Tuesday, October 31, 2017

चुरे तराई मधेश संरक्षण समितिसँग सहमति माग

चुरे क्षेत्रमा पर्ने खोलानालाबाट नदीजन्य वस्तु (ढुंगा, गिट्टी, बालुवा) निकासी गर्नका लागि देशका विभिन्न सातवटा जिल्लाबाट चुरे तराई मधेश संरक्षण विकास समितिसँग सहमति माग गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता) पूर्वी जिल्ला र नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लासहित पाल्पा, रुपन्देही, उदयपुर, अर्घाखाँची, सिन्धुलीलगायतका जिल्लामा चुरे क्षेत्रमा पर्ने खोलाबाट नदीजन्य वस्तु निकासी लागि समितिसँग सहमति माग गरिएको हो ।

ती जिल्लाबाट चालु आव २०७४÷७५ का लागि चुरे क्षेत्रमा पर्ने विभिन्न खोलाबाट नदी जन्यवस्तु निकासी लागि समितिबाट सहमति माग गरिएको समितिका उपसचिव टोपबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ती जिल्ला समन्वय समितिले यस अगावै प्रारम्भिक वातावरणीय परीक्षण गरी पठाएको रिपोर्टलाई आधार मानी आवश्यकताअनुसार चुरे क्षेत्रमा असर नपर्ने गरी नदीजन्य वस्तु निकासी लागि सहमति दिने समितिको तयारी छ ।

आव २०७३÷७४ मा यी जिल्लासहित झापा, चितवन, मकवानपुर, दाङ, बारा, उदयपुरका विभिन्न चुरे क्षेत्रमा पर्ने खोलानालाबाट नदीजन्य वस्तु झिक्न आवश्यकताअनुसार सहमति माग गरिएको थियो । यस वर्ष पनि नवलपरासी, पाल्पा, रुपन्देही, उदयपुर, अर्घाखाँची, सिन्धुलीलगायतका जिल्लामा चुरे क्षेत्रमा पर्ने खोलाबाट नदीजन्य वस्तु निकासी गर्न समयमै सहमति आउन नसक्दा राजस्व संकलन प्रभावित बनेको छ ।

विभिन्न जिल्लामा चालु आव शुरु भएको तीन महिना बितिसक्दा पनि ठेक्का लाग्न सकेको छैन । अघिल्लो आवमा शुरुवातमै ठेक्का लाग्ने गरेको थियो । यद्यपि अहिले समयमै ठेक्का लाग्न नसक्दा विभिन्न खोलानालामा नदीजन्य वस्तु चोरी निकासी हुँदै आएको छ । राजस्व संकलन समेत प्रभावित बनेको छ ।

जिल्लाका खोलानालाबाट खोलाजन्य वस्तु निकासी गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट समयमै सहमति आउन नसक्दा राजस्व संकलन पूर्णरुपमा प्रभावित बनेको छ । तरार्ई मधेश राष्ट्रपति चुरे संरक्षण समितिले स्वीकृति नदिएपछि जिल्लाका खोलानालाबाट ढुंगा, बालुवा निकासीको ठेक्का लाग्न सकेको छैन । जिल्ला समन्वय समितिले यसअगावै तुरिया, भलुही, पानभार, खजुरा, रैपुरवा, बिनयी, झरही, केरुगेलगायतका नौवटा खोलाको वातावरणीय प्रभाव मूल्यांकन गराई निकासी स्वीकृतिका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा पठाइएको थियो ।

अहिलेसम्म स्वीकृति नआएपछि ठेक्का समयमै लाग्न नसकेको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रको जिल्ला समन्वय समितिका प्रमुख शिव शंकरप्रसाद रायले जानकारी दिनुभयो । ती खोला नालाबाट करिब रु पाँच करोडसम्म राजस्व उठ्ने अनुमान छ । खोलाको ठेक्का ढिलो हुँदा चोरी निकासीले अनुमानित खोलाजन्य पदार्थको परिमाण कम हँुदै जाने हुँदापछि त्यही मूल्यमा ठेक्का नलाग्ने पनि चुनौती थपिँदै गएको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले खोलानालाको ठेक्का प्रक्रिया अब स्थानीय तहको जिम्मेवारीमा पर्ने भएकाले सोहीअनुसार कार्यान्वयन गरिने जानकारी दिनुभयो । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ वटा जिल्लामा फैलिएको र कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ ।

सामान्यतया पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदी यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । चुरे क्षेत्र रहेका नेपालका ३६ जिल्लामा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रका संरक्षणमा विविध कार्य गर्दै आइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts