Friday, December 1, 2017

लोकतान्त्रिक शक्तिलाई विजयी गराउनुपर्छ : प्रधानमन्त्री देउवा

धनगढी।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने भएकाले लोकतान्त्रिक शक्ति काँग्रेसलाई चुनावमा सघाउन आग्रह गर्नु भएको छ ।

नेपाली काँग्रेसले आज डोटी र अछामका चार ठाउँमा आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रमा मात्र जनता देशका मालिक हुन्छन्, जनतालाई मालिक बनाउने पार्टी नै काँग्रेस हो ।”

जनताको ठूलो त्याग र बलिदानबाट बनेको समावेशी संविधानलाई कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको जिकिर गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनले एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयास गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, “एक दलीय तानाशाही व्यवस्थामा जनताको हक अधिकार नहुने मात्र नभई डर त्रासमुक्त समाज हुन सक्दैन ।” उहाँले सुदूरपश्चिमबाट आफू प्रधानमन्त्री भएमा यस क्षेत्रका बासिन्दाले विकासका लागि आफुसँग झगडा गर्ने हक अधिकार रहेको उल्लेख गर्नुभयो ।

संविधानको सफल कार्यान्वयन, विकास र समृद्धिका लागि पनि काँग्रेसले चुनावमा जित्नु पर्ने उहाँको भनाइ थियो । ७ नं प्रदेशको विकासमा ठूलो महत्व राख्ने पश्चिम सेती परियोजना निर्माणका लागि चीनको एक कम्पनीसँग सम्झौता भइसकेको उल्लेख गर्दै उहाँले खप्तडलाई पर्यटकीय क्षेत्र बनाउन र यस क्षेत्रमा सडक र कृषि क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताउनु भयो ।

प्रधानमन्त्रीले आज डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र साँफेबगरमा भएका छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गर्नु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts