बैतडी, १८ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेका बेला बैतडीका महिलाले महिला हिंसा अन्त्यको माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्पmत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सम्पूर्ण राज्य संयन्त्रलाई सचेत गराउँदै राष्ट्रिय कार्ययोजना बनाई घोषणा गर्नुपर्ने अखिल नेपाल महिला सङ्घ बैतडीले प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत बुझाएको ज्ञापनपत्रमा माग गरिएको छ ।
महिलालाई हरेक क्षेत्रमा पछाडि पारिएको र उनीहरुलाई समाजमा अपहेलनाको दृष्टिकोणबाट पनि हेरिनु नै समाजको मुख्य समस्या भएकाले यसको सबै मिली प्रतिवाद गर्न अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिवालय सदस्य माया भट्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
समाजमा व्याप्त कुरीति कुसंस्कारहरु तथा पितृ सत्तात्मक सोचहरुलाई निर्मूल पार्नका लागि लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानले महत्वपूर्ण भूमिका खेल्ने भए पनि यो अभियानलाई सोह्र दिन मात्रै नभई हरेक दिन चलाउनुपर्ने मागसमेत गरिएको छ । रासस
No comments:
Post a Comment