काठमाडौँ, १३ भदौ । गीतकार संघ नेपालले विसं २०७३ को राष्ट्रिय स्रष्टा सम्मान गीतकार राजेन्द्र थापालाई प्रदान गरेको छ ।
संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार’ गीतकारद्वय नृपध्वज खड्का र सुवास संगम राईलाई प्रदान गरिएको छ । उहाँहरुलाई जनही रु २५ हजार ५०० र सम्मानपत्र दिइयो । एक जनालाई प्रदान गरिने रु ५१ हजार राशिको उक्त पुरस्कार छनोट समितिले दुई जनाको नाम छनोट गरेपछि बाँडिएको हो ।
यस्तै ‘प्रवास–डायस्पोरा स्रष्टा पुरस्कार’ गीतकार जानुका राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु ११ हजार र प्रमाणपत्र छ । छनोट समितिमा गीतकार रमेश पौडेल र भावेश भुमरी रहनुभएको थियो ।
संघद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले रु एक लाख १००, सम्मानपत्र र दोसल्लाद्वारा थापालाई सम्मान गर्र्दै अर्काे जुन पेशा अपनाए पनि कोही गीतकार र संगीतकार हुन सक्ने बताउनुभयो । उहाँले अब मुलुकलाई संगीतमय बनाएर अगाडि लैजानुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्ति थापाले शब्द, संगीत र स्वर मिले मात्र गीतमा मिठास आउने बताउनुभयो । थापाले आठ वर्षको उमेरदेखि गीत लेख्दै आउनुभएको छ । संस्थाका अध्यक्ष चूडामणि देवकोटाले नेपालको गीत संगीतको क्षेत्रको विकासका लागि २०६७ सालमा गीतकार संघ स्थापना गरिएको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment