Sunday, July 16, 2017

जनप्रतिनिधिलाई मासिक तलब छैनः सचिव थपलिया

काठमाडौँ, १ साउन । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई मासिक तलबको व्यवस्था नगरेको स्पष्ट पारेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा नवजनप्रतिनिधिलाई सरकारका तर्फबाट कुनै तलबको व्यवस्था नगरिएको स्पष्ट पार्नुभएको छ ।

“बाहिर हल्ला आएजस्तो नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षको सरकारले कुनै तलब तोकेको छैन”, उहाँले भन्नुभयो–“तलब दिने सुविधा कहीँ देखिएको छैन । तर जनप्रतिनिधिलाई बैठक भत्ताको भने व्यवस्था गरिएको छ ।”

उहाँले स्थानीय स्रोतमार्फत कानुन बनाएर भने आफ्नो तलब आफैँ तोक्न पाउनुपर्ने बताउनुभयो । सचिव थपलियाले संविधानले स्थानीय तहलाई दिएको अधिकार आजैदेखि प्रत्यायोजित गरेपनि कानुन अभावका कारण सर्वसाधारणले सुविधा नपाउने बताउनुभयो ।

“संविधानमा भएको स्थानीय तहसम्बन्धी व्यवस्थाको अनुसूची–८ मा भएका २२ वटा र अनुसूची–९ मा भएका १५ वटा काम गर्ने अधिकार आजैदेखि प्रत्यायोजित गरिएको छ” उहाँले भन्नुभयो– “तर कानुन बनिनसकेकाले स्थानीय तहका सर्वसाधारणले ती सुविधा पाउने छैनन् ।”

उहाँले शिक्षण संघसंस्था, सहकारी, गैरसरकारी संस्था र १०० वाटको एफएम रेडियो सञ्चालनको अनुमतिपत्रको दर्ता, सहकारी दर्ता, नवीकरणको काम भने स्थानीय तहबाट तीन–चार दिनपछि मात्र गर्न सकिने जानकारी गराउनुभयो ।

उहाँले सबै स्थानीय तहलाई एकरुपता अनुसार काम गर्नका लागि ६४ वटा कानुनी ढाँचा तयार पारिएको बताउनुभयो । “सबै स्थानीय तहमा एकै किसिमको कानुनअनुसार काम गर्नका लागि ६४ ढाँचा तयार पारिएको छ” उहाँले थप्नुभयो– “एकै किसिमको ढाँचाले सबै स्थानीय तहको काममा एउटै किसिमबाट हुन्छ ।”

उहाँले जनप्रतिनिधिले आफैँ गाडी खरिद गर्न नपाउने भन्दै सरकारले गाडी उपलब्ध गराउने बताउनुभयो । सरकारले कर्मचारी समायोजनपछि जिल्लामा भएका गाडी नै जनप्रतिनिधिलाई उपलब्ध गराउने तयारी गरेको छ ।

“निर्वाचित नगरप्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई हामी नै गाडी उपलब्ध गराउने प्रयासमा छाँै”, उहाँले थप्नुभयो– “गाडी नपुग्ने भएमा अर्थ मन्त्रालयबाट पनि बजेट माग गर्छौं ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts