बेनी (म्याग्दी), २१ जेठ । म्याग्दीबाट वैदेशिक रोजगारीका लागि अमेरिका गएका एकजना युवाले आफ्ना स्व बुबाको स्मृतिमा मासिक रु १० हजार राशिको ‘तत्सम–तद्भव’ छात्रवृत्ति स्थापना गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट घर भई हाल अमेरिकामा रहनुभएका सुरज थापाले स्व बुबा मीनबहादुर थापाको स्मृतिमा ज्यामरुककोट क्षेत्रका दुईजना विपन्न परिवारका विद्यार्थीलाई पाँच वर्षसम्म मासिक रु पाँच÷पाँच हजार वितरण गर्ने गरी छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो ।
ज्यामरुककोट समाज युएसएका संयोजकसमेत रहनुभएका थापाले ज्यामरुककोट समाज नेपालको सिफारिस र संयोजनमा सो छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । छात्रवृत्ति प्राप्त गर्नेमा अर्जुन माविमा कक्षा ११ मा अध्ययनरत छात्र शिव परियार र राधाकृष्ण आधारभूत विद्यालय गौश्वारामा कक्षा ८ मा अध्ययनरत छात्रा समीक्षा सुनार रहनुभएको छ ।
चालु शैक्षिक वर्षका लागि परियार र सुनारलाई अर्जुन माविमा आयोजित एक कार्यक्रममा थापाकी आमा एवम् ज्यामरुककोट समाज नेपालकी आजीवन सदस्य खदेवी थापाले वैशाख महिनाको रु पाँच÷पाँच हजार छात्रवृत्ति प्रदान गर्नुभयो । उनीहरुलाई एक वर्षसम्म मासिक रु पाँच÷पाँच हजार उपलब्ध गराइने ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले बताउनुभयो ।
ज्यामरुककोट क्षेत्रका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न सहयोग पुगोस् र आर्थिक अभावले पढ्नबाट वञ्चित हुन नपरोस् भनेर आगामी पाँच वर्षसम्म निरन्तर रुपमा मासिक रु पाँच हजार छात्रवृत्ति प्रदान गरिने सुरजले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment