Wednesday, February 15, 2017

मार्च ३ मा सुनुवाइ दिवस मनाइने

काठमाडाँै, ४ फागुन । सरकारले बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्न मार्च ३ (फागुन २०) सुनुवाइ दिवसका रुपमा मनाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको राष्ट्रिय बहिरोपन नियन्त्रण कार्यक्रमका फोकल पर्सन तथा वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्रा डा ढुण्डीराज पौड्यालले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मार्च ३ मा यो दिवस मनाइँदै आइएको भए पनि नेपालमा भने यसै वर्षदेखि मनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “हाम्रो जस्तो देशमा सङ्क्रमणका कारणले बहिरोपन हुने गरेको देखिए पनि पछिल्लो समय अत्यधिक सवारी साधन, ट्राफिक जाम, विद्युतीय उपकरणको बढी प्रयोग, अनावश्यक ठूलो स्वरमा गीत सङगीत बजाउने भएका कारण मानिसको सुन्ने शक्तिमा ह्रास आइरहेको छ । त्यसबारे जनचेतना जगाउनै पर्ने भएको छ ।”

उहाँका अनुसार बीस वर्ष अघि विदेशी संस्थाले गरेको सर्वेक्षणमा नेपालका १६ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बहिरोपनको समस्या रहेको देखिएको तर त्यसपछि कुनै अध्ययन भएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसले ६० डेसिबलसम्मको ध्वनि मात्र सुन्न सक्छ तर अहिले सहरी क्षेत्रका मानिसले १०० डेसिबलसम्मको ध्वनिको सामना गरिरहेको प्रा डा पौड्यालले बताउनुभयो ।

सरकारले जनघनत्व बढी भएको स्थानमा सवारी साधनमा हर्न बजाउन पाउने निश्चित मापदण्ड तोक्नुपर्ने, लामो समयसम्म एकैप्रकारको ध्वनि बजिरहने स्थानमा बस्न नलगाउने, ठूलो स्वरमा कानमा एयरफोन लगाउन नदिने जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts