काठमाडौँ, २६ मङ्सिर । गरिब जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ स्थापना भएका लघुवित्त संस्थाले मर्यादाभित्र बसेर काम गर्न नसक्दा तोकिएको वर्गको आर्थिक उन्नति हुन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
जनताको सेवाका लागि भन्दै घरदैलोमा पुगेको दाबी गर्ने लघुवित्तले सेवा शुल्कको नाममा अत्यधिक ब्याज लिएको, सहरी तथा सुगम क्षेत्रमा मात्रै सेवा दिएको भन्दै उनीहरुले समय छँदै सुधार नगरे प्राप्त भएको विश्वाससमेत गुम्ने धारणा राखे ।
गरिब जनतालाई सुलभ तबरले सेवा दिने लक्ष्य र मर्म लघुवित्तको भए पनि सेवाको नाममा उनीहरुको भावना र चाहनालाई सम्मान नगर्ने, बढीभन्दा बढी मुनाफा कमाउन खोज्ने प्रवृत्ति हावी भएको उनीहरुको भनाइ छ ।
सुगम स्थानमा कार्यालय राखेर दुर्गम स्थानमा सेवा दिन्छु भनेर सोच्ने प्रवृत्ति नै गलत भएको भन्दै कार्यक्रममा सहभागीले जुन उद्देश्यका साथ, जुन क्षेत्रमा सेवा दिने भनेर स्थापना गरिएको हो, सोही स्थानमा सेवा दिन अघुवित्त सञ्चालकलाई आग्रह गरे ।
व्यावसायिक दायित्व मात्रै अगाडि सारेर सामाजिक दायित्वलाई भुल्ने प्रवृत्ति पछिल्लो दिन लघुवित्त क्षेत्रमा देखिएको भन्दै समय छँदै आफ्ना गल्ती तथा कमजोरी सुधार गरेर जान ध्यानाकर्षण गराए ।
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय समितिले आज यहाँ आयोजना गरेको लघुवित्तको स्थायित्व र विकास विषयक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा गरिबी निवारणका लागि अझै धेरै काम गर्न बाँकी रहेकाले लघुवित्तको भूमिका अझै पनि अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले तोकिएको क्षेत्रमा काम गर्न र परिधि तथा सीमालाई सम्मान गर्दै ग्रामीण क्षेत्रमा प्रभावकारी सेवा दिन र रचनात्मक तबरले सेवा दिन आग्रह गर्नुभयो ।
ग्रामीण क्षेत्रमा सेवा दिने भनेर स्थापना गर्ने, सरकारबाट सुविधा पनि लिन खोज्ने तर सहरी क्षेत्रमा मात्रै सेवा दिने अवस्थाले लघुवित्त अगाडि बढ्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो ।
अर्थ मन्त्रालयका सहसचिव शङ्कर खरेलले पछिल्ला दिनमा नेपालको गरिबी २३ प्रतिशतमा घटेको भए पनि गत वैशाख १२ गते गएको भूकम्प तथा भारतले अघोषितरुपमा जारी राखेको नाकाबन्दीका कारण थप नेपाली गरिब हुने अवस्था आएको भन्दै लघुवित्तले सोही क्षेत्र र वर्गलाई आफ्नो कार्यक्षेत्र बनाउनुपर्ने बताउनुभयो ।
लघुवित्त सुरु भएको लामो समय भए पनि सोही प्रक्रियाका कारण कति नेपाली गरिबीको रेखाबाट माथि उठे र कतिले आर्थिक रुपमा सबल भए भन्ने ठोस तथ्याङ्क प्राप्त नभएकाले योगदान कति हो भन्ने विषयलाई आत्मसात् गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका निर्देशक शिवनाथ पाण्डेले सामूहिक लगानीका आधारमा अगाडि बढ्ने लघुवित्त सञ्चालनमा देखापरेको र भोग्नुपरेका समस्या समाधान गर्न केन्द्रीय बैंक तयार रहेको बताउनुभयो । सहर केन्द्रित हुने प्रवृत्ति लघुवित्तमा देखिएको उल्लेख गर्दै उहाँले सामाजिक दायित्वलाई पनि सम्मान गर्नुपर्ने, कमाएको रकमलाई सेवाग्राहीको सेवामा लगाउनुपर्ने, ब्याजदर सुलभ हुनुपर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
मुलुक सङ्घीय संरचनामा गइसकेको अवस्थामा लघुवित्तको भूमिका र कार्यक्षेत्र कहाँ र कस्तो हुने भन्ने विषय छलफलमा नै रहेको भन्दै उहाँले धेरै संस्था एकै स्थानमा जाँदा दोहोरोपन बढेकाले लगानीका क्षेत्रमा अभिवृद्धि गर्न निर्देशन दिनुभयो । नेपालमा हाल ३९ वटा लघुवित्त सञ्चालनमा रहेका छन् । मुलुकका ७५ वटै जिल्लामा सेवा दिँदै आएको लघुवित्तमा ३० लाख पाँच हजार १६४ समूहमा एक करोड ५४ लाख आठ हजार ९८७ सदस्य रहेका छन् । पाँच हजार ७५९ जनाले प्रत्यक्ष रोजगारी पाएको लघुवित्तले रु ५५ अर्ब लगानी गरेको छ ।
लघुवित्तको अन्तर्राष्ट्रिय इतिहासमा बङ्गलादेशलाई सफल उदाहरणका रुपमा लिने गरिन्छ । कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मा, नेपाल माइक्रो फाइनान्स बैंकर्स एसोसिएसनका सभापति धर्मराज पाण्डे, नेपाल टे«ड युनियन काँग्रेसका सभापति खिलानाथ दाहालले गरिबी निवारणमा लघुवित्तले अझै धेरै गर्न बाँकी रहेको भन्दै टे«ड युनियनलाई पनि सँगै लिएर जान आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment