Saturday, November 28, 2015

निष्प्रभ सजीको उपन्यास ‘डार्विन हार्बर’ लोकार्पित

काठमाडौँ, १२ मङ्सिर । युवा उपन्यासकार निष्प्रभ सजीको पहिलो उपन्यास ‘डार्विन हार्बर’ को आज लोकार्पण गरियो ।

प्राज्ञ मुकुन्दशरण उपाध्याय, साहित्यकार नयनराज पाण्डे र उपन्यासकार बुद्धिसागर चपाईंलगायतले शिल्पी थिएटरमा आयोजित कार्यक्रममा सो उपन्यासको लोकार्पण गर्नुभयो ।

वास्तविक नाम माधवराज पौडेल भएका उपन्यासकार सजीले आफ्नो उपन्यासमा प्रेमलाई मुख्य विषय बनाउनुभएको छ । प्रवास (अस्ट्रेलिया)मा बसेर पनि साहित्य सिर्जना गर्न सफल सजीले आफ्नो जन्मस्थान कास्कीको हेम्जा, आफू पढेको स्थान नेपालगन्जदेखि लिएर कर्मस्थान अस्ट्रेलियाको सिड्नीसम्मको यात्रा वर्णन उपन्यासमा गर्नुभएको पाइन्छ । उपन्यासमा माओवादी द्वन्द्वको कथालाई समेत समेटिएको छ । सिड्नीको एक ठाउँ डार्विन हार्बरलाई उपन्यासमा भएको प्रेमकथाले केन्द्रबिन्दु बनाएको छ ।

लेखकका ठूलोबुबासमेत रहेका प्राज्ञ उपाध्यायले हेम्जादेखि सिड्नीसम्मको कथावस्तु उपन्यासमा रहेकाले यसले विश्व एउटै गाउँ बनेको परिवेश र सन्दर्भलाई समेट्न खोजेको बताउनुभयो ।

साहित्यकार पाण्डेले सजीको उपन्यास पढेर आफूले नयाँ ऊर्जा महसुस गरेको बताउँदै नयाँ आख्यानकारले भाषामा राम्रो पकड जमाएको भन्दै प्रशंसा गर्नुभयो ।

उपन्यासकार बुद्धिसागरले नयाँ उपन्यासकारको पहिलो उपन्यास भए पनि राम्रा पक्ष धेरै भएकाले पढ्दा नयाँ जस्तो नलागेको बताउँदै उपन्यासमा आनन्द दिने वियोगान्त कथा रहेको टिप्पणी गर्नुभयो । उपन्यासकार सजी गीतकार, गजलकार र कवि पनि भएकाले उपन्यासमा सबै विधाको छनक पाएको अधिकांशले बताएका थिए ।

बुकहिल पब्लिकेसनले बजारमा ल्याएको २३२ पृष्ठ लामो उपन्यासको बजार मूल्य रु ३५० छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts