काठमाडौँ, १२ मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके आज राति नेपालबाट बिदा हुनुहुँदैछ ।
सन् २०११ सेप्टेम्बरमा नेपाल आउनुभएका उहाँको नेपाली प्रशिक्षकको भूमिका गतहप्ताअघि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पपुवा न्युगिनीविरुद्ध खेलेपछि सकिएको थियो ।
हाल क्यानाडेली नागरिक रहेका दासानायके श्रीलङ्काका पूर्वविकेटकिपरसमेत हुनुहुन्थ्यो । उहाँले गत महिना मात्र नेपाली क्रिकेट टोलीको प्रशिक्षकको भूमिकाबाट राजीनामा दिनुभएको थियो ।
नेपालमा करिब चार वर्ष प्रशिक्षकका रूपमा बिताउनुभएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लाग्नुभएको हो । उहाँकै नेतृत्वमा नेपालले डिभिजन–४ बाट उक्लेर डिभिजन–१ सम्मको यात्रा तय गर्न सफल भएको थियो ।
त्यस्तै, उहाँकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको टि–ट्वेन्टी विश्वकपसमेत पहिलोपटक खेलेको थियो । यो नेपाली क्रिकेटमा मात्र नभएर नेपालको समग्र खेलकुद इतिहासमै ठूलो उपलब्धि मानिन्छ ।
नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उहाँ चुक्नुभएको थियो । न्युजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो ।
नेपाली क्रिकेटमा मजाले भिज्नुभएका प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गर्नुभएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरेको बिदाइ कार्यक्रममा प्रशिक्षक दासानायकेले भन्नुभएको थियो – “नेपाली क्रिकेटको भविष्य राम्रो छ, नेपाली खेलाडीमा भएको खेल भावनाले एक दिन नेपाली क्रिकेटलाई उच्च बिन्दुमा अवश्य पु¥याउन सक्नेछ ।”
दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भए पनि विभिन्न कारण देखाउँदै उहाँले त्यसअघि नै विभिन्न कारण देखाउँदै राजीनामा दिनुभएको थियो । नेपाल छोड्नुअघि उहाँले नेपाली क्रिकेटप्रेमीलाई सम्बोधन गर्दै भन्नुभएको छ – “म नेपाली क्रिकेट शुभचिन्तकप्रति कृतज्ञ छु । उहाँहरुले सधैँ नेपाली क्रिकेट टोलीलाई खराब समयमा पनि साथ दिनुभयो, प्रोत्साहित गर्नुभयो ।”
यसैबीच, प्रशिक्षक दासानायकेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटार गएर बिदाइ भेट गर्नुभएको थियो । रासस
No comments:
Post a Comment