काठमाडौँ, २३ मङ्सिर । नेपाल तेक्वान्दो सङ्घले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई आज सम्मान गरेको छ ।
ताइवानमा गत अप्रिलमा सम्पन्न प्रथम एसियाली पारा तेक्वान्दोका कास्यपदक विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय ह्वीलचेयर एन्ड एम्पुटिज गेम्स ९आइवास० का कास्यपदक विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरिएको हो ।
ती खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सम्मान गर्नुभयो । सम्मानस्वरुप उहाँहरूले सम्मान पत्र, जनही रु १० हजार र तेक्वान्दो पोसाक प्राप्त गर्नुभएको छ । सोही अवसरमा टर्कीमा सेप्टेम्बरमा भएको छैटौं डब्लुटिएफ विश्व पारा तेक्वान्दोमा सहभागी खेलाडी सीता भण्डारी, अनिता थापा र चिन्ताबहादुर कुँवर, टिम प्रशिक्षक कल्याण कुँवर र व्यवस्थापक रवि थापालाई सम्मान गरिएको थियो ।
त्यसैगरी, ताइवानको प्रतियोगितामा सहभागी खेलाडी हीरामणि अधिकारी, प्रशिक्षक यादव कुँवर र व्यवस्थापक कासिम मिया तथा रुसको प्रतियोगितमा सहभागी खेलाडी अनित थापा र चिन्ताबहादुर कुँवर, प्रशिक्षक मीनबहादुर थापा र व्यवस्थापक कासिम मियालाई पनि सम्मान गरिएको थियो ।
सम्मानपछि सदस्य–सचिव विष्टले तेक्वान्दो खेललाई जोगाउन दुई तेक्वान्दो एक हुनुपर्नेमा जोड दिनुभयो । त्यसै अवसरमा सीता, हीरामणि, रञ्जना, अनित र चिन्तालाई कुकिवानबाट प्राप्त पहिलो डानको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । रासस
No comments:
Post a Comment