Thursday, July 27, 2017

स्थानीय बासिन्दालाई छिट्टै सुविधा दिन सञ्चारमन्त्रीको निर्देशन

चौतारा, १२ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पहिराले क्षतिग्रस्त सिन्धुपाल्चोकको भोटेकोशी नदीको लार्चा पुलको आज निरीक्षण गर्दै सम्बन्धित निकायका प्रमुखलाई तदारुकताका साथ काम गरी स्थानीय बासिन्दालाई सुविधा दिन निर्देशन दिनुभएको छ ।

तातोपानी नाका जोड्ने अरनिको राजमार्गअन्तर्गत फुल्पिङकट्टीको लार्चा पुल बाढीले बगाएपछि आवतजावत गर्न अस्थायी रुपमा फलामे सत्तरी राखेर बनाइँदै गरेको फट्के राखिएको कामप्रति सन्तोष व्यक्त गर्दैै उहाँले जति सक्दो छिटो काम गरी स्थानीयवासीलाई सुविधा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

सो ठाउँमा सडक विभागले बेलिब्रिज बनाउन केही दिनभित्रै सामान झार्ने भएको छ । बेलिब्रिज तयार हुन करिब दुई महिना समय लाग्ने हँदा अस्थायी फट्केको अतिरिक्त तुइनसमेत राख्ने व्यवस्था मिलाइएको कामु प्रजिअ अन्तरबहादुर सिलवालले जानकारी दिनुभयो ।

पुल बगाएसँगै पुलको तल्लो भागबाट लगिएको विद्युत् तारसमेत बगाएको हुँदा पाँच दिनदेखि तातोपानी क्षेत्र पूरै अन्धकार हुनाका साथै सञ्चार सेवासमेत अवरुद्ध भएको सीमा प्रहरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो । बाढी र पहिराले सडक तथा पुल बगाएपछि सडक विभाग र जलउत्पन्न प्रकोप विभागलगायतले सँगै काम गर्दै आएका छन् । अविरल वर्षासँगै झरेको पहिराले बाह्रबिसे–तातोपानी सडकखण्डको २६ किमी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुगेकाले पैदलयात्रा गर्नसमेत कठिनाइ भएको स्थानीयवासीले बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts