काठमाडौँ, १८ मङ्सिर । वनमन्त्री अग्नि सापकोटाले सरकारले भारतसँगको व्यापार तथा विनिमयलाई निरन्तरता दिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो–“कुनै एक देशसँगको अन्तरनिर्भरतालाई न्यूनीकरण गर्न सरकारले चीन तथा बङ्गलादेशसँगको व्यापार सम्बन्ध बढाइरहेको भए पनि भारतसँगको मैत्रीमा कुनै कमी हुन दिनेछैनौँ ।”
मन्त्री सापकोटाले मधेससहित ठूला राजनीतिक दल तथा विज्ञसहितको रायका आधारमा तराईको सीमाङ्कनसम्बन्धी विवाद संविधान संशोधनमार्फत आगामी तीन महिनाभित्र समाधान भएपछि अहिलेको असहज परिस्थितिको अन्त्य हुने बताउनुभयो । तातोपानीको नाका खुलाउन अर्थ, भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको टोलीले भ्रमण गरी नाका खुलाउने तथा सङ्खुवासभाको किमाथाङ्का नाका खोल्न पनि सरकारले योजना गरिरहेको जानकारी दिनुभयो ।
अर्को एक प्रश्नको जवाफमा मन्त्री सापकोटाले सरकारले घटाउन सक्ने जति घटाएर सर्वसाधारणलाई सस्तो मूल्यमा दाउरा उपलब्ध गराउने र भूकम्पपीडितलाई काठ उपलब्ध गराउने वचन पनि दिनुभयो । रासस
No comments:
Post a Comment