काठमाडौँ, १२ मङ्सिर । एनेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको विश्लेषण गरी विष्णु भण्डारीले लेख्नुभएको ‘पहेँलो घाम’ नामक उपन्यास बजारमा आएको छ ।
प्रकाशक प्राइम बुक्स प्रालिले आयोजना गरेको सो पुस्तकसम्बन्धी अन्तक्र्रियामा वक्ताले ऐतिहासिक जनयुद्धपछि नेपाली राजनीतिमा ठूलो परिवर्तन आएको र सामन्तवादी शासन ढलेको भए पनि सोचमा अझै परिवर्तन हुन बाँकी रहेको बताउनुभयो ।
सो पुस्तकमा १० वर्ष जनयुद्धका क्रममा माओवादी योद्धाले भोग्नुपरेको यथार्थ तस्बिर उतारिएको छ ।
शिवा नामक महिला छापामारलाई नायिका बनाई तयार गरिएको त्यस उपन्यासमा महिला कमजोर छैनन् र उनीहरुले ऐतिहासिक क्रान्ति पनि हाँक्न सक्छन् भन्ने चर्चा गर्न खोजिएको छ ।
सो युद्धपछि १८ वर्ष उमेरका माओवादी योद्धा रञ्जु तामाङ अयोग्य छापामार घोषित भएकी थिइन् भने उनका श्रीमान् योग्य भएकाले राज्यबाट रु पाँच लाख प्राप्त गरेका थिए ।
राज्यबाट प्राप्त रकम लिई टेम्पो व्यवसाय गरेका तामाङ दम्पतीको व्यवसाय असफल भएपछि श्रीमान् रोजगारीका लागि मलेसिया गएका र त्यहाँ उनको निधन भएको थियो ।
त्यस्तै रामेछापका माओवादी छापामार सुष्माको टाउको र ढाडमा अझै गोलीको छर्रा रहेको छ भने सागर लिम्बू, कृष्णप्रसाद दङ्गाल र राजु पोखरेलको जीवन कष्टकर रहेको छ भने अर्का एक माओवादी योद्धाले विवाह गरेको ४० दिनमा जनयुद्धका क्रममा श्रीमान्लाई गुमाएका कथा उपन्यासमा उल्लेख छ ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरीले नेपालमा उपन्यासको भीडमा राम्रो उपन्यास थोरैमात्र रहेको चर्चा गर्दै माओवादी जनयुद्ध नेपालको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको र यसले राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेको र परिवर्तनको क्रम अझै नरोकिएको बताउनुभयो ।
समालोचक डा रमेश भट्टराईले देशमा अझै जनताले चाहेजस्तो परिवर्तन हुन नसकेको बताउँदै परिवर्तन विरोधी शक्तिका कारण मुलुकको आर्थिक उन्नति हुन नसकेको बताउनुभयो ।
उपन्यासकार भण्डारीले जनताको प्रगतिका लागि लडेको माओवादी लडाकुको जनयुद्धकालीन अनुभवलाई जनतासमक्ष ल्याउन यो उपन्यास तयार पारेको बताउनुभयो ।
कार्यक्रममा माओवादी जनयुद्धमा महिला छापामारको सम्बन्धमा अनुसन्धान गरिरहनुभएकी अनुसन्धानकर्ता कैलाश राईले माओवादी जनयुद्धमा आफ्नो जीवन अपर्ण गरेका महिला योद्धाको बारेमा चार वर्षदेखि अनुसन्धान गर्दै आएको चर्चा गर्दै क्रान्ति हाँकेका नेपाली महिलाको जोश पुरुषको भन्दा कुनै पनि कुरामा कमी नभएको बताउनुभयो । रासस
No comments:
Post a Comment