हेटौँडा, १२ मङ्सिर । नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलले नेकपा (एमाले) भित्र रहेको गुटउपगुट र मनमुटावलाई अहिले दिगोरुपमा त्यागेर राष्ट्रिय एकता कायम गर्न पार्टीले नयाँ उचाइमा पुग्न जरुरी रहेको बताउनुभएको छ ।
महासचिव पोख्रेलले नेकपा (एमाले) मकवानपुरको दशौँ जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै नेपाली जनताको चाहनाअनुरुप सार्वभौम संसद्ले अहिले नयाँ संविधान घोषणा गर्दा दुवै छिमेकीलाई चित्त दुख्न नपर्ने र सरकारले पनि रिजाउन नपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले अहिले देशमा भोग्नुपरेको कठिनाइलाई अब राष्ट्रलाई दिगो रुपमा आत्मनिर्भर र स्वावलम्बी बनाउनेतर्फ सबै दलहरुसँग राष्ट्रिय एकता कायम गरेर सरकार अघि बढ्नुपर्दछ भन्नुभयो ।
महासचिव पोख्रेलले राष्ट्रको सार्वभौम राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव खल्बलिने गरी कुनै दल वा समूहसँग सरकारले सम्झौता गर्न नहुने उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर सबै नेपालीलाई समेट्ने र चित्तबुझ्दो खालको सम्झौता गर्न सकिने दृढता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपाने, केन्द्रीय सदस्यद्वय केदार न्यौपाने र विरोध खतिवडा, एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारी, सांसदद्वय रामकुमार शाह, अनन्त पौडेल र एमाले जिल्ला मकवानपुरका संयोजक रामचन्द्र राईले विभिन्न दलसँग सहकार्य गरेर सरकारले राष्ट्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने बृहत् योजना कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भोलिसम्म चल्ने जिल्ला अधिवेशनमा एमाले मकवानपुरका ४५० जना प्रतिनिधिको सहभागिता रहेको नेकपा (एमाले) मकवानपुरले जनाएको छ ।
यसैबीच, महासचिव पोख्रेलले एनेकपा (माओवादी) परित्याग गरी आउनुभएका नेता झलकप्रसाद गौतम र बसामाडी गाविसका करिब १०० युवालाई नेकपा (एमाले)को सदस्यता वितरण गर्दै स्वागत गर्नुभयो । रासस
No comments:
Post a Comment