Tuesday, October 31, 2017

‘जेठो नारायण’मा भक्तजनको भीड

हरिबोधनी एकादशीका दिन आज चाँगुनारायण नगरपालिकास्थित चाँगुनारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

जेठो नारायण चाँगुनारायणमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचंगुनारायण र ललितपुरको विशंखुनारायणको दर्शंन गर्छन् । चार नारायणको दर्शन गर्दा पहिला चाँगुनारायणको दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको चाँगुनारायण मेला व्यवस्थापन समितिले जनाएको छ ।

सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको छ । भूकम्पले क्षति पुगेको सो मन्दिर केही दिनअघि मात्रै पुनःनिर्माण भएसँगै मन्दिरमा लगाइएको टेको हटाइएको छ ।

चार वटै नारायणको दर्शन गर्र्न नसक्नेहरु पनि चाँगुनारायण मन्दिरका दर्शनका लागि भने आउने गर्छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजार्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्परानुसार सिँगारेर पूजा गरी माला लगाई तुलसीको विष्णुसँग विवाह गराइन्छ । आजको दिन व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा भएकाले पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलन छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts