काठमाडौँ, २४ मङ्सिर । वार्ताका लागि सकारात्मक वातावरण बन्दै गएको नेताहरुले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले काँग्रेसले संसद्मा दुई वटा संशोधन प्रस्ताव पेस गरेकाले मधेसी समुदायको भावनालाई समेटेर त्यसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले सीमाङ्कन र जनसङ्ख्याका आधारमा प्रदेश निर्धारण हुने भएकाले वार्ता र छलफलबाटै समस्याको समाधान हुने स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले जनताको चाहना र आकाङ्क्षाअनुकूल संविधान कार्यान्वयन हुने बताउनुभयो । उहाँले राजनीतिक दलबीच राजनीतिक संयन्त्रमार्फत सीमाको निर्धारण गर्ने सहमति भएको विचार व्यक्त गर्दै आन्दोलनभन्दा छलफलका माध्यमबाट समस्याको समाधान हुने स्पष्ट पार्नुभयो ।
एकीकृत नेकपा(माओवादी)का नेता लीलामणि पोखरेलले मधेसी जनतालाई संविधान बुझाउन नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले तराईको समस्या संसदीय समितिमार्फत टुङ्ग्याउन सकिने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले हिमाल, पहाड र तराईका भावनालाई समेटेर संविधान संशोधन गर्नु जरुरी रहेको बताउनुभयो । गिरीले अख्तियारले अहिले चालेको कदम स्वागतयोग्य भएको बताउनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता रामनरेश राय यादवले सरकारले वार्ताको उचित वातावरण नबनाएकाले आफूहरु दिल्ली गएको बताउनुभयो । उहाँले मधेसी जनताका माग पूरा नभए नाकाबन्दी जारी राख्ने स्पष्ट पार्नुभयो । रासस
No comments:
Post a Comment