काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका नेता महेश आचार्यले संविधानको रक्षाका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको भूमिका र चुनौतीहरु’ विषयक विचार गोष्ठीमा सबै दललाई मिलाएर निर्वाचनमा लैजानु नै काँग्रेसको मुख्य चुनौती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल, पहाड, मधेस मिलाउने मुख्य जिम्मा नेपाली काँग्रेसको हो ।”
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेता आचार्यले काँग्रेसले स्थानीय तहका लागि ल्याएको घोषणापत्र समयअनुसार सान्दर्भिक रहेको बताउनुभयो । उहाँले काँग्रेसको विचारको राजधानी विराटरनगर भएको भन्दै विराटनगरमा काँग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
काँग्रेस नेता डा मीनेन्द्र रिजालले सिंहदरबारको अधिकार गाँउगाउँसम्म पु¥याउने भएकाले स्थानीय तहको निर्वाचन चाँडो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस नै निर्वाचनको बारेमा आशंका गरे निर्वाचन नचाहने तत्वलाई फाइदा पुग्छ त्यसैले निर्वाचनबारे आशंका नगरौँ ।”
नेता डा रिजालले संविधान सबैको स्वीकार्य बनाउनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको बताउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानीय तहको निर्वाचन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिँदै स्थानीय तह बुझेका व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसले निर्वाचन हारे प्रजातन्त्र नै समाप्त हुने समेत बताउनुभयो ।
सांसद अमृत अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बुझेको व्यक्तिलाई स्थानीय तहको उम्मेद्वार बनाउनुपर्ने बताउनुभयो ।
काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले लामो समयदेखि हुन नसकेको निर्वाचन वैशाख ३१ मा हुन लागेको भन्दै निर्वाचनमा काँग्रेसलाई विजय गराउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
सम्पर्क समितिका सभापति विनोदकुमार भट्टराई, समितिका पूर्व सभापति विमल सङ्ग्रौला, मोरङ समाजका अध्यक्ष कृष्णमुरारी कोइरालालगायतले मुलुकमा निर्वाचन गरेर आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment