सोलुखुम्बु, १ साउन । दूधकोशी गाउँपालिका, बासा निवासी ५५ वर्षीय पूर्णबहादुर राई भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।
आज दिउँसो सोत्तर लिन जंगल गएको बेला उहाँ भालुको आक्रमणमा पर्नुभएको बासाका सामाजिक परिचालक ललित कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइते राईको अनुहार तथा शरीरमा समेत गहिरो चोट लागेको छ ।
वर्षायाममा सोलुखुम्बुका विभिन्न गाउँमा भालुको आतंक नै हुने गरेको छ । विशेष गरी मकै पाक्ने समयमा घर नजिकै समेत आउने भालुले वर्षेनी मानिसलाई आक्रमण गर्ने गर्दछ ।
भालुले आक्रमण गरेर घाइते भएमा अवस्था हेरी उपचार खर्च र मृत्यु भएमा जिल्ला वन कार्यालयबाट क्षतिपूर्ति दिने व्यवस्था भएकाले त्यस्तो समस्यामा परेमा वन कार्यालयमा सम्पर्क गर्नुपर्ने जिल्ला वन अधिकृत मेघराज राईले बताउनुभयो । रासस
No comments:
Post a Comment