Tuesday, September 19, 2017

प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

काठमाडौँ, ३ असोज (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, यहाँस्थित विदेशी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गर्नुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवा आज अपराह्न ५ बजे इत्तिहाद एअरलाइन्सको विमानबाट संयुक्त अरब इमिरेट्स (युएइ) को आबुधाबी हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल आज मंगलबारदेखि शुरु हँुदैछ ।

महासभाका दौरान न्यूयोर्कमा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts