काठमाडौँ, १९ जेठ । नागार्जुन र दक्षिणकाली नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भयो ।
नागार्जुन नगरपालिकामा पाँच महिला र दलित वा अल्पसङ्ख्यक गरी तीन नगर कार्यपालिका सदस्यको निर्वाचन आज सम्पन्न भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन सदस्यमा नगरमा निर्वाचित सदस्यमध्येबाट उम्मेदवार हुने र मत दिने व्यवस्था गरिएको छ । सङ्घीय संरचनाअनुसार स्थानीय तहमा यसरी कार्यपालिकाको निर्वाचन भएको यो पहिलो अवसर हो ।
नगरपालिकाको पाँच नगर कार्यपालिकाका सदस्यमा नेकपा (एमाले) का गोमा सुवेदी, चन्दा श्रेष्ठ, बिमला महर्जन, रमा चालिसे र शान्ता तामाङ विजयी हुनुभएको छ ।
यसैगरी दलित वा अल्पसङ्ख्यक सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना नेपाली, एमालेका बाबुकृष्ण नेपाली र विद्या नेपाली विजयी हुनुभएको उहाँले बताउनुभयो ।
नगर कार्यपालिका सदस्यमा निर्वाचित एमालेका सदस्यले २७, राप्रपाका सदस्यले ३० मत पाउनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले २५ मत पाउनुभयो । दक्षिणकाली नगरपालिकामा बिहीबार सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा नेपाली काँग्रेस र एमालेका चार÷चार सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रतिमा पोखरेलले बताउनुभयो । नौ वटा वडा रहेको नगरपालिकामा वडा नं ७ बाट दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले नगरमा ४६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
निर्वाचितमा काँग्रेस र एमालेका २३÷२३ सदस्य रहेकाले कार्यपालिका सदस्यमा दुवै दलले सहमति गरेर चार÷चार पदमा उम्मेदवारी दिएकाले निर्विरोध भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुने पाँच महिलामा काँग्रेसका दुई र एमालेका तीन सदस्य छन् । काँग्रेसका लक्ष्मी भण्डारी र कविता खत्री एवम् एमालेका शारदा आचार्य, निर्मला मगराती र मीना मगर हुनुहुन्छ । त्यसैगरी दलित वा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका दुई र एमालेका एक निर्विरोध भएका छन् । निर्वाचित हुनेमा काँग्रेसका रमा पहरी र गौरी नेपा पोडे एवम् एमालेका राजेश परियार हुनुहुन्छ ।
शङ्खरापुर नगरपालिकामा यसअघि नै एमालेका आठ सदस्य निर्वाचित भइसकेका छन् । यसैगरी शनिबार गोकर्णेश्वर र तारकेश्वर नगरपालिका एवम् जेठ २२ गते कीर्तिपुर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, चन्द्रागिरि र टोखा नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन तोकिएको छ । रासस
No comments:
Post a Comment