मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत मखानखेती महोत्तरी जिल्लाबाट विस्तारै लोप हुन थालेको छ ।
बदलिँदो समयसँगै जिल्लाका सयाँैै मखान पोखरीमा माछापालन गर्न थालिएपछि महोत्तरीबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् ।
जिल्लामा चाडपर्व, पूजाआजा, विवाह, ब्रतवन्ध जस्ता शुभकार्यका साथै मनुष्य मात्रको श्राद्ध कर्म समेतमा मिथिलामा मखानको प्रयोग हुनेगर्छ ।
मखान व्यवसायीका लागि राम्रो आयआर्जन गर्ने माध्यम मात्र नभै मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि भएको सँस्कृतिविद्हरु बताउँछन् ।
मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसको खेती नभएर जिल्लाको मलाह जातिको रोजगारीसमेत गुम्न थालेको मलाह जातिका रामविवेक सहनीले बताउनुभयो ।
किसानले आम्दानी बढाउन लागि पोखरीमा माछापालन गर्न थालेपछि यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा संकटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताउनुभयो ।
विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ ।
मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन् र घाममा सुकाउँछन् । त्यसपछि आगोमा भुटेर लावा तयार गरी बेच्छन् ।
मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकालगायत दर्जनौ गाउँमा करिब ५०० वटा जति पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछा पाल्न थालिएको छ ।
मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौ किलो मखानको बिक्री हुने गर्दछ । दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व रहेको छ ।
जिल्ला कृषि कार्यालय महोत्तरीमा यसको खेतीबारे कुनै अभिलेख समेत नरहेको कार्यालय प्रमुख सुकेश्वर झाले बताउनुभएको छ ।
No comments:
Post a Comment