मेलम्ची, २१ मङ्सिर । इलाका प्रहरी कार्यालय मेलम्चीले सिन्धुपाल्चोक जिल्ला अदालतमा पहिलोपटक जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दा दर्ता गराएको छ ।
थाङपालधाप–५ का गुम्मे सार्कीले आफूलाई गालीगलौजका साथै कुटपिटसमेत गरेको भन्दै सोही स्थान बस्ने कृष्णप्रसाद भट्टराईविरुद्ध यही कात्तिक २० गते उजुरी गरेअनुसार सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दर्ता गराई अनुसन्धान अघि बढाइएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताए ।
छलफलका लागि पटकपटक बोलाउँदासमेत अनुपस्थित रहेका विपक्षी भट्टराई अदालतमा मुद्दा दर्ता गराएको चाल पाएपछि मात्रै प्रहरी कार्यालयमा उपस्थित भएका थिए । जातीय भेदभाव तथा छुवाछूत कसुर ऐन, २०६८ मा कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।
कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढिसकेकाले आफूले न्याय पाएको प्रतिक्रिया सार्कीले दिएका छन् । रासस
No comments:
Post a Comment