Saturday, October 31, 2015

कोरला नाका खुलाउन सरकारसँग आग्रह

बाबियाचौर (म्याग्दी), १४ कात्तिक । धौलागिरि अञ्चलका सरोकारवालाहरुले चीनसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङस्थित कोरला नाका खुलाउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार बेनीमा आयोजना गरेको छलफलमा सहभागीहरुले नेपाल र चीनबीच व्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालन गर्न आग्रह गरेका हुन् ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका राजनीतिक दल, व्यवसायी, सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीहरुले कोरला नाका खुलाउन आवश्यक कूटनीतिक पहलका साथै पूर्वाधार तयार गर्न जोड दिएका थिए ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजीवन कष्टकर भइरहेको अवस्थामा आगामी दिनमा यस्तो समस्या उत्पन्न हुन नदिन करिब एक दशकदेखि बन्द रहेको कोरला नाका सञ्चालन गर्न अहिल्यैदेखि पहल गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीदेखि १७६ किलोमिटर टाढा रहेको कोरला नाका सञ्चालन गर्न सकेमा धौलागिरि क्षेत्र व्यापारिक केन्द्र बन्नुका साथै भौतिक, आर्थिक र सामाजिक विकासले फड्को मार्ने श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कूटनीतिक पहलका अतिरिक्त कोरला नाका खुलाई बाह्रै महिना सञ्चालन गर्न सडक स्तर वृद्धि, मोटरेबल पुल, व्यापारिक योजना र सुक्खा बन्दरगाहा निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

बागलुङका प्रजिअ विष्णुप्रसाद पोखरेल, म्याग्दीका सागरमणि पाठक, पर्वतका झङ्कनाथ ढकाल र मुस्ताङका प्रजिअ गणेशप्रसाद अधिकारीले पूर्वाधार निर्माण गरी नाकालाई सहजरुपमा सञ्चालन गर्ने वातावरण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको थियो ।

धौलागिरि अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशी र चण्डिका सशस्त्र प्रहरी गण कुश्माका एसपी कृष्णकुमार थापाले सुरक्षा व्यवस्था सुढृढीकरणका साथै मुस्ताङमा एक चीन नीति विरोधी गतिविधि हुन नदिने प्रत्याभूति दिलाउन राजनीतिक र समुदायबाट पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठ, मुस्ताङका खगेन्द्र तुलाचन र पर्वतका हरिओम शर्माले कोरला नाका सञ्चालन भएमा यस क्षेत्रमा भारतसँगको व्यापार परनिर्भरता हट्ने, यहाँको उत्पादन चीन र चीनको उत्पादन यहाँ ल्याएर व्यापार गर्नुका साथै पर्यटन विकासमा मद्दत पुग्ने बताउनुभयो ।

नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्याय, एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, एनेकपा (माओवादी) म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमिरे र पूर्व यातायात सहायक मन्त्री नरबहादुर हिराचनले कोरला नाका सञ्चालनका लागि कूटनीतिक रुपमा पहल गर्न केन्द्रीयस्तरका नेताहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठको अध्यक्षता र म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्ष जीवनबहादुर विश्वकर्माले समापन गर्नुभएको थियो ।

बागलुङका पत्रकार रामकृष्ण शर्माले कोरला नाकाको वस्तुस्थितिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा नागरिक समाज मुस्ताङका चन्द्रबहादुर थकाली र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष सुरज केसीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts