काठमाडौँ, २३ मङ्सिर । राष्ट्रिय जागरण अभियान नेपालले नेपालको पारवहन अधिकारलाई कुण्ठित गरी अत्यावश्यकीय सामग्रीको सहज ओसारपसार माथि भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको जनाउँदै भारत सरकारलाई चाँडोभन्दा चाँडो नाकाबन्दी खुलाउन आग्रह गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक डा उपेन्द्र देवकोटाले भूपरिवेष्टित देशले निर्वाधरुपमा पाउनुपर्ने पारवहन अधिकार सुनिश्चित गर्न सरकारले अन्तर्राष्ट्रिय तहमा दबाब दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – आन्दोलनकारी दलका सम्भव भएका माग छलफल र प्रक्रियाबाट पूरा गर्नुपर्छ । मुलुकको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेपकारी भूमिका निम्तिन दिन हुन्न ।
भारत सरकारको संलग्नतामा विकास भएको तराईको अशान्ति र नाकाबन्दीमा नेपाली समाजलाई विखण्डन गरी जलस्रोत, सुरक्षा, विदेश नीति र तराई नियन्त्रण गर्ने स्वार्थ लुकेको पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका देवकोटाको भनाइ थियो । विभिन्न क्षेत्रमा भएका असमान सन्धि सम्झौता समयानुसार परिमार्जन गर्नुपर्ने
पनि उहाँले बताउनुभयो ।
लामो समयदेखि जारी मधेस आन्दोलनले विद्यार्थीको पठनपाठन तथा अन्य क्षेत्रमा समेत प्रभाव परी अर्थतन्त्रमा प्रतिकूल बन्दै गएकामा अभियानले चिन्ता प्रकट गरेको छ । रासस
No comments:
Post a Comment