काठमाडौँ। काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ ।
आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।
काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार युवा नेता थापाले २१ हजार ५५८, डा भट्टराईले १८ हजार १४० र विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले तीन हजार ४० मत प्राप्त गर्नुभएको छ ।
बागलुङ–२ मा माओवादी केन्द्र विजयी
बागलुङ- प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय हासिल गर्नुभएको छ ।
वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत ल्याउनुभएको छ ।
नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएका पौडेलले पूर्वसांसदसमेत रहनुभएका पुनलाई पराजित गर्नुभएको हो ।
तीनै स्थानमा वाम गठबन्धन विजयी
दार्चुला- प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।
प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्लामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कुँवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ मत बदर भएका छन् ।
त्यसैगरी प्रदेशसभा (क) मा एमालेका ग्याल्बुसिहं बोहरा १६ हजार ५३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मदन गिरीले १२ हजार ५९८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नयाँ शक्ति पार्टी नेपालका नन्दनसिंह महरले १६६, जनसमाजवादी पार्टी नेपालका मनोज दमाईंले २९८, राष्ट्रिय जनमोर्चा पार्टीका मदन दमाईंले ३३ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ५३ मत बदर भएका छन् ।
यसैगरी प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका मानबहादुर धामी विजयी हुनुभएको छ । धामी १२ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीशबहादुर पालले नौ हजार ५७५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै जनसमाजवादी पार्टी नेपालका हरिभानसिंह ठगुन्नाले ५२७, नयाँ शक्ति पार्टी नेपालका बहादुरसिंह ठगुन्नाले ५८ र स्वतन्त्र रघुवीरसिंह ठगुन्नाले १८७ मत प्राप्त गर्नुभएको छ भने ९९३ मत बदर भएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने अझै बाँकी छ ।
जाजरकोट प्रदेशसभा क मा सिंह विजयी
जाजरकोट- जाजरकोट प्रदेशसभा (क) का वाम गठबन्धनका गणेशप्रसाद सिंह १६ हजार ९११ ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेदराज सिंहले १२ हजार ८७८ ल्याउनुभएको छ ।
जाजरकोट क्षेत्र नं (क) मा ३२ हजार ६०६ मत खसेको थियो जहाँ कुल मतदाता ४५ हजार ४७२ थिए । गणेशप्रसादले नेकपा(माओवादी केन्द्र)का जाजरकोटको इञ्चार्ज पदमा रहेर काम गर्दै आउनुभएको छ ।
जुम्लामा वाम गठबन्धनका महत विजयी
जुम्ला-प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रहेको जुम्लामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का गजेन्द्र महत विजयी हुनुभएको छ ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य महतले २२ हजार १७३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र शाहीले १४ हजार १४९ मत ल्याउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुई हजार ७१८ मत ल्याउनुभएको छ । महत भने २०७० सालको संविधानसभा निर्वाचनमा पराजित हुनुभएको थियो । खसेको कुल मतमध्ये एक हजार ८७ बदर भएको सहायक मतदान अधिकृत इन्द्र खड्काले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ जुम्लामा ४१ हजार ४५६ मत खसेको थियो ।
लपु– ३ मा भुसाल विजयी
ललितपुर। प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी हुनुभएको छ ।
भुसाल २४ हजार ३६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाउनुभएको छ ।
भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी हुनुभएको हो । उहाँ यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी हुनुभएको थियो । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा हुनुभएको पहिलो महिला उम्मेदवार हुनुहुन्छ ।
भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ । तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उहाँ तीन पटक मन्त्री भइसक्नुभएको छ । रासस
No comments:
Post a Comment