काठमाडौँ, ९ असार । गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि रुसी राजदूत आन्द्रेइ डि बुडनिकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा राजदूत बुडनिकले विपद पूर्वतयारी तथा प्रतिकार्यको क्षेत्रमा नेपाल सरकार र रुसी सरकारबीच आपसी सहयोग तथा सूचना आदान प्रदानका लागि रुसले सन् २०१५ मा नेपालसँग समझदारीपत्रका लागि गरेको प्रस्ताव बारे जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा मन्त्री शर्माले केही दिनको गृहकार्य पश्चात समझदारीपत्रमा हस्ताक्षर गर्न सकिने बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले आफू ऊर्जामन्त्री भएको बेला प्रस्ताव गरेको रुस सम्मिलित हाईड्रोपावर प्रोजेक्ट निर्माणबारे चासो राख्नुभएको थियो ।
राजदूत बुडनिकले नेपाली सेनाका लागि आवश्यक एमआई सेभेन्टीन हेलिकप्टर लगायतका सामाग्रीहरूको खरिदका लागि समेत प्रस्ताव राख्नुभयो । मन्त्री शर्माले सम्बन्धित मन्त्रालय तथा बजेटका बारेमा बुझेर अर्को भेटमा सो बारेमा जानकारी गराउने बताउनुभयो । रासस
No comments:
Post a Comment