Friday, February 24, 2017

‘जीवित इतिहास’का परिवर्तनकारी कविता

काठमाडौँ, १३ फागुन । एकानब्बे वर्षीय राजनीतिकर्मी, दार्शनिक तथा साहित्यकार हर्ष स्याङ्बोले आज ‘अविरल जनसाहित्य यात्रा–३४’मा आफ्ना क्रान्तिकारी तथा परिवर्तनकारी एक दर्जन कविता सुनाएर पाठकलाई मोहित पार्नुभएको छ ।
विसं २००६ सालमै पुष्पलालबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका स्याङ्बोका कविता क्रान्तिका भट्टीमा पाकेका निस्किएका जस्तै रहेको र ती माक्र्सवादी जगमा उभिएर परिवर्तनका निम्ति रचिएकाले राजनीतिक–सामाजिक परिवर्तनमा सहयोग पु¥याउने खालका छन् । ती कविताले हिंसा, क्रूरता र अन्यायअत्याचारको विरोध गर्दै शान्ति र मानवताको वकालत गरेका छन् ।
दुई हजारको दशकदेखि हालसम्म रचित ती कविता वाचनमा डम्बर पहाडी, श्याम रिमाल, सूर्य बिसी, धनकुमारी सुनार, कमला पराजुली र अनिता लामाले सहयोग गर्नुभएको थियो । ‘ताजमहल’, ‘मुक्ति चाह’, ‘मान्छेको इतिहास’, ‘पथभ्रान्ति’, ‘डोजर नचलाऊ’, ‘धर्म र क्रान्ति’ आदि शीर्षकका कविता वाचन गरिएका थिए । साहित्यकार स्याङ्बोका दुई कवितासङ्ग्रह र एक उपन्यास प्रकाशित छन् ।
सो अवसरमा उहाँका समकालीन लक्ष्मीभक्त उपाध्यायले पार्टीको स्वीकृति लिई पहिलो पल्ट अन्तर्जातीय विवाह (तामाङ र राणा) गर्नेमा स्याङ्बो नै हुनुभएको जानकारी दिनुभयो । साहित्यकार तथा नेकपा(एमाले)की नेत्री शान्ता मानवीले राजनीति गर्नेले साहित्यलाई पनि समाएमा नेतृत्व सही ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रा केशव सुवेदीले कवि स्याङ्बोमा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल र युद्धप्रसाद मिश्रका जस्ता स्वच्छन्दतावाद र क्रान्तिकारी स्वाद पाइने बताउनुभयो । समालोचक यादव भण्डारीले कविले क्रान्तिका सपना पूरा गर्न कवितालाई हतियारका रुपमा प्रयोग गरेको टिप्पणी गर्नुभयो ।
आयोजक मञ्चका अध्यक्ष राम विनय र उपाध्यक्ष रमेश पोखरेल तथा कार्यक्रम संयोजक यशोदा अधिकारीले स्याङ्बो जीवित इतिहास भएको बताउँदै अनुभवी र पुराना स्रष्टासँग युवाहरुले सङ्गत गरी तिनको अनुभवबारे ज्ञान लिनुपर्ने बताउनुभयो । आगीमी जनसाहित्य यात्रामा कवि भारद्वाज मित्रले एकल कविता वाचन गर्नुहुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts