पोखरा, २० साउन । स्व बालकृष्ण उग्रताराको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित एवं पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाद्वारा सञ्चालित ‘बालकृष्ण उग्रतारा’ स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार गंगाधर पराजुली आज सम्मानित हुनुभएको छ ।
पराजुलीलाई एक समारोहका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले रु २० हजार १११ सहित दोसल्ला र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री थापाले पत्रकारिता क्षेत्रमा पोखरामा क्रियाशील रहेर पनि राष्ट्रियस्तरमा समेत राम्रो प्रभाव राख्नसक्ने पराजुलीले पत्रकारिताका माध्यमबाट समाजमा पु¥याउनुभएको योगदान प्रशंसायोग्य भएको चर्चा गर्नुभयो ।
जिल्लाको विभाजन लगभग टुंगो लागेको र अब नेपाल ७७ जिल्ला कायम हुने उहाँले बताउनुभयो ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपालमा संघीय गणतन्त्र संस्थागतरुपमा विकास भइरहेको बताउँदै पोखराको समृद्धि र विकासमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका छ भन्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष अनिता बिन्दुले पत्रकारिता क्षेत्रलाई सम्मानित र मर्यादित बनाउनु पर्ने बताउनुभयो ।
सम्मानित व्यक्तित्व गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा अझै धेरै समस्या कायम रहेको बताउँदै यस क्षेत्रलाई आर्थिक र भौतिकरुपमा सुरक्षित गराउने राज्यको दायित्व भएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलमा क्रियाशील रहेर पनि राष्ट्रियरुपमा राम्रो प्रभाव पार्नसक्ने पराजुली अनुकरणीय व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक सदस्यसमेत रहनुभएका पराजुली नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्षका साथै हाल ‘गोल्डेन न्यूज राष्ट्रिय दैनिक’का प्रधान सम्पादक र ‘सुनौलो एफएम’का कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । रासस
No comments:
Post a Comment