बलेवा (बागलुङ), २१ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसमा जारी आन्दोलन र नाकाबन्दीका कारण नेपालको आर्थिक अवस्था धराशायी बन्दै गइरहेको बताउनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ बागलुङको १६औँ अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले नाकाबन्दी खुलाउनका लागि पहल गर्न नागरिक समाजका अगुवालाई आग्रह गर्नुभयो ।
मधेसकेन्द्रित दलले कुरै नबुझी आन्दोलन गरिरहेको बताउँदै पौडेलले संविधानमा सबै जातजाति, भाषाभाषी, धर्म समुदायका मानिसलाई दिएको अधिकारका बारेमा राम्रोसँग अध्ययन गर्न उनीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले केही छुटेका विषयलाई संशोधनको माध्यमबाट सच्चाउनका लागि सुशील कोइराला नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव पास गर्नुपर्ने बताउनुभयो ।
आर्थिक समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटनमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दै उहाँले लगानी बढाएर आत्मनिर्भर बन्नका लागि राज्यसँगै उद्योगी व्यापारीले सोच्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेशन अन्तर्गत यही मङ्सिर २६ गते निर्वाचन हुने सङ्घले जनाएको छ । रासस
No comments:
Post a Comment