँले विद्युत् खपतको नभई उत्पादनको चिन्ता गर्न विज्ञलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले तीव्र गतिमा काम गर्ने हो भने नेपाल १५ वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणका आधार जलविद्युत नै भएको स्पष्ट पार्नुभयो ।

राजनीतिक नेतृत्वले दृढ सङ्कल्प गरेर योजना बनाउने हो भने डेढ दशकमै नेपाल विकसित मुलुकमा रुपान्तरण हुन सक्छ, उहाँले भन्नुभयो– नेपालको पानी, जनताको लगानी नामक कार्यक्रम ‘फास्ट ट्र्याक’बाट मुलुकको विकास गर्न सकिन्छ ।

कार्यक्रममा अष्ट ज अभियानमा संयोजक लोककृष्ण भट्टराईले नेपालको आर्थिक समृद्धिका लागि जलविद्युत्को विकास नै उत्तम विकल्प भएको उल्लेख गर्दै सबैको सार्थक सहयोग र पहलको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा जलस्रोत क्षेत्रका जानकारले नेपालको पानी, जनताको लगानी अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो ।

चोरीमा संलग्नलाई कडा कारबाही गर्न माग

विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कारबाहीको दायरा अगाडि बढाइएकोमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ तथा सङ्गठन यसको स्वागत गरेका छन् ।

महानगरीय प्रहरी प्रभावले विद्युत् चोरीमा संलग्न १६ जनालाई आइतबार पक्राउ गरेपछि नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा कर्मचारी युनियनले यसको स्वागत गरेको हो ।

प्राधिकरणका कर्मचारीको मिलेमतोमा नै विद्युत् चोरी हुने गरेको तथ्यलाई पुष्टि हुने गरी महानगरीय प्रहरीले आइतबार मात्रै विभिन्न वितरण केन्द्रका कार्यरत कर्मचारीलाई पक्राउ गरेको थियो ।

नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव माधव अधिकारीले प्राधिकरणकै कर्मचारी विद्युत् चोरीमा संलग्न हुनु अक्षम्य अपराध भएकाले कडा कारबाही गर्न र थप अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

उहाँले संस्थालाई हानिनोक्सानी गर्नेलाई कारबाही गरे मात्रै प्राधिकरणको आर्थिक स्वास्थ्य राम्रो हुने र त्यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले विद्युत् चोरीमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिएको विषय स्वागतयोग्य रहेको बताउनुभयो ।

उहाँले मुलुकका अन्य सहरी तथा औद्योगिक क्षेत्रमा समेत आफ्नो स्वार्थ पूर्तिका लागि संस्थालाई घाटा पु¥याउन उद्यत तत्वहरु हुनसक्ने भएकाले त्यसको खोजी गरी कारबाही गर्न र प्राधिकरणको हित, उन्नति र प्रगतिमा बाधक रहेको तत्वलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएका प्राधिकरणका कर्मचारी विभिन्न टे«ड युनियनमा आबद्ध रहेको पाइएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts