Friday, October 30, 2015

बाह्र ट्यांकर धुन्चे आइपुगे, चालकलाई स्वागत

धुन्चे (रसुवा) १३ कात्तिक । नेपाललाई चीनले सहयोग दिने पेट्रोलियम पदार्थ ढुवानी गर्न आएका ट्यांकर चालकलाई आज साँझ रसुवा नागरिक समाजले धुन्चेमा स्वागत गरेको छ ।

सो समाजका अध्यक्ष बाबुलाल तामाङले देशको बढ्दो इन्धन समस्या समाधान गर्न नेपाल आयल निगममार्फत आएको ट्यांकरका चालक र सहचालकको मनोबल उच्च पार्न रसुवाली नागरिकका तर्फबाट स्वागत गर्नुभयो । उनीहरुलाई खादा लगाई स्वागत गरिएको थियो ।

बाह्र हजार लि क्षमताका १२ ट्यांकर धुन्चेबाट ३० किमी उत्तर सीमावर्ती क्षेत्र रसुवागढीका लागि सदरमुकाम धुन्चेबाट अहिले साँझ नै प्रस्थान गरिसकेको प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिनुभयो ।

नागरिक समाजले गरेको स्वागत र स्थानीय बासिन्दा, सुरक्षाकर्मी पत्रकारलगायत सबैले गरेको सहयोग सम्मानबाट पासाङ ल्हामु मार्गमा पेट्रोलियम पदार्थ निरन्तर रुपमा बोक्ने हौसला बढेको ना४ ख. ४२१७ का ट्यांकर चालक विवेक लामाले बताउनुभयो ।

शनिबार नेपालको उत्तरी नाका रसुवागढीमा एक कार्यक्रमका बीच चीन सरकारले नेपाललाई पेट्रोलियम पदार्थ हस्तान्तरण गर्ने कार्यक्रम तय भएको स्थानीय प्रशासनले जनाएको छ ।

सांसद्बाट स्वागत
रसुवाका सांसदद्वय जनार्दन ढकाल र छोवाङ तेन्जिङ लामाले भारतको अघोषित नाकाबन्दीबाट नेपाललाई अन्याय गरेको अवस्थामा एउटा असल मित्र राष्ट्रलाई चीन सरकारले पेट्रोलियम पदार्थ आपूर्ति गराउनु स्वागतयोग्य भएको र यसबाट छिमेकीलाई हेप्नु हुँदैन भन्ने पुष्टि भएको बताउनुभयो ।

उहाँहरुले भन्नुभयो, “भारतको अन्यायविरुद्ध विकल्प खोज्न नेपाल सरकारलाई हामीहरुले सुझाव दिएका थियौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासबाट नेपाली जनताको हितका लागि इन्धन भित्र्याउन सफल भएकामा हामी खुसी छौँ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts