भद्रपुर, १३ चैत । वैदेशिक रोजगार सम्बन्धमा बनेका ऐन, कानुन र बिदेसिने युवाले गर्नुपर्ने कार्यका बारेमा व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वैदेशिक रोजगारसम्बन्धी’ एकदिने अभिमुखीकरण कार्यक्रम आज यहाँ सम्पन्न भयो ।
श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको छ ।
सो अवसरमा मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले बैदेशिक रोजगार बिषयक कार्यपत्र प्रस्तुत गर्दै पहाडी जिल्लामा सबैभन्दा बढी स्याङ्जा तथा तराईका जिल्लामा सबैभन्दा बढी धनुषा र झापाका युवा वैदेशिक रोजगारमा जाने गरेको बताउनुभयो ।
आव २०७२÷७३ सम्ममा विप्रेषण रु छ खर्ब १७ अर्ब स्वदेश भित्रिएको, कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणले २९ प्रतिशत योगदान दिएको, गरिबी ४२ प्रतिशतबाट घटेर २३ प्रतिशत पुगेको जानकारी दिँदै उहाँले वैदेशिक रोजगारमा गएकामध्ये ९९ महिलासहित पाँच हजार ८४ जनाको मृत्यु भएको बताउनुभयो ।
सहसचिव भुर्तेलले नेपालबाट अहिलेसम्ममा ४३ लाख ७८ हजार युवा–युवती वैदेशिक रोजगारीका लागि बिदेसिएको बताउँदै झापामा ९८ हजार ५०० विदेसिएका युवामा छ हजार १२३ जना महिला रहेको जानकारी दिनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले ऊर्जा, पर्यटन र कृषिमा रोजगारीको प्रचुर सम्भावना रहेको बताउँदै नेपालमा मानव संशाधनको पनि उच्च सम्भावना रहेकाले यसको उपयोग र प्रयोग पनि बैज्ञानिक ढङ्गले हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका अधिकृत सन्तोष घिमिरेले वैदेशिक रोजगारीको अवसर, समस्या र चुनौतीका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment