Wednesday, November 29, 2017

फैलँदो छुर्पी बजार

रानीटार, पाँचथर।  पूर्वी पहाडी जिल्लामा उत्पादन हुँदै आएको स्थानीय दुग्ध परिकार ‘छुर्पी’को बजार विगतको तुलनामा पछिल्ला दिनमा विस्तार हुँदै गएको छ ।

ताप्लेजुङको फुङलिङ बजार, पाँचथरको फिदिम, इलामको इलाम बजारमा छुर्पी सजाइएको दृश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत माग बढ्दै गएपछि चौँरीगाईको दूधबाट बन्ने यो परिकारको मागसँगै उत्पादन पनि बढेको अनुमान लगाउन सकिन्छ । शेर्पा भाषामा ‘शेर्कम’ तथा भुटानको राष्ट्रिय भाषा जोङ्खामा ‘दुरुकोवा’ वा ‘दुरुखो’हुँदै नेपाली बोलीचालीको भाषामा ‘दुर्खा’ भनिने यस परिकारले स्वदेशमा मात्र होइन पश्चिमा देशमा पनि राम्रो बजार पाउँदै गएको तथ्य छ ।

नेपालमा उत्पादन हुने विभिन्न प्रकारका छुर्पीमध्ये कुकुरको राम्रो आहारा (डग च्यू)का रुपमा पश्चिमा मुलुकमा निर्यात हुने छुर्पीको माग पनि नियमितरुपमा बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनाल भन्नुहुन्छ, “बर्षेनी माग बढ्दै गएकाले नेपालको दुग्ध उत्पादन विदेशी बजारमा राम्रो देखिन्छ ।”

निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा रु ५४ करोड ८० लाख बराबारको छुर्पी निर्यात भएको थियो । सबैभन्दा बढी अमेरिकामा रु ४७ करोड ४६ लाख अर्थात् झण्डै ८७ प्रतिशत निर्यात भएको छ । अघिल्लो वर्ष अर्थात् २०७२÷७३ मा रु ४२ करोड ७० लाख बराबरको छुर्पी निर्यात भएको थियो ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, दोलाखा, संखुवासभाजस्ता जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन हुने छुर्पी अमेरिका, क्यानाडा, मेक्सिको, जापान लगायतका मुलुकमा पनि बिक्री हुँदै आएको छ । यी देशमा विगत आठ वर्षदेखि छुर्पी निर्यात हुँदै आएको हो । शुरुका वर्षको तुलनामा मागसँगै निर्यात पनि वृद्धि भएकाले त्यस्ता उद्योग तथा उत्पादनको प्रवद्र्धनमा लाग्नुपर्ने नायब कार्यकारी निर्देशक खनालको धारणा छ ।

विसं २०६९ देखि निरन्तर रुपमा छुर्पी उत्पादन गर्दै आउनुभएका पाँचथर–८, रानीटारका इन्द्र गुरुङले पनि छुर्पी उत्पादनमा जोड दिँदै आउनुभएको छ । उहाँले पौवाभञ्ज्याङ चीज उत्पादन केन्द्र स्थापना गरेर छुर्पी, नौनी, चीज र पनिर उत्पादन गर्दै आउनुभएको छ । पोखरा, सोलु, काठमाडौँ, विराटनगर, धरान, विर्तामोडजस्ता स्थानीय बजारलाई केन्द्रित गरेर आफ्ना उत्पादन बिक्री गर्दै आउनुभएका गुरुङको लक्ष्य अन्तर्राष्ट्रिय बजारसम्म पुग्नेछ । उहाँबाहेक ताप्लेजुङ र पाँचथरको सिमाना राँके तथा जोरपोखरीको सरकारी डेरीले मात्र यस जिल्लामा चीज तथा छुर्पी उत्पादन गर्दै आएको छ ।

गुरुङको उद्योगले निरन्तर नाफा गरिरहेको छ । इन्द्र गुरुङका अनुसार वर्षात्को समयमा दैनिक एक क्विन्टल उत्पादन हुन्छ र हिउँदमा प्रतिदिन दुई क्विन्टल उत्पादन गर्दै आएका छौँ । उहाँका अनुसार १०० केजी चीज बनाउन एक हजार लिटर दूध आवश्यक पर्छ । अन्य व्यावसाय भन्दा फरक भएकाले प्रतिस्पर्धा छैन र नाफा पनि राम्रो हुँदै आएको छ । त्यसले गर्दा पनि आफूलाई आफ्नो व्यवसायीमा खुशीका साथ काम गर्न पाइएको छ । निजीस्तरमा यस जिल्लामा कुनै पनि उद्योग छैन, त्यसले गर्दा पनि उहाँले निरन्तर नाफा गर्न सफल भएको हुनुभएको हो । रु १५ लाखबाट शुरु गरिएको यस फ्याट्रीमा रु ४५ लाख लगानी गरिएको छ । छुर्पी उत्पादनमा वृद्धि गर्न आवश्यक दुग्ध उत्पादक किसानले ध्यान दिन सके उनीहरुको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । दूधको उत्पादनसँगै गुरुङको उद्योग पनि अन्तर्राष्ट्रियस्तरमा विस्तार हुने थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts