काठमाडौँ, १० माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सरकारी वकिलले सरकारलाई सहयोग नगरी आन्दोलन गर्नु शोभनीय नभएको बताउनुभएको छ ।
रिपोटर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो –“समावेशी र सामानुपातिक आधारमा न्यायपरिषद्ले ८० न्यायाधीश नियुक्त गरेका छन्, त्यसैले यसको विरोध गर्नुको औचित्य छैन् ।”
मन्त्री नायकले नियुक्तिभएका अस्सी न्यायाधीशमध्ये चार जना सरकारी वकिलबाट पनि समावेश भएको जानकारी गराउँदै सकेसम्म यसलाई समावेशी र समानुपातिक बनाउने कोसिस गरेका छौँ भन्नुभयो ।
सरकारी वकिललाई राज्यप्रतिको दायित्व मनन गरी काममा फर्कन उहाँले आग्रह पनि गर्नुभयो ।
नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारी वकिल आन्दोलनमा उत्रनु जायज नभएको तर्क गर्दै संसारमा कतै पनि सरकारका कानुनी सल्लाहकार सरकारविरुद्व आन्दोलनमा गएको इतिहास नभएको बताउनुभयो ।
“यो सरकारी वकिलले गरेको विरोध होइन, महान्यायधिवक्ताको नेतृत्वमा भइरहेको छ, यो उचित होइन, उहाँले भन्नुभयो– आन्दोलनमा ट्रेड युनियनको पनि संलग्नता छ भन्ने कुरा आएको छ तर टे«ड युनियन भनेको थर्ड क्लास अफिसरको सङ्गठन हो, उच्च अदालतको न्यायाधीश नियुक्तिको विरोधमा उत्रन मिल्दैन, यो संविधान र कानुनले पनि दिँदैन, यो हास्यस्पद र लज्जास्पद कुरा मात्र हो ।”
सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले उच्च अदालतमा गरिएको ८० न्यायाधीशको नियुक्ति समानुपातिक र समानताका आधारमा नभएकाले बाध्यभएर विरोध गरेको बताउनुभयो ।
सरकारी वकिल समाजका सचिव सञ्जीव रेग्मीले नियुक्ति पुनर्विचार गर्नुपर्ने र आगामी दिनमा सरकारी वकिललाई पन्छाइँदैन भनी सरकारले प्रतिबद्धता गर्नुपर्ने माग गर्नुभयो ।
नेपाल बार एसोसियसनका उपाध्यक्ष मोतिराज गौतमले सरकारी वकिलको आन्दोलनमा बारको समर्थन रहेको बताउनुभयो । बारले यसअघि नै विज्ञप्तिमार्फत नियुक्ति निर्णयको विरोध गरिसकेको छ ।
महान्यायाधिवक्ता कार्यालयको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिका अध्यक्ष गजराज घिमिरेले न्यायाधीश नियुक्तिले एक हजार ३१० जना कर्मचारीको अपमान हुने गरी निर्णय गरिएकाले निर्णय पुनर्विचार नगरिएसम्म इजलासमा नजाने बताउनुभयो ।
महान्यायाधिवक्ता कार्यालयमा रहेका विभिन्न चार वटा ट्रेड युनियनको आह्वानमा सरकारी वकिलले ८० न्यायाधीश नियुक्तिको विरोधमा आइतबारबाट सर्वोच्च अदालतसहित देशभरका अदालतमा इजलासमा नगई आन्दोलन थालेका हुन् । रासस
No comments:
Post a Comment