काठमाडाँै, २० मङ्सिर । बिनाविभागीय मन्त्री शान्ता मानवीले संसारको अन्य देशको तुलनामा महिलाको सवालमा हाम्रो मुलुक धेरै अगाडि रहेको विचार व्यक्त गर्नुभएको छ ।
कानुनी सहयोग तथा परामर्श केन्द्र र राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको हिंसा न्यूनीकरणका लागि भएका नेपालको कानुनी प्रयास तथा समसामयिक अवस्थाले महिला तथा बालबालिकामा परेका असर विषयक बृहत् अन्तक्र्रियामा उहाँले भन्नुभयो, “कानुनले व्यवस्था गरेको कुरालाई कार्यान्वयन गर्ने तहमा लैजान कार्यान्वयन स्थलबाट नै सङ्घर्षको थालनी गरेमात्र कानुनको कार्यान्वयन हुन्छ ।’’
मन्त्री मानवीले सिद्धान्त र कुरामा मात्र अड्किएर वा अल्मलिएर बस्यौँ भने कानुन व्यवहारमा लागू हुन नसक्ने बताउँदै कानुनलाई कार्यान्वयनतिर लाग्यौँ भने मात्र संसारमा जस्तोसुकै अप्ठ्यारो कानुनलाई पनि सरलीकरण बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागाईंले महिलामाथि हुँदै आएको हिंसा न्यूनीकरणका लागि सरकारी, गैरसरकारी तथा समाजका हरेक क्षेत्रको एकताबद्ध प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो ।
कानुनी सहयोग तथा परामर्श केन्द्रका अध्यक्ष शशि अधिकारीले नेपालमा महिलाले घरेलु, बालविवाह, जबर्जस्ती तथा ढाँटी विवाह, बहुविवाह, दाइजो तिलक, घरबाट निकाल्नेजस्ता थुप्रै हिंसा भोग्नु परिरहेको बताउनुभयो ।
सभासद् कमला सुवेदीले नेपालमा धार्मिक तथा सामाजिक कारणले पनि महिला हिंसा बढाइरहेको बताउनुभयो ।
सांसद रीता शाहीले भइसकेको हिंसालाई न्यूनीकरण गर्नेतिर लाग्नुभन्दा पनि महिला हिंसा हुन नै नदिन राज्य, प्रहरी, सामाजिक संस्था लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य रचना खड्का, वरिष्ठ अधिवक्ता कृष्णा खड्का, अधिवक्ता राधा थापा, अधिवक्ता अजिता अर्याल, अधिवक्ता किरण गुप्ता, पूर्वसभासद् पुष्पा भुसाललगायतका वक्ताले नेपालमा ७० प्रतिशत महिला गरिबी अवस्थामा रहेकाले दिनहुँ महिला हिंसामा वृद्धि भइरहेको चर्चा गर्नुभयो । रासस
No comments:
Post a Comment