Tuesday, October 24, 2017

नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान

भक्तपुर।  नेकपा(एमाले)ले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ ।

प्रेस चौतारी नेपाल भक्तपुरले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गर्नुभएको हो ।
एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गर्नुभयो । एमालेका युवा नेता बस्नेतले एमालेसँग चुनावी तालमेल गर्न नेमकिपासँग एमालेले पटक पटक आग्रह गरेको छ, अहिले पनि हामी तालमेलमा आउन आह्वान गर्छौँ भन्नुभयो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो पहलमा रु पाँच अर्बको विकास बजेट भक्तपुरमा भित्र्याइएको जिकिर गर्दै उहाँले ती रकमले विकासका काम निरन्तर भइरहेको बताउनुभयो । एमाले जिल्ला अध्यक्ष राजथलाले एमालेको आग्रह नेमकिपाका लागि अवसर भएको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष कविता थापा, नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगर, पत्रकार महासंघ भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, प्रेस चौतारी केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज प्रकाश सिलवाललगायतले निर्वाचनमा पत्रकारले कसैको पनि प्रभावमा नपरी सत्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts