Friday, November 27, 2015

भू–सूचना उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

काठमाडौँ, ११ मङ्सिर । भूमिको क्षेत्रमा कार्यरत प्राविधिक र प्रशासकद्वारा आयोजित विपद् जोखिम न्यूनीकरणमा ‘भूमिसम्बन्धी पेसाकर्मी र भूमिसम्बन्धी तथ्याङ्कको भूमिका’ विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय गोष्ठी छ बुँदे प्रस्ताव पारित गर्दै आज यहाँ सम्पन्न भएको छ ।

समापन समारोहमा भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले मुलुकको विषम परिस्थितिमा पनि राष्ट्रिय महत्व रहेको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न गरेर यस क्षेत्रका पेसाकर्मीले नेपाली भूकम्पपछिको पुनःनिर्माणका लागि तत्पर छन् भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले सरकार भूकम्पले क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माणमा संवेदनशील रहेको उल्लेख गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष एवम् नापी विभागका उपमहानिर्देशक गणेशप्रसाद भट्टले भूकम्पजस्ता प्राकृतिक प्रकोपको असर जमिनमा पर्ने भएकाले भूमिसम्बन्धी पेसाकर्मीको व्यावसायिक क्षमता अभिवृद्धि, विश्वमा प्रचलित नवीनतम् सिद्धान्त र प्रविधिको उपयोगका लागि गोष्ठी उपयोगी भएको बताउनुभयो ।

कार्यक्रममा पूर्वसचिव बाबुराम आचार्यले भूमिसम्बन्धी पेसाकर्मीको ज्ञान र अनुभव अभिवृद्धिका साथै विपद् जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने पद्धतिका सम्बन्धमा गोष्ठीमा सार्थक छलफल भएको बताउनुभयो ।

गोष्ठीमा नेपाललगायत विभिन्न मुलुकका करिब ३५० जना प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञ, पेसाकर्मी, कर्मचारी, युवा सर्भेयर तथा व्यवसायीले भाग लिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts