Tuesday, August 15, 2017

काँग्रेसले बाढी पीडितको राहतमा भ्रातृ संस्थालाई प्रभावकारी परिचालन गर्ने

काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुकलाई प्रभावकारी ढंगले परिचालन गर्ने भएको छ ।

बाढी पहिरोपीडितको राहत तथा उद्धारमा पार्टीलाई कसरी सक्रिय ढंगले परिचालन गर्ने भन्नेबारे काँग्रेसले आज ती संस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बोल्ने अधिकांशले बाढी प्रभावित जिल्ला र आवश्यक सामग्री के कति चाहिने हो सोको यकिन विवरण पहिचान गरेर राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने बताए ।

केही प्रतिनिधिले आफ्नो पार्टी नेतृत्वको सरकार भएका बेला देशमा आइपरेको विपत्तिमा थप जिम्मेवारी हुने भन्दै काँग्रेसले प्रभावित जिल्लामा अन्य राजनीतिक दलभन्दा फरक ढंगले उपस्थिति जनाउनुपर्नेमा जोड दिए ।

बैठकमा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले विपद्मा परेका जनतालाई सहयोग गरी भ्रातृ संगठनको पहिचानलाई स्थापित गर्न तथा प्रदेश नं २ को निर्वाचनलाई केन्द्रित गरेर काम अघि बढाउन भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिनुभयो । उहाँले हरेक वर्ष आउने विपद् व्यवस्थापनलाई पार्टीको तर्फबाट स्थायी संयन्त्र बनाई प्रभावकारी परिचालन गर्नेगरी पार्टीका केन्द्रीय सदस्यको नेतृत्वमा समिति बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

महामन्त्री कोइरालाले बाढीपीडितको राहतका लागि पाटीको पहिचान हुने गरी काँग्रेसको कोषमा आर्थिक संकलन गर्न आग्रह पनि गर्नुभयो । नेपाल बैंकमा रहेको ‘काँग्रेस बाढी पहिरोपीडित सहयोग कोष’को खता नं ०१३५११००१००४५ मा रकम जम्मा गर्न भ्रातृ संस्था र शुभेच्छुकलाई काँग्रेसले आग्रह गरेको छ ।

राहतलाई व्यस्थित र पारदर्शी बनाउन कुन जिल्लामा के समस्या छ त्यो पहिचान गरी विपत्तिमा काँग्रेस जनतासँगै हुन्छ भन्ने उदाहरण पेश गर्ने गरी काम गर्न महामन्त्री कोइरालाको आग्रह थियो ।

पार्टी कोषाध्यक्ष सीतादेवी यादवले बाढी र पहिरोको विपद्मा परेका पीडित जनताको राहत तथा उद्धार कार्यमा जनवर्गीय संगठनलाई प्रभावकारी रुपमा परिचालन गर्न पार्टीले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल सांस्कृतिक संघ, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल चिकित्सक संघलगायत अध्यक्ष तथा प्रतिनिधिले विपद्को बेला पार्टीलाई सक्रिय ढंगले परिचालन गरिनुपर्ने र आगामी निर्वाचनलाई लक्षित गरेर पार्टीको भूमिकालाई प्रभावकारी तुल्याइनुपर्ने खाँचो औँल्याए ।

ट्रेड यूनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, तरुण दलका अध्यक्ष जितजङ बस्नेत, महासचिव भुपेन्द्र शाही, नेवि संघका कावा अध्यक्ष सञ्जय यादव, महिला संघका कोषाध्यक्ष जानकी सिंहलगायतले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सक्रियताका साथ खटिने प्रतिबद्धता जनाएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts